सगरमाथा आरोहीका शव सतहमा
सगरमाथाका हिउँ र हिमनदीहरू पग्लिन थालेसँगै वर्षौंदेखि नदेखिएका आरोहीका शवहरू देखिन थालेका छन् ।
विज्ञहरुले जलवायु परिवर्तनकै कारण यस्तो भइरहेको दाबी गरेका छन् ।
सन् १९२२ देखि अहिलेसम्म झण्डै ८,४०० आरोहीले सगरमाथाको आरोहणको प्रयास गरेका छन्, जसमध्ये ४ हजार ८०० आरोहीले चुचुरो चुमेका छन् । झण्डै तीन सय आरोहीले ज्यान गुमाएका छन् ।
बीबीसीका अनुसार, त्यसमध्ये करीब दुई तिहाइ अझै त्यहीँ बरफ र हिउँमा पुरिएको ठानिएको छ ।
सगरमाथा आरोहण हुने वसन्तयाम शुरु भइरहेकाले उत्तरी चिनियाँ मोहडातर्फ रहेका त्यस्ता शवहरू हटाउन थालिएको छ । तर, दक्षिणी मोहोडा नेपालतर्फ भने शवहरू हिउँ पग्लिएसँगै देखिन थालेका छन्।
“बढ्दो विश्वव्यापी तापमानका कारण हिउँका सतह र हिमनदी छिटो–छिटो पग्लिरहेका छन् र थुप्रै वर्षदेखि त्यहाँ पुरिएका शवहरू पछिल्लो समय सतहमा देखिन थालेका छन्,” नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने ।
“पछिल्ला वर्षमा ज्यान गुमाएका केही आरोहीका शव हामीले तल झारे पनि पुराना शव भने बल्ल बाहिर देखिन थालेका छन्”, शेर्पाको भनाइ छ।
आरोहीहरुका अनुसार, खुम्बु आइसफलमा धेरै शवहरू छन्। क्याम्प फोर अर्थात् साउथ कोलमा पनि शव देखिन्छन्।
खर्चिलो काम
माथिल्ला शिविरमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुने गर्छ । विज्ञहरूका भनाइमा यसको खर्च ३० हजारदेखि ७० हजार अमेरिकी डलरसम्म लाग्छ ।
“सबैभन्दा चुनौतीपूर्ण शव निकाल्ने काम ८ हजार ७०० मिटर अर्थात् चुचुरो नजिकैबाट भएको थियो”, एनएमएका पूर्वअध्यक्ष शेर्पाले भने । उनका अनुसार त्यो शव जमेर १५० किलो पुगेको थियो ।
विज्ञका भनाइमा हिमालको उक्त शवलाई के गर्ने भन्ने विषय समेत निकै व्यक्तिगत हो ।
“धेरै पर्वतारोहीहरू यदि मरे भने हिमालमै छाडियोस् भन्ने ठान्छन्,” पर्वतारोहणबारे लेखिरहने चर्चित आरोही एलन अर्नेट भन्छन्,“त्यसैले मृतकका परिवारले नचाहेसम्म वा हटाउनै आवश्यक नपरेसम्म त्यसो गर्नु उनीहरूप्रति निकै असम्मान दर्शाउनु हुनेछ ।” –बीबीसी र अन्य एजेन्सीको सहयोगमा