टिप्पणीशुक्रबार, ८ चैत्र , २०७५

येबाहरूको उत्पत्ति स्थल

हिमालखबर

- अर्जुनबाबु माबुहाङ

ताप्लेजुङको साम्तुङमा अवस्थित लिम्बू समुदायको पवित्र प्रतीक विशाल ढुंगाको संरक्षण र प्रचार हुन नसक्नुमा सांस्कृतिक विभेद पनि कारक हुनसक्छ। 

असाङलुङ पयङलुङ, मैवाखोला ताप्लेजुङ । तस्वीर: खगेन्द्र यक्सो

बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०२४/२५ सालताका तेह्रथुमको फेदाप र छथरमा याक्थुङ्बा लिम्बू जातिका देवारी (धामी–झाँक्री) हरू फेदाङ्बा, साम्बा, येबा/येमा, माङ्बाहरूको बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययन सन् १९७६ मा ‘स्पिरिट पजेसन इन द नेपाल हिमालयज्’ पुस्तकको रूपमा प्रकाशन भयो ।

उनीहरूले लिम्बू जातिका देवारीहरूमध्ये खासगरी येबा/येमालाई मध्य एशिया/पूर्वी साइबेरियाका आदिवासी तुङगुस (मानवशास्त्रीय भाषामा ‘समन’) हरूसँग तुलना गरेका छन् । येबा/येमाहरूको पहिरन, थान, जादु र मृतात्मालाई आङमा चढाएर बक्ने जस्ता नाटकीय विशेषताको आधारमा त्यस्तो तुलना गरिएको हो ।

पुस्तकमा उनीहरूले लेखेका छन्, “लिम्बू जातिमा प्रकृतिप्रति दृढ विश्वास छ । जीवित वस्तुहरूको सांसारिकता अलौकिकतासँग जोडिएको हुन्छ । विभिन्न देवीदेवता, भूतप्रेत, आत्माहरू पशुपक्षी, बोटबिरुवा, जंगल जस्ता जीवित र निर्जीव वस्तुहरूमा बस्छन् ।” 

यी मानवशास्त्रीले भने जस्तै लिम्बूहरूले जंगल, भीर, पहरा, ओडार, खोलानालालाई आफ्ना पितृहरूको पवित्र प्रतीक मान्छन् । यस्ता ठाउँमा उनीहरूको पितृको आत्माको बास (सातो) भएको मानिन्छ । आफ्ना पितृहरूको पुकार गरे मात्र प्राकृतिक विपत्तिबाट बच्न सकिने, कुलको संरक्षण हुने विश्वास लिम्बू जातिमा छ ।

लिम्बूहरूको यस्तै पवित्र प्रतीक ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साम्तुङमा अवस्थित छ, जुन ढुंगाको विशाल पहरो हो । करीब २५० मिटर अग्लो यसलाई असाङलुङ तेरेपलुङ/पयङलुङ भनिन्छ ।

धरान, तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफा हुँदै ताप्लेजुङको खुरुक्ला पुग्न एक दिन एक बिहान र त्यहाँबाट पैदल फुङथाङ, नेङ्वा हुँदै साम्तुङदेखि असाङलुङ फेदी पुग्न एक दिन लाग्छ ।

येबा/येमाले लगाउने पक्षीहरूको प्वाँख जडित कल्की (असाङ) जस्तो देखिएकोले यो पहरोलाई असाङलुङ/तेरेपलुङ भनिएको हो । असाङलुङ/तेरेपलुङलाई येबा साजारा लुम्दङ्वाको कल्की मानिन्छ ।

साजारा लुम्दङ्वा एभेङ थोप्राका पुर्खा हुन् । उहिले ताप्लेजुङको ओख्राबुमा साजारा लुम्दङ्वा नामको बालकको जन्म भयो । उनको उमेर बढेपछि उन्यूको पखेटा काखीमा लगाएर उड्न खोज्थे । छोराको यस्तो काम देखेपछि आमाले अशुभ ठानेर उन्युको पखेटा उखेलिदिइछिन् । लुम्दङ्वा अलि हुर्केपछि बेस्सरी काम्न थालेछन् ।

