टिप्पणीशनिबार, ९ चैत्र , २०७५

होलीः बजारको पर्व, मुनाफाको रङ

शेखर खरेल

झट्ट हेर्दा युवायुवतीको भीडले कुनै आन्दोलनको झझल्को दिन्थ्यो, तर आन्दोलनमा जस्तो आक्रोश र तनावमा उनीहरू थिएनन् । बरू उत्साह र उमङ्गले तरङ्गित देखिन्थे । किनभने, त्यो युवा उभार भेनेजुएलाको कारकास, इजिप्टको ताहिर स्क्वायर नभई हाम्रै राजधानीको वसन्तपुर र टुँडिखेल वरपरको थियो । सन्दर्भ थियो– फागु पूर्णिमा ।

रङको पर्व फागुमा केही वर्षदेखि निष्क्रियप्रायः छु, तैपनि यसप्रतिको मोह मनबाट पूरै उत्रिइसकेको छैन। तन्नेरी पुस्ताको उल्लासपूर्ण सहभागिता देख्दा स्वयं पनि तरङ्गित हुन्छु।

शायद पर्वहरू पनि पुस्तान्तरित हुने भएर होला, हिजोको आफ्नो सक्रियता एक पूर्व खेलाडीले मैदानको साटो प्यारापिटबाट खेलको आनन्द लिए जस्तै महसूस गर्छु। तैपनि फागुका रङहरूसँगै उमङ्ग र उल्लास यसै पनि छचल्किइहाल्छन् ।

रङ्गोत्सवको दर्शक बन्ने उद्देश्यले फागुको दिन अर्थात् ६ चैत मध्याह्न शहर घुम्न निस्किएँ । माइतीघरबाट सैनिक मुख्यालयछेउको ‘लिंकरोड’ हुँदै भद्रकाली पुग्दानपुग्दै युवा उभारको चाप महसूस हुनथाल्यो । टुँडिखेलछेउको पेटीमा युवा जमातको ‘ह्याप्पी होली’ गुञ्जायमान थियो ।

पेटीले युवाउभार थेग्न नसक्दा ती सडकमा यत्रतत्र छरिएका थिए, जसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई नै हम्मेहम्मे थियो । राजधानीको फागुको ‘इपिसेन्टर’ बनेको वसन्तपुरको जबर्जस्त कम्पन टुँडिखेल वरपर सडक, टोल सर्वत्र फैलिएको थियो।

बजारको पर्व

फागुको रङ्गोत्सवमा युवायुवती नै केन्द्रमा हुन्छन् । नेपाल यसै पनि युवाबहुल मुलुक हो । २०६८ सालको राष्ट्रिय जनगणनाले नेपालीको मध्य उमेर २१.६ वर्ष तय गर्नुले पनि हाम्रो जनसंख्याको बहुल हिस्सा ३० वर्षमुनि रहेको प्रष्ट गर्छ । फागु (होली) मा युवा उभार हुनुको एक प्रमुख कारण यही हो ।

अर्को कारक हो– बजार । एक्काइसौं शताब्दीको उदयसँगै फस्टाउँदो नवउदारवादी अर्थतन्त्र र भूमण्डलीकरणले मानिसलाई पहिले उपभोक्ता, अनि मात्र नागरिक बनाएको छ । जन्मदेखि मरणसम्मका सबै उपक्रममा बजारले चाबुक हान्छ । पर्वहरू पनि त्यसमा अपवाद छैनन् ।

तस्वीरहरूः मोनिका देउपाला

करीब दुईदशक अघिसम्म देशका पहाडी भूभागमा ‘फागु’ र तराईमा ‘होली’ शब्द प्रचलनमा थियो । छिमेकी राष्ट्रको सांस्कृतिक प्रभावका कारण अब जताततै ‘होली’ मनाइन्छ । त्यसमाथि बजारको प्रभावले होली मनाउने तौरतरिका पनि बदलिएको छ ।

पछिल्ला केही वर्षदेखि होली मनाउने बेग्लै पोशाक अर्थात् सेतो पृष्ठभूमिको रङ्गीन टी–सर्ट अनिवार्य जस्तै बनेको छ । एकपटक लगाएर मिल्काइने यो लुगा लाखौंको संख्यामा बिक्री हुन्छ र त्यसवापत करोडौं रुपैयाँ देशबाट बाहिरिन्छ।

त्यसबाहेक फास्टफूड, हल्का पेयदेखि मदिरा, रङ्गरोगनका ब्राण्ड, सिनेमा आदिको बजारीकरणका लागि उपयुक्त मौका होली नै हो । उत्पादन वा सेवा प्रवद्र्धनका निम्ति लाखौं युवायुवती उमङ्गसाथ सहभागी हुने होली भन्दा प्रभावकारी अरू पर्व हुनै सक्दैन।

वास्तवमा तिनै पर्व ‘उल्लासमय’ रहन्छन्, जसमा युवासँगै बजार जेलिएको हुन्छ । साउने र माघेसंक्रान्ति, जनैपूर्णिमा भन्दा होली उल्लासमय हुनुको कारण यही हो । उपभोक्तावाद र ग्लोबलाइजेसनको यो युगमा पर्वहरू मौलिक र नेपाली नै हुनुपर्छ भन्ने छैन।

ग्रेगोरियन ‘न्यू इअर’ त्यसरी नै मनाइन्छ, जसरी हामी विक्रमाब्दको नयाँ वर्ष मनाउँछौं । पर्वहरू कुनै जातीय समूह, सम्प्रदाय र धर्मसँग जोडिनुपर्छ भन्ने पनि अब रहेन ।

भ्यालेन्टाइन–डेकै उदाहरण हेरौं । होली पछिको युवा सहभागिताको उल्लासपूर्ण यो पर्व बजारका लागि मुनाफा दोहनको अपूर्व अवसर हो । पुष्प व्यवसायीहरुका अनुसार यो वर्षको भ्यालेन्टाइन–डेमा डेढ अर्ब रुपैयाँ बराबरको गुलाफको फूल नेपाल भित्रियो रे !

अनुमान गरौं, भ्यालेन्टाइन–डे मनाउने क्रममा लुगाफाटा, उपहार, चकलेट–केक, खानपिन र घुमघाममा नेपालीले कति पैसा खर्च गरे होलान् र त्यसको कति हिस्सा बाहिरियो होला !

भ्यालेन्टाइन–डे नेपालमा एउटा ‘ग्लोकल’ (ग्लोबल र लोकलको संयोजित रूप) प्रवृत्ति बनिसकेको छ । आगन्तुक अन्य पर्वहरूले पनि विस्तारै नेपाली माटोमा जरा गाड्दैछन् ।

दुई दशकअघि अध्ययनको सिलसिलामा बेलायत पुग्दा पंक्तिकारले ‘हालोइन’ शब्द पहिलो पल्ट सुनेको थियो । केही वर्षयता हालोइन नेपालमै मनाउन थालिएको छ । ग्रेगोरियन क्यालेण्डरको ३१ अक्टोबरमा मनाइने यो इसाइ पर्वको छेकोमा हाम्रा रेस्टुराँ, पव र डिस्कोथेकहरू खचाखच हुनथालेका छन् । 

प्रतिकृया दिनुहोस