मधेश फकाउँदैः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशका समस्याको सम्बोधन र यहाँको भावनाको सम्मान नगर्ने दल समाप्त हुने बताएका छन् ।
आज, ११ मंसीरमा वीरगञ्जमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता देउवाले मधेशको मागअनुसार संविधान संशोधन प्रस्ताव आइतबार संसदमा दर्ता गराउन लागिएको बताए ।
उनले भने, “तपार्इँहरु ढुक्क हुनुहोस, मधेशी जनताको माग अनुसार नै भोलि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ ।”
मधेशीको माग र भावनाको अपमान गर्ने जुनसुकै दलहरु पनि मधेशबाट समाप्त हुने भन्दै देउवाले अगाडि भने, “जब–जब कांग्रेसले मधेशलाई बेवास्ता गरेको छ, तब–तब मधेशी जनताले चुनावमा कांग्रेसलाई सजाय दिएका छन् ।”
उनले एमाले र अरु दलहरुलाई पनि मधेशी जनताको माग अनुसार संविधान संशोधन प्रस्ताव पारितका लागि सहयोग गर्न आग्रह गरे ।
विगतदेखि नै कांग्रेस मधेशको पार्टी रहेको भन्दै सभापति देउवाले मधेशका जनता सबै भन्दा बढि राष्ट्रवादी भएको र स्थानीय निकाय पुनर्संरचनामा दलहरुबीच तत्काल सहमति बन्न नसकेको खण्डमा पुरानै संरचना अनुसार भएपनि निर्वाचन गरिने बताए ।
वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सञ्चालन र हुलाकी राजमार्गको निर्माण कार्यका लागि कांग्रेसले पहल गर्ने पनि उनले आश्वासन दिए ।
कांग्रेसका स्थानीय नेता एवम् सांसद सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री दीपक गिरी, केन्द्रीय सदस्यरु रमेश रिजाल, अजय चौरसीया, फरमुल्लाह मन्सुर, गुरुराज घिमिरे, सांसदहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुंगटा, राम अयोध्या यादव, राधेचन्द्र यादव, मधु शाही, लालबाबु सिंह, जितेन्द्र यादव लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज