देशमा बेरोजगार ११ दशमलव ४ प्रतिशत
काम गर्न सक्ने उमेरका जनसंख्यामध्ये ११ दशमलव ४ प्रतिशत बेरोजगार रहेको भेटिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको तेस्रो श्रमशक्ति सर्वेक्षणले देशको श्रम बजारमा उक्त बेरोजगार रहेको देखाएको हो । विभागले सोमबार, ११ चैतमा सर्वेक्षणको नतिजा सार्वजनिक गर्दैछ ।
दश–दश वर्षमा गरिने सर्वेक्षण यसअघि पहिलो पटक सन् १९९८ र दोस्रो पटक २००८ मा गरिएको थियो । सन् १९९८ को सर्वेक्षणले देशमा बेरोजगार १ दशमलव ८ प्रतिशत रहेको देखाएको थियो ।
सन् २००८ को सर्वेक्षणले देशको कूल जनसंख्याको २ दशमलव १ प्रतिशत बेरोजगार रहेको देखाएको थियो । विभागका एक अधिकारीले यसअघिको सर्वेक्षणभन्दा फरक आधार र तथ्यांक लिइएकाले बेरोजगारको प्रतिशत धेरै देखिएको बताए । “बेरोजगारको परिभाषा र मापदण्ड नै फेरिएका कारण अहिलेको र पुरानो तथ्यांक तुलना गर्न मिल्दैन,” उनले भने ।
सर्वेक्षणले करीब २ लाख ६० हजार बालबालिका काममा रहेकाे देखाएको छ । बाल श्रम उन्मूलनमा सरकार र गैरसरकारी क्षेत्रले ठूलो अभियान चलाए पनि अहिले पनि ठूलो संख्यामा बालबालिकाहरु काममा रहेकाे देखिएको हो । सर्वेक्षणले करीब ७० लाख श्रम बजारमा रहेको देखाएको विभाग स्रोतले जानकारी दिएको छ । १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई श्रम योग्य मानिन्छ ।
यसअघिका सर्वेक्षणहरूमा आर्थिक लाभ नहुने घरायसी तथा कृषि कामलाई समेत रोजगारीको परिभाषाभित्र राखिने गरिएको थियो । अहिलेको सर्वेक्षणमा आम्दानी हुने, ज्याला प्राप्त हुने तथा मुनाफा आर्जन गरिने कामलाई मात्र रोजगारीको परिभाषामा राखिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०१३ सम्मेलनले पारित गरेका मापदण्डका आधारमा आयआर्जन नहुने र आर्थिक लाभ प्राप्त नहुने कामलाई रोजगारीबाट बाहिर राखिएको हो । त्यस्तै, काम खोजेको वा कामका लागि प्रयत्न गरेर पनि नभेटेकालाई मात्र बेरोजगारको सूचीमा राखिएको छ ।
सन् २०१७ को जुलाईदेखि सन् २०१८ को जून महीनामा देशका सातवटै प्रदेशका गाउँ र शहरका गरी १८ हजार घरपरिवारमा पुगेर उक्त सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणले सबैभन्दा धेरै श्रमशक्ति कृषि क्षेत्रमा रहेको देखाएको छ । सर्वेक्षणले कामको गुणस्तर, महिला र पुरुषको बीचमा तलब र ज्यालादरमा असमानता आदिका विषयमा पनि तथ्यांक संकलन गरेको छ । नेपालको श्रम बजारको यथार्थ अवस्था पत्ता लगाउन सर्वेक्षण गरिएको हो ।
भारतमा सरकारले लुकाउन खोजे पनि आम निर्वाचनको मुखैमा बेरोजगारीको तथ्यांक चुहिएपछि ठूलो विवाद चर्किएको छ । भारतमा बेरोजगारी दर ४४ वर्ष यताकै सबैभन्दा उच्च ६ दशमलव १ प्रतिशत पुगेको तथ्यांक चुहिएको थियो । यसले सत्तारुढ मोदी सरकारलाई निर्वाचनको मुखैमा अप्ठ्यारोमा पारिदिएको छ ।
नेपालको केन्द्रीय तथ्यांक विभागले पनि सर्वेक्षणको नतिजा सार्वजनिक हुनुअगाडि बेरोजगारीको विषयको तथ्यांकलाई गोप्य राखेको छ ।