टिप्पणीशनिबार, ९ चैत्र , २०७५

टोपीको सांस्कृतिक महिमा

हिमालखबर

- फुर्पा तामाङ

हिमाली क्षेत्रका तामाङ समुदायले धार्मिक अनुष्ठान, विवाह, मृत्यु संस्कार आदिमा लगाउने विविध रूप–रङका टोपी लोप हुँदै गएका छन्। 

शिरको शोभा बढाउने टोपी देश र भूगोल अनुसार फरक ढाँचा र बान्कीका हुन्छन् । यसले स्थान, जाति, समुदाय, धर्म र संस्कृतिको पहिचान झल्काउँछ । टोपीको प्रयोग विविध कारणले गरिए पनि बहुप्रचलनमा सामान्यतया जाडो र गर्मीबाट जोगिन लगाउने गरिन्छ ।

हिमाली क्षेत्रमा बस्ने तामाङ समुदायमा भने टोपीको महत्व यतिमा सीमित छैन । यो समुदायमा मानिसका साथै भगवानको शिरमा पनि टोपी सजिएको हुन्छ । बौद्ध धर्म अनुसार भगवानलाई लगाइने टोपीलाई ‘ल्हायी उश्या’ भनिन्छ । भगवानको उश्या (टोपी) विभिन्न आकार र डिजाइनका हुन्छन् ।

तामाङ समुदायमा मृत्युपछि शवलाई भगवानको थाङ्का चित्र कोरिएको धार्मिक टोपी ‘ग्यावा ह्रिङ्अ’ लगाइदिइन्छ । यही टोपी मृत्यु संस्कार (घेवा) मा मृतकको प्रतीक (गूर) को रूपमा लगाइन्छ । बाबु वा आमाको मृत्युपछि घेवा संस्कार नसकिंदासम्म छोराछोरीले टोपी लगाउँदैनन् ।

यो समुदायमा भगवानको शिरमा फेटा (थ्वे) पनि लगाएको देख्न सकिन्छ । लामाले गुफामा बसेर ज्ञान आर्जन गर्दा तपस्याको चरण अनुसार फरक डिजाइन र आकारका टोपी लगाउँछन् । ‘लमे उश्या’ भनिने टोपी धार्मिक अनुष्ठानहरूमा लगाइन्छ । लमे टोपी लगाउँदा फलानो लामा रहेछ भन्ने चिनारी दिने भएकाले टोपीसँग सामाजिक मान्यता पनि गाँसिएको हुन्छ ।

तामाङ समुदायमा लामा र बोन्पो (झाँक्री) को महत्व र भूमिका समान हुन्छ । बोन्पोले धार्मिक क्रियाकलापमा शिरमा फेटा (थ्वे) लगाउनुपर्छ । शरीर ढाक्ने बोन्पो पोशाक लगाउँदा भने सेतो फेटा (उथ्वे कर्पो), रातो फेटा (उथ्वे मार्पु), हरियो फेटा (उथ्वे ज्याङ्कु), पहेंलो फेटा (उथ्वे सेर्पु), नीलो फेटा (उथ्वे ङोम्बो) गरी पाँच थरी रङको ‘थ्वे’ लगाउनुपर्छ ।

छोटो समयको पूजाको लागि सेतो रङको ‘थ्वे’ लगाए पुग्छ । विशेषगरी ढ्याङ्ग्रो बजाएर पूजा गर्ने बोन्पोले ‘थ्वे’ अनिवार्य लगाउनुपर्छ । कुलघरको देवता (ल्हा) को पूजा गर्ने ल्हाप्ताबा वा ल्हाबेन (बोन्पो/झाँक्री) ले सेतो फेटा लगाउनु अनिवार्य हुन्छ ।

रसुवाका तामाङ जातिमा प्रचलित यी विविध प्रयोजनका टोपी पछिल्लो समय लोप हुँदै गएका छन् । यसको कारण हो, प्रविधिको विकासले पारेको प्रभाव र हस्तक्षेपकारी विश्व बजार ।

उहिले तामाङ राजा–रानी (ग्याल्पो–ग्याल्मो) ले ‘त्वो’ अर्थात् श्रीपेच लगाउँथे । हीरा, मोती, सुन, चाँदी, नम्सी (बहुमूल्य माला), यूँ (हरियो पत्थर), बीरु (ज्युरु/मुँगा) ले बनेको श्रीपेचमा मयूर र डाँफेका प्वाँख जडिएको हुन्थ्यो रे ! उहिले मुखिया/मुलम्हीले ‘बुरे सुक्रे’ नामको कपडाको फेटा लगाएर गाउँले सभा (ह्युलछोक) मा बसेर न्याय दिन्थे ।

रसुवा जिल्लाका तामाङ जातिभित्र विवाहमा बेहुलाले कजेकर्पो (सेतो फेटा) लगाउनुपर्छ । आजकल भने बेहुला र बेहुली दुवैले छिरिङ किङ्प टोपी लगाउँछन् । नाम एउटै भए पनि टोपीको बनोट र डिजाइनमा पुरुष र महिलाको छुट्याउन सकिन्छ ।

नाच्ने बेला पुरुषले ‘सेच्र्येन बेत्तो’ नामको पहेंलो रङको टोपी लगाउनुपर्छ । महिलाले भने ‘किङ्कप’ टोपी लगाउँछन् । विवाहमा वा नाचगान गर्दा लगाउने टोपी अरू बेला लगाउन मिल्दैन । अरू बेला पुरुष र महिला दुवैले भेडाको ऊनले बुनेको ‘नम्पु’ लगाउँछन् ।

जिल्लाको पूर्वी गाउँहरू (श्यार ह्युल) मा पुरुषहरूले कालो भादगाउँले टोपी लगाउँछन्, जसलाई स्थानीय तामाङ भाषामा ‘ग्रुङ’ भनिन्छ । महिलाहरू ऊनी रुमाल ओढ्छन् । केरुङ भोटेकोशी पारिका पश्चिमी गाउँहरू (न्हुप ह्युल) का पुरुष र महिलाहरू भेंडाको ऊनले बुनेको ‘श्यादे’ लगाउँछन् । पुरुषले लगाउने श्यादे सादा भए पनि महिलाको टोपीमा बुट्टा हुन्छ ।

रसुवाका तामाङ जातिमा प्रचलित यी विविध प्रयोजनका टोपी पछिल्लो समय लोप हुँदै गएका छन् । यसको कारण हो, प्रविधिको विकासले पारेको प्रभाव र हस्तक्षेपकारी विश्व बजार । अर्कातिर, जीविकोपार्जनको नयाँ शैली र पुख्र्यौली पेशा भेडापालन घट्दै गएकाले ऊनी टोपी बुन्ने सीप हराउँदै गएको छ ।

प्रतिकृया दिनुहोस