आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएकाे एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ ।
चिकित्सकका अनुसार बाहिर क्षयरोग नदेखिएको अवस्थामा पनि निष्क्रिय क्षयरोग हुनसक्छ । नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ ।
निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ ।
छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् ।
यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरी भन्छन्, “हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छौँ, रोग छैन भन्ने अवस्था रहँदैन ।”
क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ ।
क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ।
केन्द्रका अनुसार गत आव २०७४/७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो । तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए ।
नेपालमा नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन सकिएको छैन । “क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन्? क्षयरोगी पत्ता लगाई उनीहरुलाई सरकारी उपचार सेवामा ल्याउन प्रमुख चुनौती बनिरहेको छ”, निर्देशक चिकित्सक तिंकरी भन्छन ।