आमाले गाउँका पञ्चभलाद्मीहरूसँग सल्लाह माग्दा ‘यो बोक्साको सातो बोक्ने’ भनेर गाउँलेहरूले मार्ने षड्यन्त्र गरे । गाउँलेहरूले उनलाई ओख्राबुको सेन्नामा भीरमा खागो काढ्न भनेर डोरी, थुन्से सहित पठाएर लिस्नु लगाइदिए । लुम्दङ्वाले खागो (भीर मौरी) काढिसकेपछि गाउँलेहरूले लिस्नु निकालिदिए, डोरी पनि तानिदिए ।

लुम्दङ्वाले भीरको खोपीमा पसेर ज्यान बचाएछन् । तर, भीरबाट निकाल्न लुम्दङ्वाले आफ्ना गुरु बच्छिउँ (खेबोम अर्थात् अरिङ्गालभन्दा केही ठूलो कीरा), बेसारे चील (काङ्मु) सँग मद्दत माग्दा निकाल्न सकेनन् । अन्ततः ढेडु (खबु) गुरुराजले ख्यातलुङ (साँध लाउने ढुंगो) मा राखेर निकाले । त्यसपछि उनी ‘येबा साजारा लुम्दङ्वा’ नामले चिनिएछन् ।

तर गाउँलेले उनलाई बोक्सो भन्दै हिरिक हिरिक हुने गरी कुटेर साङलासिङ (मालतेको रूख) को डुँडमा हालेर हेल्लुङवाबाट मैवाखोलामा बगाइदिए । लुम्दङ्वाको मृत्युपछि मैवाखोलाबाट बगाइएका उनको कल्की आठराईको सेन्दाङ मुनि तमोरमा बल्छी खेल्ने पोमुले भेटेछन् । पोमुले कल्की छुनासाथै उनी येबा चढेर काम्न थालेछन् । आठराईको फूलबारीमा मान्छे खाने विशाल खजुरोलाई चट्याङ पारेर मारेपछि उनी पनि ‘क्षेतक्षेती येबा पोमु केत्छाङ’ नामले प्रख्यात भए ।

उतिबेला नुन लिन जाने बाटो तमोर खोलाको छिरुवानी (लुङइक्वा) मा काप्पोलुङ र काप्मोलुङले मान्छे खान्थे । पोमु केत्छाङलाई झिकाइएपछि उनी कल्की (तेरेप असाङ), दुम्सीको काँड (खामलुङ अइबुक्मा), ओम्लारी पेत्तारी सुक्वा (सुनाखरीले बुनेका जाबे क्रस झोला), थाल (सामलिङ चेत्थ्या), येसामा (येबाको पहिरन) सहित छिरुवानी पुगेछन् । केत्छाङलाई थाल बजाउँदै नाच्दै आएको देखेपछि काप्पोलुङ तमोरको पानीमुनि बल्ने ढुंगा (अभोलुङ) बनेर लुकेछन् ।

केत्छाङले दुम्सीको काँडले काप्पोलुङलाई प्रहार गरेको केही बेरपछि तमोर खोला रक्ताम्य भएछ । उनले काप्पोलुङको हत्या गरेपछि गाउँलेहरूले खुशी भएर प्रशस्तै अन्न/कपडा (याभत्चाः) दिएछन् । घर फर्कने क्रममा लिङ्खिमको मित्लुङमा पुगेपछि केत्छाङको जीउ चिलाएछ र कपडा खोलेर ढुंगोमा घाम ताप्दै जुम्रा मार्न थालेछन् ।

पारिको सावादेनबाट काप्पोलुङकी श्रीमती काप्मोलुङले माउसुलीको काँड (नल्लेक तोङ) ले केत्छाङको छातीमा हानिछन् । काँड झिक्दा चुँडिन थालेपछि केत्छाङले रिसले थालले काटेर काप्मोलुङको पनि हत्या गरिदिए । केत्छाङको थाल ढुंगोमा ठोकिंदा आगो बल्यो र त्यो ठाउँको नाम नै मित्लुङ रहन गयो । आगो लागेको ठाउँ मिदि ? लुङलाई हाल मित्लुङ भनिन्छ ।

स्व. येमानी लामधुङधो साइँली, ताप्लेजुङ । तस्वीर: अर्जुनबाबु माबुहाङ

केत्छाङ पीडाले छटपटाएर आफ्नो चीलगुरु जगाएर उड्ने क्रममा ताप्लेजुङको फावाखोलामा बजारिंदा उनको प्राण गयो । उनको कंकाल फावाखोलेहरूले भेटेपछि त्यहाँ पनि फावाखोले येबाहरूमा क्षेतक्षेती उत्रिए । मैवाखोलेहरूले येबा बगाएको र फावाखोलेले भेटेकोले मैवाखोले भन्दा फावाखोले येबाहरू नै क्षेतक्षेती भएको मानिन्छ । 

