२४ घण्टा भित्र डा. केसीको माग पुरा नभए कडा आन्दोलन
दुई हप्ता भन्दा बढी समयदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको माग २४ घण्टाभित्र पुरा गर्न नेपाल चिकित्सक संघले सरकारलाई अल्टिमेटम् दिएको छ । ११ मंसिरमा बसेको बैठकपछि संघले केसीले उठाएका माग पुरा नभए कडा आन्दोलन गर्ने निर्णय गरेको हो ।
अनसन बसेको १४ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरतापूर्वक नलिएका कारण चिकित्सक संघ कार्यकारिणी समिति, उपत्यकामा रहेका अस्पतालका निर्देशकहरु, संघका वरिष्ठ सदस्यहरु, विभिन्न स्पेशलिस्ट सोसाईटिजका अध्यक्षहरु, महासचिवहरु तथा नेशनल रेजिडेन्ट्स डाक्टर्स एसोसिएसन, रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडन्ट्स सोसाइटी, नेशनल डक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, डक्टर्स सोसाइटी अफ नेपाल, सोलिडारिटी अफ मेडिकल फ्याटर्निटी र सोलिडारिटी फर डा केसी अलायन्सका प्रतिनिधिहरु सम्मिलित आकस्मिक बैठकले यस्तो निश्कर्ष निकाले हो ।
बैठकपछि संघका समहासचिव डा. लोचन कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, प्रा डा. के.सी.को स्वास्थ्यमा नकारात्मक असर देखा पर्दै गएकोमा नेपाल चिकित्सक संघ गम्भिर चिन्ता प्रकट गर्दै २४ घण्टाभित्र नेपाल सरकारबाट वार्ता टोली गठन गरी उहाँले उठाएका जायज मागहरु सम्बोधन नभएको खण्डमा कडा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराइन्छ ।
डा. के.सी.जीवन रक्षाका लागि नेपाल सरकारले अग्रसरता लिई अनसन यथासक्य टुंग्याउन समेत चिकित्सक संघले जोडदार माग गरेको छ । अन्यथा, संघको आवहानमा गरिने आन्दोलनका कार्यक्रमहरुबाट उत्पन्न हुनसक्ने सम्पुर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने विज्ञप्तिमा उल्लेख छ ।