साफ महिला फूटबल : उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
बिराटनगरमा जारी पाँचौँ साफ महिला फूटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।
शहिद रंगशालामा दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् ।
फाइनलको पूर्वसन्ध्यामा ७ चैत्रमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आ-आफ्नो टोलीले जित्ने बताए ।
समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए ।
नेपाली महिला फूटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।
भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताए ।
उनले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी भने छाडेनन् ।
भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिना तनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताए।
समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।