कला/साहित्यशनिबार, ९ चैत्र , २०७५

वीरगञ्जमा ‘जोगिरा सरारारा..‍‍‍

सेवा भट्टराई

कोन चीज का रेल बने
कोन चीज का पहिया
कोन चीज कि टिकट बनी है
कोन चीज कि रुपैया

वीरगञ्जको पुरानो बस्ती गहवामा हनुमान मन्दिर अगाडि बसेर शत्रुघनप्रसाद गुप्ता ढोलक बजाउँदै यो गीत गाइरहेका छन् । उनको यो प्रश्नमा लालबाबु गुप्ता उत्तर दिन्छन्ः

लोहे की है रेल बनी
लोहे की पहिया
कुट का है टिकट बना
कागज का रुपैया
जोगिरा सरारारा...

गीत–संगीतमा धनी तराई–मधेशको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पीकर’ मा गीत बजाउने चलन आइसकेको छ । तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ ।

तस्वीरहरूः सेवा भट्टराई

भोजपुरी भाषी बस्ती गहवामा फागु पूर्णिमाको दिन यस्तै रौनक छाउँछ । ढोलक, करताल, झ्याली जस्ता बाजा बजाउँदै पुरुषहरुको टोली जोगिरा सरारारा गाउँदै थिए।

जोगिरा गीतको सांस्कृतिक पृष्ठभूमिबारे वीरगञ्जका पत्रकार गिरीश गिरी भन्छन्, “होलिकालाई जलाएको हेर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ । होलिका जल्न थालेपछि जोगीहरु खुशी भएको हुनाले त्यही खुशी गीतमा पोखिएको हो।”

होलीका प्रायः प्राचीन गीतहरु यही जोगिराको लयमा हुने गर्छन्, जसलाई फरक फरक तरिकाले महिला र पुरुषले छुट्टाछुट्टै बसेर गाउँछन् । हनुमान मन्दिरको भित्र गहवा टोलकै उर्मिला देवी गुप्ता अरु महिलाहरुसँग गाउँदैछिन्ः

अजुधा में काली है बदरिया
जनकपुर में बरस गएल
केकर भिजल सिरक मटुकवा
केकर भिजल लामी लामी केश
रामजी कि भिजल सिरक मटुकवा
सीताजी कि भिजल लामी लामी केश

होलीका गीतहरु धेरै शृङ्गारिक हुने गरे पनि महिलाहरुले भने त्यस्ता गीत गाएको पाइएन । महिलाहरूले शालीन गीत र भजनहरु मात्रै गाउने उर्मिला देवी बताउँछिन् । पुरुषहरु मन्दिर बाहिर गीत गाउँदै होलिका दहन गर्ने ठाउँतिर अघि बढ्छन् । नाचगान सहित माहोल तातिंदै जाँदा गीत अझ शृङ्गारिक बन्छन्ः

आचरा में घुँघरु लगा दो पिया हो,
हम अलबेली पिया अलबेला हो

अर्थात् ‘मेरो आँचलमा बुट्टा भरिदेऊ प्रिय, किनकि म मातिसकें र तिमी पनि मातिसक्यौ ।’

गहवा निवासी रामनारायण साह भन्छन्, “केटाहरुले केटीहरुलाई छेडछाड पनि गर्न सक्ने भएकाले यस समय सबै केटी झ्यालढोका लगाएर घरभित्रै बस्छन् ।” नभन्दै सडकमा कोही महिला देखिंदैनथे।

गीत गाउँदै नाच्दै अघि बढेको समूह केही समयपछि ‘समत’ जलाउने ठाउँमा पुगेको थियो । ‘समत’ अर्थात् पाँच प्रकारका अनाजलाई नयाँ बालीको प्रतीक मानेर देवतालाई चढाउन जलाइन्छ, र त्यसलाई घर ल्याएर पनि राखिन्छ । केटाकेटी वा गाईबस्तु बिरामी भएमा त्यही अन्नका केही दाना पिसेर खुवाउने चलन पनि छ ।

समतको अर्थ संवत् पनि मान्दै प्रतीकात्मक रुपमा पुरानो वर्ष जलाएर नयाँलाई स्वागत गर्ने अर्थमा परम्परागत रुपमा होलीलाई नै नयाँ वर्षका रुपमा मनाइने एक स्थानीयवासी लालबाबुप्रसाद गुप्ता बताउँछन् ।

“रुखबिरुवाले नयाँ पालुवा हाल्ने समय यही हो, त्यसैले प्रकृतिले नयाँ चक्र शुरु गर्नुलाई नै हामी नयाँ वर्ष मान्छौं”, उनी भन्छन् ।

असत्यमाथि सत्यको जित मानिने होलिका दहनपछि बाँकी रहेको खरानी एकआपसमा दलेपछि मात्रै मधेशमा होली शुरु हुन्छ । भोलिपल्ट भने मानिसहरु टोली बनाएर घरघरमा गीत गाउँदै नाच्दै घुम्छन्, र घरका मानिसले उनीहरुलाई मासु, मिठाई जस्ता मिष्ठान्न दिन्छन् ।

यो दिनमा मानिसको जीवनमा सप्तरंगी खुशी आऊन् भन्ने अर्थमा सबै रंग प्रयोग गरेर होली खेलिन्छ।

फागुन सकिएर चैत शुरु भएको समयमा होलीको उत्सव सकेर मानिसहरु चैतको गीत ‘चैतावर’ गाउँदै घर फर्किन्छन् ।

बितले फगुनवा हो चैत आइले
दूर देशके गइलवा पियवा नहीं आइए हो राम

पछिल्लो समय भने होलीका यस्ता प्रचलनमा धेरै परिवर्तन आइसकेको लालबाबु बताउँछन् । कतिपय सांगीतिक प्रचलन हराए जस्तै मध्य बजारमा टोलटोलको बीचमा मट्का फोड्ने प्रतिस्पर्धा अहिले हुँदैन। यसको अर्थ होली पर्वबाट सामूहिकता हराएको छ ।

लालबाबु सम्झन्छन्, “होलीको समयमा थुप्रै मानिस जम्मा भएर गीत गाउँथे । एक जना कुनै घरमाथि चढेर ठूलो स्वरमा गाएपछि एक दुई किलोमिटर पर भएको अर्को समूहले सुन्थ्यो । हामी त्यसरी गीत गाएरै एक गाउँदेखि अर्को गाउँमा संवाद गथ्र्याैं । त्यसरी गाउन छोडिएको थुप्रै वर्ष भइसक्यो।”

कतिपय कुरा समयसँगै हराए पनि वीरगञ्ज लगायत थुप्रै ठाउँमा मौलिक गीतको चलन अहिलेसम्म जीवित छ । तर आधुनिकताको चपेटामा यी संस्कृति कतिञ्जेल बाँच्लान्, त्यो भन्न गाह्रो छ।

 

प्रतिकृया दिनुहोस