खेलकुदआइतबार, १० चैत्र , २०७५

अन्तर्राष्ट्रिय प्रतियोगिताको विकेन्द्रीकरण

निरञ्जन राजवंशी

काठमाडौं बाहिर पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापकीय कमी–कमजोरी छताछुल्ल भए पनि दीर्घकालीन रूपमा देशका विभिन्न शहर खेलकुदको केन्द्र बन्ने बाटो खुलेको छ।

विराटनगरमा सम्पन्न पाँचौं साफ महिला फूटबल च्याम्पियनसिपमा भारत विरुद्धको फाइनल खेलमा नेपालकी सावित्रा भण्डारी । तस्वीरहरु: कमल रिमाल

भूटानको महिला फूटबल टीमका दक्षिण कोरियाली प्रशिक्षक सोड जी लीले विराटनगरमा पहिलो पटक आयोजना भएको साफ महिला फूटबल च्याम्पियनसिपको कमजोर व्यवस्थापनलाई इंगित गर्दै टिप्पणी गरे, “राष्ट्रिय टोलीले खेल्ने प्रतियोगितामा यति धेरै कमजोरी हुनु राम्रो होइन ।”

राष्ट्रिय टोली बस्ने होटल कम्तीमा अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) ले तोकेको मापदण्ड अनुरुप हुनुपर्ने प्रावधान पूरा नहुँदा खेलाडीको प्रदर्शनमा समेत असर परेपछि उनले यस्तो गुनासो गरेका थिए ।

दक्षिण एशियाका ६ राष्ट्र सम्मिलित क्षेत्रीय महिला फूटबलमा यस्ता थुप्रै व्यवस्थापकीय र प्राविधिक त्रुटिहरू देखिए । अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीहरू यसबाट आफूले पनि पाठ सिकेको र भोलिका दिनमा मोफसलमा ठूला प्रतियोगिता हुनु अगाडि सचेत गराएको बताउँछन् ।

विशेषतः अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपूर्व आवश्यक प्राविधिक चुस्तता, न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डको भौतिक पूर्वाधार, खेलाडी सुरक्षा, स्वास्थ्य, स्थानीय र प्रदेश सरकारको सक्रिय उपस्थिति र शहरको सुन्दरतामा समेत ध्यान दिनुपर्ने चुनौती विराटनगरमा सम्पन्न प्रतियोगिताले देखाएको छ ।

फरक आयोजना
अन्तर्राष्ट्रियस्तरका, ओलम्पिक र एशियाली खेलकुद जस्ता ठूला प्रतियोगिताको आयोजना शहरको नाममा हुने गर्छन् । त्यसका निम्ति सम्बन्धित शहरले आफ्नो ठाउँलाई सक्दो सुन्दर बनाउन प्रयास गर्छन् ताकि, विश्वभर आफ्नो प्रचारप्रसार होस् । शहरको सभ्यताको विकासलाई अगाडि सारेर शहरवासीलाई आफ्नो परिचय फैलाउन, प्रतियोगिताका दौरान अनुशासित व्यवहार प्रदर्शन गर्न वा प्रतियोगिताको माध्यमबाट नयाँ कुरा सिकाउन समेत योजना बनाइएको हुन्छ ।

नेपाली टोलीको हौसला बढाउँदै समर्थक ।

त्यसका लागि ठूलो लगानीमा नयाँ शहरको विकास गर्ने वा शहरको मुहार फेर्न ठूलो रकम खर्च गर्ने काम गरिन्छ । सन् २००८ को ओलम्पिक आयोजना गर्न बेइजिङले पानी जस्तै पैसा बगाएको इतिहास छ । अहिले पनि उसले ठूला प्रतियोगिता आयोजना गर्न अन्य शहरसँग कडा प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ ।

तर, साफ महिला फूटबल च्याम्पियनसिप आयोजनाको स्वरुप भने अलि भिन्न छ । यसमा दक्षिण एशियाली फूटबल महासंघ आयोजक हो भने एन्फा स्थानीय आयोजक मात्र । मोरङ जिल्ला फूटबल संघ त एन्फाको सहयोगी मात्र हो । शुरुमा प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने भन्दै एन्फाले साफ च्याम्पियनसिपको आयोजकसँग आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेपालले आयोजनाको अवसर पाएपछि मात्र प्रतियोगिता विराटनगर लैजाने निर्णय गरिएको हो । त्यही कारण पनि हतारमा कैयौं कमी–कमजोरी हुन पुगे ।

प्रतियोगिता सफल पार्न प्रदेश–१ सरकारले रु.५० लाख तथा विराटनगर महानगरपालिकाले रु.१ करोड आर्थिक सहयोग गर्नु राम्रो पक्ष हो । यद्यपि, केही आधारभूत पक्षमा भने विराटनगर शहरले ध्यान दिन सकेन । एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, “कम्तीमा शहीद मैदानसम्म पुग्ने बाटो र खेलाडी बस्ने होटल वरपरको वातावरणसम्म ‘धूलो मुक्त’ बनाउन सकिएको भए अलि राम्रो सन्देश जानेथियो ।”

पूर्वाधार निर्माणका चुनौती
स्थानीय तहमा प्रतियोगिता आयोजनाको अर्थ हुन्छ, त्यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माण–विस्तार । नेपाली खेलकुदको इतिहासले देखाउँछ– ठूला प्रतियोगिता आयोजनाकै दौरान नयाँ पूर्वाधारहरू बनेका छन् । जस्तो कि, दोस्रो राष्ट्रिय खेलकुदका बेला पोखरा रंगशाला निर्माण भयो । त्यसैगरी, तेस्रो राष्ट्रिय खेलकुदले वीरगञ्ज रंगशाला र छैटौं राष्ट्रिय प्रतियोगिताले गर्दा धनगढी रंगशालाको निर्माण भएको हो ।

