कला/साहित्यशनिबार, ९ चैत्र , २०७५

‘वार अफिस’को कथा

हिमालखबर

- अर्जुन पन्थी

हेमराज शर्मा (वि.सं. १९३५—२०१०) चन्द्रशमशेरका ‘श्रीराजगुरु’ र विश्वास पात्र थिए । पहिलो विश्वयुद्ध (१९७१—१९७६) को तयारीमा लागेको बेला चन्द्र सरकारले सिंहदरबारमा ‘वार अफिस’ खोलेको थियो । ‘वार अफिस’ मै खटिएको बेला शर्माले तयार पारेका हुन्– प्रथम विश्वयुद्धको वर्णन । 

पुस्तक नथाल्दै मेरा केही अपेक्षा थिए । युद्धताका लडाका खोज्दै नेपाली गाउँगाउँ पसेका गल्लाहरूले जबर्जस्ती युवाहरू खोसेर लगेका कथा होलान् कि नहोलान् ? कति मान्छे कहाँबाट कहाँको लडाइँमा गए होलान् ? लडाकालाई सहयोग गर्न बर्मा गएर हराएका मेरा ठूलाबा जस्ता सहयोगी सर्वसाधारण अर्थात् ‘पब्लिक फालवर्स’ कति होलान् ? तिनको कथा किताबमा होला, नहोला ? इत्यादि ।

‘वार अफिस’ त बनाइयो तर काम कसरी गर्ने भन्ने कुनै अनुभव थिएन । शर्माका अनुसार ‘धान चावल मुगी मास तिल इत्यादि मिसिएको एकै राशबाट १/१ वस्तु छुट्याउनालाई जस्तो मुस्कील हुन्छ. त्यस्तै मुस्कील वार अफिसको काममा भएको थियो’ ।

हुनत १९११ सालमा भएको तिब्बत युद्धको अनुभव जङ्गबहादुर राणाले लेखाएका थिए । १९१४ सालको लखनऊ लडाइँमा जाँदाको वर्णन पनि लेखिएको थियो । ‘पछिपछिकाले काम गर्नुपर्दा त्यस विषयमा अगाडिदेखि भइरहेका कुराको अनुभव गरी काम गर्दा जत्तिको तिनीहरूलाई काम गर्न सुबिस्ता होला, त्यत्तिको अरु कुनै तरहबाट हुन सक्नेछैन.’ शर्माले पुस्तकमा लेखेका छन् । शायद यही हुनुपर्छ, लेखनीको अभिप्राय ।

योजनाकै तहत युद्ध अनुभव लेखिए पनि प्रकाशन भने गरिएन । ‘ढङ्गले पूर्ण नभएकोले पनि यो प्रकाशनतिर नगएको हुनसक्छ’, पुस्तकका सम्पादक दिनेशराज पन्त लेख्छन् । त्यसो त ‘श्रीराजगुरु’ को हैसियतमा प्रकाशन गर्न अप्ठ्यारो भएर पनि प्रकाशनमा उत्साह नभएको हुनसक्छ । लेखेको १०० वर्षपछि अहिले बल्ल यो पुस्तक प्रकाशित भएको छ ।

पुस्तक मूलतः दुई भागमा संरचित छ । शुरुका खण्डहरूमा विश्वयुद्धका कारण छन् भने पछिल्ला खण्डमा नेपाल सरकारको युद्ध तयारी । तर, विश्वयुद्धको कारण खोतल्ने क्रममा शर्मा पूर्वीय ज्ञान र महाभारत कथामा आफ्नो पाण्डित्य दर्शाउँछन् । ‘भीष्म, विदुर, श्रीकृष्ण, युधिष्ठिर आदि विचारवान् पुरुष छँदाछँदै पनि महाभारतको लडाइँ किन भयो ?’ त्यस्तै तरहले यूरोपमा अनेकौं विद्वान्, शान्तिप्रिय संस्था खडा हुँदाहुँदै लडाइँ किन भयो ? यही तर्क प्रस्तुत गर्दै शर्माले युद्धलाई ‘अनिवार्य शर्त’ को सिद्धान्तको रुपमा व्याख्या गरेका छन् ।

अनुमान गर्न सकिन्छ, नेपालको ‘वार अफिस’ मा युद्ध सम्बन्धी पुस्तक र विभिन्न पत्रपत्रिका आउँथे । शर्माले तिनैलाई स्रोत बनाएर युद्धका कारण खोतले । युद्धको तत्कालीन कारण अष्ट्रियाका राजकुमारको हत्या भने पनि शर्माले, ‘त्यो एक बहाना मात्र सम्झनुपर्दछ’ भनेका छन् । लेखकको दाबी छ, विश्वयुद्धको जरा इतिहासमा धसिएको थियो । जतिबेला यूरोपेलीहरू आफ्नो साम्राज्य वा उपनिवेश जमाउन लागिपरेका थिए । उपनिवेशकालमा फ्रान्ससँग बेलायतको स्पर्धा थियो । रसिया दक्षिणएशिया पस्ला कि भन्ने डर बेलायतलाई थियो ।

उता फ्रान्स, बेलायत, स्पेनको जस्तै उपनिवेश आफ्नो नभएकोमा जर्मनी असन्तुष्ट थियो । त्यसैले स–साना राज्यमाथि कब्जा जमाउँदै जर्मनीले युद्धअघि नै अथाह शक्ति सञ्चय गरेको थियो ।

युद्धमा धेरै खर्च हुने जानेको बेलायतले अन्तिममा मात्रै आफूलाई सहभागी गरायो । आफ्नै ‘ट्यूटन’ जातिका जर्मन विरुद्ध आफूलाई उभ्यायो । ‘लेटिन’ जातिका फ्रान्सेली र रसियनसँग बेलायती मिले । त्यसैले लेखकको निष्कर्ष छ– त्यसैले यो युद्ध जातीय थिएन । ‘राष्ट्रियता नै महायुद्धको मुख्य लक्षण हो’ । यो वैश्विक लडाइँको दायरा फराकिलो थियो । एकै राज्यका लाखौं योद्धा एकातिर मारिंदा, उही देशका लाखौं युवा भर्ती भएका थिए । योग्य पुरुष सैनिक बने पनि बालक, वृद्ध, स्त्रीहरू सामग्री तयार गर्ने, घाइतेको सेवा गर्ने, घरघरमा खबर पुर्‍याउने काममा लागेका हुनाले अधिकांश जनता युद्धमा सहभागी थिए ।

‘भाडाका सिपाही’
विश्वयुद्धमा हारे बेलायतका उपनिवेशहरू गुम्थे । ‘दक्षिण एशिया’ को उपनिवेश पनि रहँदैनथ्यो । त्यसलाई जोगाउनकै लागि पनि उपनिवेशका ‘लडाका जाति’ हरूलाई प्रयोग गर्नुपर्ने बाध्यता थियो । आफ्नै उपनिवेश नभए पनि नेपालको सैन्य तागत बेलायतीहरूले अघिल्ला समरमा बुझिसकेका थिए, त्यसैले सेनामा नेपाली युवा पनि भर्ती गरिसकेका थिए ।

प्रथम विश्वयुद्धमा नेपालीको सहभागितालाई कतिपयले ‘चन्द्रशमशेरको सनक’ भने पनि सारपक्ष त्यो होइन । रुपमा त चन्द्रशमशेरले पनि युद्ध टार्न सक्ने अवस्था थिएन । किनभने, यी राणा प्रधानमन्त्री जनताका अघि शेरजस्तै गर्जिए पनि लैनचौरलाई बेवास्ता गर्ने हुती कहाँ हुनु र !

अर्थात् हामी विश्वयुद्धसँग अलग थिएनौं । तर, यो हाम्रो बाध्यता थियो । हेमराज शर्मा लेख्छन्, ‘महाशक्तिहरूको संग्रामको घमासानको बखतमा क्षुद्रशक्ति भएका राष्ट्रहरूले सच्चा वा पक्का तटस्थता पालन गर्न सक्ने सामथ्र्यै रहन सक्तैन.’ ।

अंग्रेजका साथ विश्वका विभिन्न भूगोलमा नेपाली युवा लडे । लडाइँ अन्यत्र भए पनि नेपाली गाउँ, परिवारमा त्यसको असर पर्‍यो । तर, पुस्तकको नेपाल खण्डमा शर्माले मानवीय असरका पक्ष खासै समेटेका छैनन् । नीतिगत पक्षलाई मात्र प्राथमिकता दिइएको छ ।