येबा सम्बन्धी अर्को मुन्धुम अनुसार उहिले ताप्लेजुङ इखाबुको पशुपक्षीको उत्पत्ति स्थलमा गोलसिमल चरा (फाङबु ?मा) थियो । पखेटा र पुच्छर विनाको त्यो चराले रूखको पात प्वाँख जस्तै जडेर उड्ने कोशिश गर्दा सकेन । अन्ततः साप्परिमेम्परि बाँस (मालिङ्गो भन्दा पनि सानो प्रजातिको बाँस) को पात प्वाँख र पुच्छर बनाउँदा भने उड्न सक्यो ।

शिकारी पुजियो साजियोसाम्बाले चरा मारी उसको प्वाँख लगाएर उड्न खोज्दा सकेन । सोधखोजका लागि जाँदा ऊ लिम्बू जातिको पहिलो पुर्खा सोदुङ लेप्मुहाङबाकहाँ पुग्दा उनले ताप्लेजुङ जिल्लाको इखाबु र लेलेपको शिर मुरिङला खारिङला/थेरिङला डाँडामा दुम्सीको काँड (खाम्लुङ अइ बुक्मा) र मैनाचरीको प्वाँख (लिगे वदो बुक्मा) झारिदिए ।

यसपछि शिकारी साजियोसाम्बाले येसामा लगाएर आफ्नो नयाँ नाम ‘सेभिया कुभिया या’ राखे, शक्तिशाली येबा बनेर सावा येहाङ गाउँमा वायु, प्रेतात्मा आदिलाई तह लगाएर सावा येहाङहरूको संरक्षण गर्न थाले ।

लिम्बू समाजमा येबा/येमाहरूको संरक्षकको भूमिका छ । उनीहरूको विशिष्ट गुरु येमानी सामेधुङमा येप्मेधुङमालाई मानिन्छ । गुरु येमानी भएकोले धेरैजसो येमानीहरू मात्र येमा निस्किन (तिम्सिङमा) खोज्ने र येमानीले मात्र जजमानी (याःभच्चा) गरेकाले ताप्लेजुङ थेचम्बुको येमासेन डाँडोमा एक येमानीलाई मार्दै जजमानीमा तिनको एकाधिकार तोडियो ।

वास्तवमा विदेशीहरूले लिम्बू जातिका देवारीहरूको तस्वीर खिचे पनि उनीहरूले के फलाक्छन् भन्ने अध्ययन गर्न सकेको पाइँदैन । येबा/येमाहरूले हजारौं वर्षअघिको सभ्यताबारे मुन्धुम मार्फत चर्चा गरिरहेका हुन्छन् । मुन्धुममा वर्णित स्थान र पात्रहरूले आदिम सामाजिक व्यवस्था प्रतिविम्बित गर्छन् । यस्ता ठाउँहरूको संरक्षण र पर्यटकीय एवं सांस्कृतिक गन्तव्यको रूपमा विकास गरी प्रचारप्रसार गर्न जरूरी छ ।

धार्मिक/सांस्कृतिक स्थल भन्ने बित्तिकै राज्यले हिन्दू मठमन्दिर र बौद्ध गुम्बाहरू मात्र हुन् भन्ने भ्रम बोकेको देखिन्छ । अहिले पूर्वको क्षेतक्षेती देवी पाथीभरा मुन्धुम अनुसार सेमुक्ति मुक्तिगोक (मुक्कुमलुङ पनि भन्ने गरिएको) लिम्बूहरूको मनकामना पूरा गर्ने स्थल हो ।

सेमुक्ति मुक्तिगोकले हिन्दू नाम ‘पाथीभरा’ पाएपछि मात्र चर्चा पायो । आफ्नो आस्था र संस्कृतिको प्रचारप्रसार गर्न नसक्नुमा लिम्बू समुदायकै कमजोरी हो वा अन्य जाति/समुदायलाई मात्रै प्राथमिकता दिंदा ओझेलमा परेको हो भन्नेबारे बहस गरेर अगाडि बढौं ।

मुन्धुमविद् माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगरप्रमुख हुन् । 

प्रतिकृया दिनुहोस