यसपालि दक्षिण एशियाली स्तरको प्रतियोगिताकै कारण विराटनगरको शहीद मैदानले नयाँ स्वरुप पायो । मैदान, ड्रेसिङ रुम, मिडिया ट्रिब्यून, मिडिया सेन्टर, सेक्रेटेरियट जस्ता प्राविधिक स्थल पनि निर्माण गरिए । शहीद मैदानले पाएको नयाँ स्वरुपले स्थानीय तहलाई पनि थप जिम्मेवार बनाए जस्तो देखिन्छ । जस्तो कि, मैदानलाई थप व्यवस्थित गर्दै रात्रिकालीन खेलयोग्य बनाउन ‘फ्लड लाइट’ (कृत्रिम प्रकाश) निर्माण गर्ने तयारी भइसकेको छ ।

अबको सम्भावना
विराटनगरले देखाएको बाटो के हो भने अब अन्य जिल्लाहरू पनि ठूला प्रतियोगिता आयोजनाका लागि लालायित बनेका छन् । काठमाडौं बाहिर विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिता नै नभएका होइनन् । वीरगञ्जमा यू–१६ साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता आयोजना भइसकेको छ ।

पोखरामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फूटबल पनि आयोजना भयो । यसबाहेकका अन्य केही छिटपुट अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नभएका होइनन् । तर, अब गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो– न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता ।

देशभर खेलकुद पूर्वाधार छरिएर रहेका छन् । वर्षभरि विभिन्न प्रतियोगिताहरू आयोजना पनि हुन्छन् । नकआउट गोल्डकप फूटबल प्रतियोगिता त कति हो कति ! तर, ती सबै घरेलु सम्झौता र सहजतासँग जोडिएका देखिन्छन् । साफ महिला फूटबल च्याम्पियनसिपले यसमा केही सोच्न बाध्य बनाएको छ ।

शहर निर्माणदेखि तारे होटल (फिफाको नियममा कम्तीमा चार तारे), खेलाडीको सुरक्षा, खेलाडीको स्वास्थ्य व्यवस्था (कम्तीमा दुईवटा एम्बुलेन्स सहितको उच्चस्तरीय हस्पिटल) मा अब ध्यान दिनैपर्छ । पोखरा, बुटवल, धनगढी, वीरगञ्ज जस्ता शहरहरूमा त्यो सम्भावना प्रचुर छ ।

आउँदो डिसेम्बरमा नेपालले आयोजना गर्ने १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) त्यसको परीक्षा हुनेछ । तेस्रो पटक साग आयोजना गर्न लागेको नेपालले पहिलो पटक काठमाडौं बाहिर, पोखरामा पनि प्रतियोगिता लैजाँदैछ । बहुउद्देश्यीय कभर्ड हलदेखि रंगशाला लगायतका प्रमुख पूर्वाधार तयार भइसकेको पोखरा हरेक दृष्टिकोणले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सक्षम ठानिएको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा संघका आगामी कार्यक्रमहरू जिल्लामा केन्द्रित हुने बताउँछन् । उनी भन्छन्, “थुप्रै स्थानीय तह र प्रदेश सरकारले चासो देखाइरहेका छन्, त्यही अनुरुप कार्यक्रम बनिरहेको छ ।” शेर्पाका अनुसार धनगढी उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता गर्न रु.४० लाख बजेट छुट्याइसकेको छ भने बुटवल उपमहानगरपालिका पनि आयोजनाको निम्ति तयार छ । प्रदेश सरकारहरूले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बेला मौकामा व्यक्त प्रतिबद्धताहरूले देखाउँछन् ।

यी र यस्ता वातावरण र प्रतिबद्धता थपिंदै गए नेपालका प्रमुख शहरहरू अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि योग्य हुँदै जानेछन् । त्यस पछाडिको प्रमुख फाइदा चाहिं देशका विभिन्न स्थानमा योग्य खेल पूर्वाधार निर्माण हुनेछन् ।

नेपाल फेरि रोकियो
नेपाली महिला फूटबल टोलीको दक्षिण एशियाली फूटबल (साफ) च्याम्पियनसिप उपाधि जित्ने लक्ष्यमा फेरि चिरपरिचित प्रतिद्वन्द्वी भारत बाधक बनेको छ । विराटनगरमा ८ चैतमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिपमा भारतले नेपालमाथि ३–१ गोलको जित हात पार्दै लगातार पाँचौं पल्ट उपाधि जितेको हो ।

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको नेपाली महिला फूटबल टोली फाइनलमा भने अनुभवी भारतसामु टिक्न सकेन । फाइनलसम्म पुग्दा नेपालले १० गोल गरेको थियो भने विपक्षीबाट कुनै गोल व्यहोरेको थिएन । फाइनलमा पहिलो हाफमै गोल खाएको नेपालले १० मिनेटभित्रै खेल बराबरीमा ल्याएको थियो । तर, दोस्रो हाफमा दुई पटक रक्षापंक्तिले गरेको गल्ती नेपाललाई महँगो सावित भयो ।

साफ च्याम्पियनसिपमा फाइनल पुग्ने र भारतलाई पन्छाउन नसक्ने सिलसिला तोड्न नसक्दा घरेलु मैदानमा उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपाल यसअघि तीनपटक फाइनलमा पुगे पनि तीन पटक नै भारतसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस