हेमन्तप्रकाशको रिहाइको माग गर्दै सर्वोच्चमा रिट
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ र लोकेन्द्र खड्कालाई गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको छ ।
वलीकी छोरी विपना वलीले १३ चैतमा बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालतलगायतलाई विपक्षी बनाइएको छ ।
रिटमा निवेदकका बुबा हेमन्तप्रकाश वली र उनीसँगै गएका लोकेन्द्र खड्कासमेतलाई काभ्रेपलाञ्चोक जिल्लामा भएको पार्टीको कार्यक्रम, छलफल, भेटघाट गरी काठमाडौं फर्कंदै गरेको अवस्थामा यही ९ चैतमा बिहान ४ बजे २५ जनाजतिको समूहमा रहेका सादा पोशाकका प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै बिनाकारण, बिनापुर्जी बाटोबाटै अपमानजनक ढंगले पक्राउ गरी लगिएको उल्लेख छ ।
पक्राउ गर्दा आँखामा कालो पट्टी बाँधी मानसिक एवं शारीरिक यातना दिइएको उल्लेख गर्दै सुरुमा निवेदकलाई आफन्त र परिवारलाई भेटघाट गर्नसम्म नदिई बेपत्ता बनाएको उल्लेख गर्दै हाल पनि मानसिक यातना दिइएको उल्लेख छ ।
रिटमा ‘बिना आधार र कारण म्याद थप गरी थुनामा राखिएको’ भनिएको छ ।
यसअघि नेता वलीसहित ९ जनालाई प्रहरीले आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले सबैलाई हिरासतमै राखी अनुसन्धान गर्न थप ८ दिनका लागि म्याद थप गरेको थियो ।
वलीसहित ९ जनाविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको थियो ।
मुद्दा लगाइएकाहरुमा गिरफ्तार केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्यूरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्का छन ।