रिपोर्टबिहिबार, १४ चैत्र , २०७५

बढ्यो अपराध : ‘टार्गेट’ आफन्त, कारण निराशा

रामेश्वर बोहरा

अपराध करीब २५ प्रतिशतले बढेको प्रहरीको आँकडा जति चिन्ताजनक छ, जघन्य अपराधमा संलग्नहरूको ठूलो हिस्सा आफन्त र नातागोता हुनु त्योभन्दा पनि कहालीलाग्दो छ।  

'तरकारीको निहुँमा श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ ।’ 

१९ फागुनमा बाग्लुङबाट प्रेषित राष्ट्रिय समाचार समिति (रासस) को समाचार हो, यो। 

समाचारमा उल्लेख भए अनुसार तरकारी ढिलो पकाएको निहुँमा श्रीमती बालकुमारीलाई गोली हानेर घाइते बनाउने बाग्लुङको बडिगाड गाउँपालिका–१०, दर्लिङका ३५ वर्षीय चन्द्रबहादुर घर्ती पक्राउ परेका थिए । यो घटनाले समाजमा आपराधिक मनोवृत्ति कुन हदसम्म मौलाएको छ भन्ने देखाउँछ ।

तरकारी पकाउन ढिलो गरेकै रिसमा श्रीमतीलाई गोली हान्ने हदसम्मको आपराधिक मनोवृत्ति मानिसमा के कुराले बढाउँदैछ ? अझ गम्भीर कुरा, जोकोहीको हातमा बन्दूक कसरी पुग्दैछ ? यो समाजशास्त्री र अपराधशास्त्रीको अध्ययनको विषय हुन सक्ला । तर, यही एउटा घटना बढ्दो अपराधको ग्राफलाई बुझउन काफी छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले तयार पारेको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा अपराध वृद्धिदर २५ प्रतिशत पुगेको छ । जबकि २०७३/७४ मा वार्षिक अपराध वृद्धि १०.१५ प्रतिशत मात्र थियो । अझ डरलाग्दो के भने जघन्य अपराधका घटनामा समेत कमी आएको छैन । (हे., इन्फो) 

आफन्त नै अपराधी
आर्थिक वर्ष २०७५/७६ नसकिएकाले प्रहरी प्रधान कार्यालयले यो वर्ष अपराध वृद्धिदर के कति छ भन्ने निक्र्योल गर्न बाँकी छ । तर, गएको साउनदेखि माघ महीनासम्म भएका अपराधका घटनाको अध्ययनले अर्को डरलाग्दो तथ्य उजागर गरेको छ । त्यो हो– जघन्य अपराध मानिने हत्याका घटनामा आफन्तकै संलग्नता । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी भन्छन्, “साउनदेखि माघ महीनासम्म भएका हत्याका घटना केलाउँदा ४० प्रतिशत हत्या आफन्तबाटै हुने गरेको भेटियो ।”

यो आँकडाभित्रको गम्भीर पक्ष हो, गएको वर्ष हत्याका घटनामा आफन्तको संलग्नता करीब ३० प्रतिशत थियो भने त्यसअघिका दुई वर्षमा क्रमशः २५ र २० प्रतिशत हाराहारी । अर्थात्, पछिल्लो चार वर्षमै हत्या जस्तो जघन्य अपराधमा आफन्तको संलग्नताको दर दोब्बर भएको छ । प्रहरी अधिकृतहरू यो तथ्यलाई सामाजिक विकृतिबाट सृजित अपराध बढिरहेको मान्छन् ।

पछिल्लो समय प्रहरीलाई समेत नराम्ररी हल्लाएको अपराध हो– बलात्कार । प्रहरी प्रधान कार्यालयका अनुसार २०७४/७५ मा बलात्कारका एक हजार ४८० घटना भए, जुन यो संख्या अघिल्लो वर्ष एक हजार १३७ थियो । एक वर्षमै बलात्कारका घटना ३० प्रतिशतले बढ्नु र २०७४/७५ मा भएका बलात्कार घटनाका पीडितमध्ये ६४ प्रतिशत १८ वर्षभन्दा मुनिका हुनु जति चिन्ताजनक छ, त्यो भन्दा झ्स्काउने खालको छ– अधिकांश बलात्कार आफन्त, नातागोता र नजिकका व्यक्तिबाट भएको तथ्य ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले बलात्कारका घटनाबारे हालसालै गरेको एक अध्ययनले बलात्कारमा संलग्न व्यक्तिमध्ये ८७ प्रतिशत संख्या पीडितकै परिवारको सदस्य, आफन्त वा चिनेजानेका व्यक्ति भएको देखाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीका अनुसार यो अध्ययनका लागि प्रश्नावली बनाएर देशभरका सबै जिल्ला समेटिने गरी सर्वेक्षण गरिएको थियो । “पीडित र पीडक दुवैलाई चिनेका व्यक्तिहरूमाझ् यो सर्वेक्षण गरेका थियौं” एआईजी कार्की भन्छन्, “अधिकांश बलात्कारका घटना आफन्त, नातागोता र नजिकका परिचितबाट हुने गरेको यो अध्ययनको निचोड हो ।”

आपराधिक मनोवृत्तिका व्यक्तिका लागि आफन्त, नातागोता र परिचित व्यक्तिहरू सहज ‘टार्गेट’ हुन्छन् । अपराधशास्त्री प्रा.डा.रजितभक्त प्रधानांग परिचित व्यक्तिहरूको पहुँच पनि सहज हुने भएकाले उनीहरूका लागि अपराधकर्म सजिलो बन्ने बताउँछन् । “परिचित व्यक्तिले सबै कुरा बुझ्रिाखेको हुन्छ” उनी भन्छन्, “चोरी र ठगी गर्ने मान्छे नजिककै हुन्छ, यौनशोषण र बलात्कारदेखि अरू कैयौं गम्भीर अपराध पनि आफन्तको बीचमै हुन्छन् ।”

