विद्यार्थी संगठनद्वारा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी
विभिन्न पदमा पदपूर्ति गर्न लागेको विरोधमा विद्यार्थी संगठनहरुले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन विपरित सेवा आयोगले पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको भन्दै पाँच वटा विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका कारण आजदेखि हुन लागेको परीक्षा स्थगित भएको छ ।
आज अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी यूनियन, संघीय समाजवादी फोरम र अनेरास्ववियु (क्रान्तिकारी)का प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दी गरेका हुन् ।
उता, विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी खोलेर परीक्षा सञ्चालनको माग गर्दै मोरङ कांग्रेसले प्रमुख जिल्ला अधिकारी मार्फत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बुले हस्ताक्षर गरेको पत्रमा विश्वविद्यालय जस्तो निकायमा राजनीतिक हस्तक्षेप नरोकिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
कमल रिमाल, विराटनगर