चीनमा रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु
पूर्वी चीनको जिआङसु प्रान्तमा एउटा रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यू भएको छ ।
विस्फोटमा परी घाइते भएका ९० भन्दा धेरैको उपचार भइरहेकोे उद्धारकार्यको प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे भएको विष्फोटपछि करिब ६ सय ४० व्यक्ति अस्पताल पुगेको थिए ।
उपचार गराइरहेका मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ ।
पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेको अधिकारीहरुले बताएका छन् ।
आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ ।
स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए ।
विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ।
चीनमा केही वर्षयता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक हाे । उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहने पाइन्छ ।
गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो ।
हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए ।
बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस /सिन्ह्वा