उनको भनाइमा, राज्य–संयन्त्रदेखि समाजमा समेत अपराध बढाउने वातावरण हुनु प्रमुख चुनौती हो । अपराधशास्त्री प्रधानांग भन्छन्, “राज्यले आजको चुनौती अनुसार अपराध नियन्त्रण गर्ने संयन्त्र विकास गर्न सकेको छैन, समाजले पनि यसमा ध्यान दिएको देखिन्न ।” 

अपराध बढाउने ‘फ्रस्ट्रेसन’
अपराध नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी नभएकै हो त ? प्रहरी प्रवक्ता, एसएसपी उत्तमराज सुवेदी ९७ प्रतिशत अपराधका घटनामा दोषीको पहिचान भएको वा दोषीलाई कानूनी दायरामा ल्याइएको दाबी गर्छन् । अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा यो आँकडालाई नेपाल प्रहरीको सफलता मान्नुपर्छ ।

हुन पनि निकै चर्चामा आएको निर्मला पन्त बलात्कार–हत्या प्रकरण जस्ता केही सीमित घटनामा दोषीको पहिचान गर्न नसक्दा प्रहरीको तीव्र आलोचना भए पनि अधिकांश अपराधका घटनामा प्रहरीले सफल अनुसन्धान गरेको छ । दोषीहरू कानूनी कठघरामा आएका छन् । र पनि आपराधिक मनोवृत्तिका मानिसको मनोबल बढिरहेकै देखिन्छ । पछिल्लो समय अचाक्ली बढेका बालबालिका लक्षित जघन्य अपराधका घटना त्यसका दृष्टान्त हुन् । यस्तो किन त ?

जानकारहरू जनसंख्या वृद्धि र शहरीकरणसँगै अर्थतन्त्र र जीवनशैलीमा आएको बदलावले अपराध बढाएको तथा प्रविधिमा भएको विकासले त्यसमा थप मलजल गरेको बताउँछन् । वैदेशिक रोजगार र त्योसँग जोडिएर हुने ठगी, ब्याङ्किङ कसूर, मानव तस्करी तथा विवाहेत्तर सम्बन्ध सृजित कैयौं अपराध गरीबी र शहरीकरणसँगै जोडिन्छन् । प्रविधिको विकास र प्रयोगले साइबर अपराध चुलिएका छन् ।

कतिपयका भनाइमा, डकैती, खुन डाँका, सशस्त्र समूहबाट हुने अपहरण लगायतका घटना ह्वात्तै घटे पनि समाजमा हुने अन्य अपराध बढेकाले समग्रमा अपराध बढेको देखिएको हो । साथै, कानूनमा भएको सुधारले हिजो अपराध नमानिने र समाजमा उजुरी गर्न पनि आवश्यक नठानिने कसूरहरूबारे सचेतना बढेसँगै रिपोर्टिङ र उजुरी हुनथालेकाले पनि अपराधको आँकडा बढेको उनीहरूको तर्क छ ।

अपराधको ग्राफ उकालो लाग्नुसँग प्रत्यक्ष सम्बन्धित कारण यिनै हुन सक्छन् । यसबाहेक राजनीतिक तहबाटै दण्डहीनतालाई प्रोत्साहन गर्ने गरी भइरहेका क्रियाकलापले समाजमा कानूनी व्यवस्थाप्रतिको भरोसा डगमगाउनु, राजनीतिक हस्तक्षेपबाट मनोबल खस्केको प्रहरी–प्रशासनप्रतिको डर हराउँदै जानु र दशक लामो द्वन्द्वले अपराधीकरणतर्फ डोर्‍याएको समाजमा त्यसका बाछिटा कायमै रहनु पनि अपराध वृद्धिको अप्रत्यक्ष कारण भएको अर्काथरीको तर्क छ ।

“अपराध बढ्नुमा यी सबै कारणको भूमिका होला, तर पछिल्लो समय नेपालीहरूमा देखिएको आपराधिक प्रवृत्ति अचम्मको छ” अपराध अनुसन्धानमा दक्खल राख्ने पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, “व्यक्तिभित्रको फ्रस्ट्रेशन पनि अपराधमा प्रकट हुने गरेको छ, मानिस किन यसरी फ्रस्ट्रेड भए भन्ने कुरा यसमा अर्थपूर्ण छ ।”

केही समयअघि पश्चिम तराईका गाउँ घुमेर आएका ठकुरीले त्यहाँ आफूले देखेको यथार्थ यसरी सुनाए, “पढेलेखेका नभए पनि गाउँका मानिस धेरै जान्ने–बुझ्ने भइसकेका छन् । धेरै मानिस सरकारसँग खुशी छैनन् । कृषि उत्पादनले बजार पाएन, आय आर्जनको अरू अवसर भएन भन्छन् ।

असन्तुष्टि र निराशा गाउँसम्म विस्तार भएको छ ।” यसखाले फ्रस्ट्रेशनले पनि अपराध बढाइरहेको छ ? “हो, यसले पनि अपराध बढाउन भूमिका खेल्छ”, अपराधशास्त्री प्रा.डा.रजितभक्त प्रधानांग भन्छन्, “फ्रस्ट्रेशनले मादक पदार्थको लत बसाउँछ, धेरैजसो बलात्कार र हत्यामा मादक पदार्थ सेवनकै मुख्य भूमिका देखिन्छ । यो आत्महत्यामा पनि जोडिन्छ ।”

प्रतिकृया दिनुहोस