अर्थ/बजारमंगलबार, १२ चैत्र , २०७५

अराजक बनाइँदै शेयर बजार, बोर्डका कर्मचारीद्वारा सुरक्षा माग

विनय बञ्जारा

नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आफ्ना कर्मचारीको जीउधनको सुरक्षा माग गर्दै ११ चैतमा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा बोर्डको क्षेत्राधिकार बाहिर रहेका निकायसँग सम्बन्धित र राजनीतिक मागहरु समेत पुरा गराउने नाममा कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

भद्रकालीस्थित नेप्सेको कार्यालयमा धर्नामा बसेका शेयर लगानीकर्ता दबाब समूहका प्रतिनिधिलाई नियन्त्रणमा लिंदै प्रहरी । तस्वीरः रासस

यूनियन अध्यक्ष राजुबहादुर जिसीले जारी गरेको वक्तव्यमा भनिएको छ– ‘बोर्डको सम्पत्ति तथा कर्मचारीको जीउधनको सुरक्षाप्रति गम्भीर हुन बोर्ड व्यवस्थापन तथा नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

१० चैतमा आफूहरुलाई ‘दबाब समूह’ बताउने केही व्यक्तिले बोर्डमा तालाबन्दी गरेर पदाधिकारी र कर्मचारीलाई ‘गम्भीर लाञ्छना’ र जीउधनमाथि धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त समूहले लगाएको ताला प्रहरीको सहायतामा खोलिएको थियो । ताला खोल्न प्रहरीले बल प्रयोग गरेको र शेयर बजारको सुधारप्रति सरकारले बेवास्ता गरेको भन्दै त्यही समूहले १२ चैतमा नेपाल स्टक एक्सचेञ्जमा धर्ना दिने प्रयास गर्‍यो । नाराबाजीमा उत्रेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले दुई महिलासहित १३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

अराजक गिरोह
गत मंसीर अन्तिम सातादेखि लगानीकर्ता समूहको नाममा नेप्से र धितोपत्र बोर्डमा अनशन बस्ने, विरोध ¥याली निकाल्नेजस्ता काम भइरहेका छन् ।

त्यसअघि पनि शेयर बजारमा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको शंकामा अनुसन्धान गर्न समिति गठन गरिएपछि यस्ता समूहहरु आन्दोलनमा उत्रिएका थिए ।

यसअघिको आन्दोलनमा शेयर विश्लेषकमाथि हातपात समेत भएको थियो । आन्दोलनकारीहरुले अर्थमन्त्रीको राजीनामा मागिरहेको र शेयर बजार बढाउन सरकारमाथि दबाब सृजना गर्न खोजेको प्रहरीले बताएको छ ।

पछिल्लो समय शेयर बजारलाई पारदर्शी बनाउन लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डले प्रयास गरिरहेको छ ।

बोर्डले आगामी १ वैशाखदेखि ५ लाखभन्दा माथिको शेयर कारोबारमा प्यान आवश्यक हुने जनाएको छ ।

त्यसो त, वाणिज्य ब्याङ्कहरुलाई समेत सहायक कम्पनीमार्फत् शेयर ब्रोकर कारोबार गर्ने लाइसेन्स दिन लागेपछि शेयर दलालहरुले समेत बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई ‘अयोग्य’ भएको आरोप लगाउँदै आएका थिए ।

अध्यक्ष कार्कीले भने ब्याङ्कहरुलाई ब्रोकर लाइसेन्स दिंदा उनीहरुको देशव्यापी सञ्जालले मुलुकभरका नागरिकको पहुँचमा शेयर बजारलाई पु¥याउन सकिने बताउँदै आएका छन् ।

त्यस्तै लगानीकर्तालाई प्यान अनिवार्य गर्दा शेयर बजारको कारोबारमा पारदर्शिता आउने र बजार व्यवस्थित हुने उनले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

यस्तो प्रावधानले कालो धनलाई वैध बनाउने माध्यमको रुपमा शेयर बजार प्रयोग हुने बाटो बन्द हुने बोर्डका अधिकारीहरु बताउँछन् ।

आन्तरिक राजश्व विभागका अधिकारीहरु पनि नगद कारोबार हुने भएकाले शेयर बजारका लगानीकर्तालाई प्यानमा दर्ता हुनै पर्ने व्यवस्था गर्न लागिएको बताउँछन् । तर, आन्दोलनरत लगानीकर्ताहरुले यस्तो व्यवस्था नगर्न अप्रत्यक्ष दबाब दिइरहेका छन् ।

प्यानको कारणले बजारमा लगानी आकर्षण घटेको भन्ने आशंकामा रहेका त्यस्ता लगानीकर्ताले शेयर बजार बढाउन सरकारले नीतिगत कदम चाल्नुपर्ने माग गर्दै आएका छन् ।

अर्थमन्त्रालयका अधिकारीहरुले भने कम्पनीको नाफा र शाख का आधारमा निर्धारण हुने शेयर बजारलाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताउँदै आएका छन् ।

लगानीकर्ता संघका पूर्व पदाधिकारीहरुले समेत पछिल्लो समय शेयर बजार बढाउने नाममा केही व्यक्तिको क्रियाकलाप असान्दर्भिक रहेको बताउँदै आएका छन् ।

“संसारको कुनै पनि शेयर बजार आन्दोलनले बढ्ने होइन, घट्छ,” एक लगानीकर्ता भन्छन्, “तर नेपालमा हातपात गर्नसमेत पछि नपर्ने प्रवृत्ती देखिएको छ, जुन गलत हो ।”

सरकारले पारदर्शी बजार र प्रभावकारी नियमन तथा पहुँचको विस्तार गर्न चालेका नीतिगत कदमको आलोचना गर्नु उचित नभएको उनले बताए । “आन्दोलनरत लगानीकर्ताको विरुद्ध बोल्ने हो भने आफैंमाथि सुरक्षा जोखिम देखिन थालेको छ,” उनले थपे, “यो हाम्रो लागि अत्यन्तै दुःखद कुरा हो ।”

ठगीको धन्दा
नेप्सेका एक वरिष्ठ अधिकारीका अनुसार केही सातायता बजार उचाल्न तिनै व्यक्तिले लगानी बढाएका थिए, जो अहिले आन्दोलनको पक्षमा उभिएका छन् ।

अधिकांश ब्रोकरहरु समेत शेयर बजार बढ्ने वकालत गर्दै आएको र केही सातायता आफन्तको नाममा शेयर किन्ने रफ्तार बढाएको नेप्सेका अधिकारीहरु बताउँछन् ।

शेयर तालीम, पुस्तक बिक्री, लगानी–परामर्श वा यस्तै कुनै वहानामा आम लगानीकर्तासँग पैसा अशुल्ने व्यक्तिहरुले समेत अहिले सरकारको विरोध गरिरहेको अर्थमन्त्रालयका ती अधिकारीले बताए ।

“शेयर बजारलाई केही समूहले वैधानिक ठगीको माध्यम बनाइरहेका छन्,” उनले भने, “आर्थिक पारदर्शिता नभएका, भ्रामक सूचनामार्फत् बजारमा प्रभाव पार्ने र आम मानिसको सम्पत्ति आफूमा केन्द्रिकृत गर्न लालायित एउटा वर्गले अहिले विरोध गरिरहेको छ ।”

 

 

 

प्रतिकृया दिनुहोस