खेलकुदबिहिबार, १४ चैत्र , २०७५

प्रशिक्षणमा कमसल सामग्री

गोपाल गडतौला

पर्याप्त बजेट नछुट्याइँदा फेन्सिङ खेलाडीहरूले अन्तर्राष्ट्रिय मापदण्ड विपरीतका कमसल पोशाक र सामग्रीको भरमा अभ्यास गरिरहेका छन्। 

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा प्रशिक्षण लिइरहेका फेन्सिङ खेलाडी ।

मास्क, करेन्ट प्रवाह हुने ज्याकेट, पाइन्ट र जुत्ता लगाएर खेलाडी तम्तयार हुन्छन् । उनीहरूले तरबारको जस्तो बिंड भएको ‘सोड’ हातमा लिन्छन्, जसको टुप्पोको केही भाग बाहेक सबैतिर ‘सुचालक’ तारमा करेन्ट बगिरहेको हुन्छ ।

यति तयारीपछि समान उमेर समूहका प्रतिस्पर्धी दुई खेलाडी एरिनामा आमने–सामने हुँदै विपक्षीको शरीरमा सोड घोच्ने दाउमा हुन्छन् । घोच्ने क्रममा ७५० ग्राम वजन बराबरको दबाब पुग्यो भने मात्र तार जोडिएको बोर्डमा रातो बत्ती बल्छ र खेलाडीले एक नम्बर पाउँछ । तीन मिनेटभित्र जसले पाँच नम्बर प्राप्त गर्छ, उही विजयी बन्छ ।

फेन्सिङ खेल यूरोपमा १९औं शताब्दीको आरम्भमा शुरू भएको हो । युद्धमा जाने तरबारधारी सिपाहीको साहसिक प्रदर्शनलाई खेलको रूपमा विकास गरिएको यो खेल सन् १९०४ देखि ओलम्पिकमा समावेश गरिएपछि विश्वभरि फैलिएको हो । नेपालमा भने फेन्सिङ खेल सन् २००९ मा भित्रिएको हो ।

सोही वर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएको नेपाल फेन्सिङ एशोसिएसनका अनुसार हाल देशभर फेन्सिङका करीब १५० खेलाडी छन् । खेलाडीहरू काठमाडौं, पोखरा र चितवनमा फेन्सिङ खेलको नियमित अभ्यास गरिरहेको छन् ।

छैन बजेट
काठमाडौं उपत्यकामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा फेन्सिङको अभ्यास भइरहेको छ । कोठाभित्र खेलिने फेन्सिङको अभ्यास बढीजसो सेना र सशस्त्रका कभर्ड हलमा भइरहेको छ । तर, खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग गर्न नपाइने कमसल ज्याकेट लगायतका सामग्रीको भरमा अभ्यास गरिरहेका छन् ।

नेपाली सेनाको लगनखेलस्थित कभर्डहलमा तालिम लिइरहेका फेन्सिङ खेलाडीले रु.३ हजारसम्ममा पाइने सस्तो चिनियाँ सोड प्रयोग गर्दै आएका छन् । सेनाका फेन्सिङ प्रशिक्षक जलेन्द्रबहादुर शाहीका अनुसार, सक्कली सोडलाई कम्तीमा रु.७ हजार पर्छ । उनी भन्छन्, “गच्छे अनुसार सामग्री जुटाइएको हो ।”

खेलाडीले अन्तर्राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिंदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ज्याकेट, सोड, मास्क, जुत्ता आदि लगाउन अनिवार्य हुन्छ । मापदण्ड अनुसारका पोशाक लगायतका सामग्री खरीद गर्दा एक सेटको कम्तीमा रु.२ लाख ५० हजार पर्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीसँग ती साम्रगी कम्तीमा दुई सेट अनिवार्य हुनुपर्ने नियम विश्व फेन्सिङ एशोसिएसनले बनाएको छ । तर, राखेपले फेन्सिङको पोशाक र सामग्री खरीद गर्न एक दशकयता कुनै बजेट नदिंदा खेलाडीले निजी खर्चमा कमसल सामग्रीको भरमा तालिम लिनुपरेको नेपाल फेन्सिङ एशोसिएसनका अध्यक्ष सुनिल श्रेष्ठ बताउँछन् । “अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने क्रममा यहाँ अभ्यासमा प्रयोग गरिएका सबै सामग्रीलाई गुणस्तरहीन भनेर रोक्ने गरिन्छ” उनी भन्छन्, “तर राखेप र खेलकुद मन्त्रालयले सामग्री खरीदका लागि बजेट दिन जरूरी ठानेका छैनन् ।”

एशोसिएसनले सहयोग जुटाएर अन्तर्राष्ट्रिय गुणस्तरका आठ सेट सामग्री जुटाएको छ, जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा मात्र खेलाडीलाई दिने गरिन्छ । सेनाका फेन्सिङ प्रशिक्षक शाही नियमित अभ्यास गर्दा लगाउन नपाएको पहिरन र छुन नपाएको उपकरणबाट विदेशी खेलाडीसँग टिक्न गाह्रो हुने बताउँछन् ।

एशोसिएसनका अध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो ६ वर्षमा राखेपले फेन्सिङ एशोसिएसनलाई वार्षिक रु.१ लाख दिने गरेको छ, जुन खेलाडीबीच अन्तरक्रिया गराउनमै खर्च हुन्छ ।

सन् २०१६, २०१७ र २०१८ मा हङकङ, थाइल्याण्ड र इन्डोनेशियामा भएका एशियाली फेन्सिङ प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई आउजाउ खर्च राखेपले प्रदान गरेको थियो । तर तिनै खेलाडीहरू प्रतियोगिताबाट फर्किएपछि नियमित अभ्यासको लागि बजेट माग गर्दा राखेपले वास्ता नगरेको उनको भनाइ छ । बजेट अभावका कारण एशोसिएसनले कार्यालय समेत खोल्न नसक्दा आलोपालो पदाधिकारीहरूका घरमा बैठक बस्ने गरिएको छ ।

आगामी मे मा भारतको फरिदाबादमा सार्कस्तरीय फेन्सिङ प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारीमा लागेको बाङ्लादेशले एक पूर्व ओलम्पियनलाई प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ ।

यसबारे थाहा पाएका एशोसिएसनका अध्यक्ष श्रेष्ठले नेपालमा पनि विश्वस्तरको पदक विजेता कुनै खेलाडीलाई प्रशिक्षक बनाएर ल्याउन खेलकुद मन्त्रालयमा प्रस्ताव लैजान लागेको बताए । “खेलकुदमा गरिने लगानीलाई युवालाई सकारात्मक कार्यमा लाग्न प्रेरित गर्ने प्रयासको रूपमा बुझ्नुपर्छ” उनी भन्छन्, “हामी सरकारी सहयोगको आशामा छौं ।”

प्रतिकृया दिनुहोस