सर्सर्ती नियाल्दा पनि विश्वयुद्धमा नेपालले ठूलो लगानी गरेको बुझिन्छ । चन्द्रशमशेरको ‘अर्डर’ मा लेखिएको छ, ‘मित्रका उपर संकष्ट परिआएको बखतमा आफ्नो हैसियतले भेटाएसम्म मदत दिनु मित्रको धर्म हुनाले बृटिश सरकारको कामलाई चाहिन्छ भने हाम्रो नेपालको फौज हिन्दुस्थानमा पठाइदिनेछु भनी बृटिश सर्कारलाई खबर पठाएको छु. उनीहरूलाई दर्कार पर्‍यो भने पहिला पटकमा ६००० र दोस्रा पटकमा ४००० तेस्रा पटकमा ४००० फालवर्ससमेतको मयसमान फौज पठाइदिनेछु.’ । यो त चन्द्रशमशेरले नेपाली अधिकारीलाई दिएको आदेश थियो । तर, अंग्रेजले चन्द्रलाई के आदेश थियो त्यो भने पुस्तकमा अटाएको छैन ।

चन्द्रको आदेशपछि जङ्गी बन्दोबस्त अड्डा ‘वार अफिस’ लाई सिंहदरबारमा सारियो । ‘नेपालका अड्डाखाना सबैलाई भएका मालको लगत र कुन हालतमा छन् जाहेर गर’ भनेर अर्डर पुर्जी पठाइयो ।

‘वार अफिस’ खडा गरेपछि फाँटफाँटले के काम गर्ने, प्राथमिकता कसरी छुट्याउने, फौज जानु अघि र हिन्दुस्तानमा फौज गएपछि के गर्ने, नेपाल र गढी गौंडामा रहेका फौज तथा मिलिसियाका विषयमा के गर्ने, काठमाडौं बाहिरको पल्टन झिकाउँदाको बन्दोबस्तीबारे सनद तथा पुर्जी जारी गरिएको थियो ।

जस्तो कि, पाल्पाबाट पल्टन काठमाडौं आउँदा ‘तिमीहरूका इलाकामा योयो ठाउँमा बास पर्छ, सो वासमा पल्टन योयो दिन आइपुग्नेछ, सो वासवासलाई चाहिने यो यति रसद पानी घाँस दाउरा समेत बजार नजीक भए बजारिया पसलेबाट र बजार पसल टाढा परी नपाउने भए पल्टन आइपुग्नासाथ हर्जा नहुने गरी गाउँगाउँका अनाज हुने साहु महाजन जजससँग हुन्छ, निजहरूबाट वासवासलाई चाहिने रसद तयार गराई पल्टन फौज आइपुग्नासाथ चाहिने रसद पानी दिलाई सुपथ मोल दिलाइदिनू’ भनिएको छ ।

युद्धले खासगरी पहाडी जनजीवन बेस्सरी हल्लाएको थियो । ‘लडाका जात’ का मान्छे मात्र होइन, उनीहरूलाई खोज्ने र व्यवस्थापनमा सघाउने अरुहरू पनि थिए । पल्टनै पिच्छे पिपा, भरिया, डोले, कुल्लीले ढुवानीको व्यवस्थापन गरेका थिए । अनकन्टार पहाडबाट बाटो बनाउँदै लडाकुको लागि चाहिने चिजबिज बोकेर वीरगञ्ज वा सिमानासम्म पुर्‍याएका थिए ।

लडाकाका लागि खुकुरी बनाउन गाउँगाउँका कामीहरूलाई काँचो फलाम दिइएको थियो । सार्कीले जुत्ता सिलाए । पाल्पा घोरवन्डा गाउँका कुमालेहरू डोली बोक्न जान्ने हुनाले पिपामा भर्ती हुन भनियो । जवान बाहुनले भात पकाए । मेत्तरले क्याम्प वरिपरि सरसफाइ गरे । धोवीले कपडा धोए । नाउले कपाल काटिदिए । वैद्यले बाटोघाटो वा क्याम्पमा उपचार गरे । ‘पब्लिक फालवर’ र ‘प्राइभेट फालवर’हरू बनेर सबै जातका सर्वसाधारण युद्धमा सहभागी भए । समग्रमा युद्धको गायन लडाकाले गरे । शब्द संगीत अरुहरूले भरे ।

