बारा पुगेका ओलीले भने, ‘संविधान संशोधनको प्रयास गरे कडा प्रतिवाद हुन्छ’
एमाले अध्यक्ष केपी ओलीले कसैको बहकाउमा संविधान संशोधनको प्रयास गरिए कडा प्रतिवाद गरिने चेतावनी दिएका छन् ।
आज, ११ मंसीरमा बारामा एमाले निजगढ नगर अधिवेशनको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई संविधान संशोधन विधेयक दर्ताको अधिकार नै नभएको दाबी गरे ।
“अहिलेको सरकारले संविधान नै राम्रोसँग नपढेको जस्तो छ, त्यसैले अरुको बहकाउमा बहकिन थालेको छ ।” उनले सरकारलाई संविधान कार्यान्वयनको मात्रै अधिकार भएको जिकिर गरे ।
एमाले मधेश र मधेशी विरोधी भएको निराधार हल्ला फैलाइएको भन्दै ओलीले आफ्नो दल कसैलाई एकछिन खुशी पार्न नभई सबै नेपालीकोे हित र उज्वल भविष्यका लागि दूरगामी सोंच राख्ने दल भएको बताए ।
“संविधान संशोधन हुनै सक्दैन भन्ने पक्षमा हामी छैनौं, तर संशोधन केका लागि, कसको लागि किन गर्ने भन्ने स्पष्ट हुनुपर्छ,” ओलीले भने, “अहिले नै संविधान संशोधन गरिहाल्नु जरुरी छैन्, संविधानले कसैलाई भेदभाव गरेको छैन ।”
उनले आफ्नो नेतृत्वको सरकार ढाल्न एमाओवादी, कांग्रेस र मधेशवादीको ‘टाउको जोडिदिएर अर्कैले मित लगाईदिएको’ भन्दै अहिले उसकै आदेशानुसार सरकार अघि बढ्न खोजेको बताए ।
आम नेपालीको चाहाना विपरित कसैले काम गर्न खोजे संसद र सडकबाट कडा प्रतिवाद गरिने उनले चेतावनी दिए ।
आफू प्रधानमन्त्री हुँदा फास्ट ट्रयाक, अन्तर्राष्ट्यि विमानस्थल जस्ता पूर्वाधार स्वदेशी पूँजीले नैं बनाउने निर्णय गरेको भन्दै वर्तमान सरकारले ती योजना अघि नबढाई जनतालाई झुक्याई रहेको आरोप लगाए ।
उक्त अवसरमा नेकपा एमाले निजगढ नगर कमिटीले ओलीलाई राष्ट्र, राष्ट्रियता र आम जनताको पक्षमा अडिग रहेको भन्दै सम्मान गरेको थियो ।
श्याम गुप्ता, बारा