भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
रुपैडिहामा रोकिका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् ।
भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै दुई दिनसम्म सीमामै रोकिएका फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रकहरु पनि नेपाल आएका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए ।
रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ ।
तर भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको केसीको भनाइ छ ।
यसपटक भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएको भारतीय भन्सारले जनाएको छ ।
नेपाल आयल निगमले भारतको गोन्डाबाट ल्याएको डिजेल र पेट्रोल, इलहावादबाट हवाईइन्धन र मधुराबाट ल्याएको एलपी ग्यास रुपैडिहा नाकाहुँदै भित्र्याउने गर्छ ।