युद्धको लागि हिन्दुस्तान पठाउने सबै चिजबिज काठमाडौंले पुर्‍याउन सक्दैनथ्यो । त्यसका लागि रजौटा, गढी, गौंडा, मौजा, इलाकाका सामन्तहरू तत्कालीन सत्ताका भरोसा थिए । उनीहरूलाई आदेश, निर्देश गरेर नेपालभर मान्छेहरू खोज्न पठाइएको थियो । ‘ठकुरी क्षेत्री गुरुङ मगर लिम्बू राई दुरा घले राना भाट नगर्काेटी समेत यी ११ जातको भर्ना गर्नू. जैसी सन्न्यासी भर्सक भर्ना नगर्नू. नपुग्ने भए सैकडा १० देखि बढी भर्ना नगराउनु’ भनिएको थियो ।

गढी गौंडाका सामन्तलाई, ‘रवाफ देखाउँदै गाउँ नपस्नु, फकाएर ल्याउनु’ भनिएको थियो । ‘सकभर लडाका जात खोज्नु, नभए लायकका ब्राह्मण भए नि हुन्छ, भात पकाउन भए नि काम लाग्छन्’ भनिएको थियो ।

लडाकाहरूले आफ्नो बन्दोबस्त आफैं गर्नुपथ्र्यो । ‘सदरमा आउने भएका जवानलाई १ जोर लुगा भोटो खाष्टो राडी खुकुरी जुत्ता समेत लिन लगाई पठाउनू, तयार पार्न नसक्ने जवानलाई मोरु ५/ पेस्की सापटी दिई तयार गर्न लगाउनू’ भन्ने आदेश जारी गरिएको थियो ।

लडाका जम्मा गर्ने मात्र होइन, कसरी तालिम दिने ? कसरी हिन्दुस्तान रमाना गर्ने ? हिन्दुस्तानका छाउनीमा रहँदा के गर्ने ? लडाकाका श्रीमती जारले लगे के गर्ने ? परिवारजन वा लडाका स्वयं मरेमा कसरी खबर गर्ने ? युद्धमा घाइते लडाकाहरूको बारेमा के हुने ? लडाका तथा उनका सहयोगीहरूको बाली तलब कसरी खुवाउने ? युद्ध सकिएपछि फर्केकाहरूको कसरी स्वागत गर्ने ? सबैका उत्तर पुस्तकमा क्रमबद्ध उल्लेख गरिएको छ ।

विडम्बना, नेपाली समाज विश्वयुद्धमा होमिए पनि यसको भयावह असर र अनुभवहरूको स्मृति हामीसँग रहेन । विश्वयुद्धपछि नेपाली समाजमा पेशाको ह्रास, युद्धबाट प्रशस्त पैसा भित्रिए पनि टिक्न नसकेका कथा, युवाहरू लडाइँमा जाँदा कृषिमा आएको ह्रास, बसाइँसराइ, घाइतेको अवस्था, पारिवारिक फुट, जारजारी, रक्सीको समस्या इत्यादिबारे सय वर्ष पुग्दासम्म खासै अध्ययन भएनन् । सरदार भीमबहादुर पाँडेले अलिकति लेखे पनि अरु खासै लेखिएनन् । अंग्रेजहरूका निम्ति ‘भाडाको सिपाही’ भएकाले त्यो युद्ध ‘नेपाली गौरव’ को विषय पनि बनाइएन ।

२००७ सालमा राणाशासन ढल्यो । २०१५ सालमा पञ्चायत आयो । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो । तर पनि पहिलो विश्वयुद्धको स्मृति गर्न हाम्रो बौद्धिक जमातमा आँट पलाएन । युद्धको दुःखको कथा विस्मृतिमा पुग्यो । तर यसका असरहरू नेपाली समाजमा चिरकालसम्म रही नै रहनेछन् । यो पुस्तकले नेपालीजनका पीडा पर्गेल्न नसके पनि तत्कालीन सरकारको नीति बुझ्न भने अवश्य मद्दत गर्नेछ ।

पुस्तक: प्रथम विश्वयुद्धको वर्णन 

लेखक: विद्वच्छिरोमणि हेमराज शर्मा

सम्पादक: दिनेशराज पन्त

प्रकाशक: विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठी

पृष्ठ: ४२२

मूल्य: रु.६००

प्रतिकृया दिनुहोस