वलीसहित नौ जनालाई ८ दिनको म्याद थप
ललितपुर जिल्ला अदालतले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित ९ जनामाथि अनुसन्धानका लागि प्रहरीलाई ८ दिनको म्याद थपको अनुमति दिएको छ ।
शनिबार बिहान काभ्रेबाट पक्राउ परेका वलीसहित ९ जनालाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।
जिल्ला न्यायाधीश चुडामणि खड्काको इजलासले पक्राउ परेका सबैलाई ८ दिनका लागि म्याद थप गरेको हो ।
वलीका तर्फबाट अधिवक्ता एकराज भण्डारीसहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् ।
वलीसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ । वली पार्टीका केन्द्रीय स्कुलिङ विभागका प्रमुख समेत हुन् ।
वलीसँगै पक्राउ पर्नेमा नेकपामा केन्द्रीय सदस्य विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक र लोकेन्द्र खड्का छन् ।
वलीले अदालत परिसरमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्न पाएनन् ।