राप्रपा संसदीय दलका नेतामा थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ ।
राप्रपा संसदीय दलको आज बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहेका दीपक बोहरालाई चयन गरेको छ ।
संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए ।
बैठकले सरकारले संविधानका विषयमा आफ्नो दललाई हालसम्म आधिकारिक रुपमा कुनै प्रस्ताव नगरेको र कुन विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल नगरेका कारण आधिकारिक प्रस्ताव आएपछि निर्णय गर्ने बताएको छ ।
बैठकले आगामी माघमा हुने पार्टी महाधिवेशन सफल पार्न र सङ्गठन निर्माणलाई गति दिन सबै नेता तथा कार्यकर्ता परिचालन हुने निर्णय समेत गरेको छ ।
एक साताअघि मात्रै राप्रपा र राप्रपा नेपालको एकीकरण भएको थियो ।