तनहुँमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारबाही
तनहुँमा ८ महिनामा विद्युत् चुहावट गर्ने ७८ जना कारबाहीमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो ।
केन्द्रका प्रमुख शिव गोशलीले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनामा कारवाहीस्वरुप रु तीन लाख ४७ हजार १४९ असुल गरिएको जानकारी दिए ।
केन्द्रले चालू आर्थिक वर्षमा २७४ मिटर परिवर्तन, ७०० ग्राहकको मिटर रिसिलिङ तथा करीब एक हजार ग्राहकको मिटर छड्के निरीक्षण गरेको गोशलीले बताए ।
ठूला औद्योगिकलगायत ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा करीब रु ३९ लाख २० हजार ३९२ बराबरको छुट युनिट रकम बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ बराबरको छुट युनिट रकम स्वीकृत भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुली भइरहेको छ ।
उनका अनुसार विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका मिटर परिवर्तन गर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ कार्य गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने तथा ट्रान्सफर्मर थप्ने, तार थप्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्य भइरहेको छ ।
तनहुँमा पछिल्लो वर्ष विद्युत चुहावट उल्लेख्य रुपमा घटेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७४र७५ को समग्र विद्युत् चुहावट १६।६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको माघसम्म विद्युत् चुहावट ९।१३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ ।