एसइई परीक्षा आजदेखि शुरु
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ ।
बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।
परीक्षामा देशभरबाट परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका गरि कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताए ।
परिक्षा दिने छात्रा दुई लाख ३६ हजार ४४५ जना छन् भने छात्रा दुई लाख ३८ हजार ५५८ रहेका छन् ।
प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, प्रदेश नं ३ बाट एक लाख ६०२, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३, कर्णाली प्रदेशबाट ३५ हजार ६२४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।
परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् ।
यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार सञ्चालन हुने परीक्षाकाे व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।
माध्यमिक तहमा २०७२ सालदेखि विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिको थालनी भएको थियो । विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण/अनुत्तीर्णको उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क दिइने प्रक्रिया अक्षराङ्कन प्रणाली हो ।
नेपालमा विसं १९९० मा भारतको पटना विश्वविद्यालयसँग सम्बन्धन लिई प्रवेशिका परीक्षाको थालनी भएको थियो ।
यस वर्षकाे परीक्षा २१ चैतसम्म चल्ने छ ।