पत्रकार पुष्करलाल श्रेष्ठको स्वास्थ्य अवस्था जटिल
कामना न्युज पब्लिकेसनद्वारा प्रकाशित नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
कामना न्युज पब्लिकेशन, नेपाल समाचारपत्र दैनिकका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार श्रेष्ठको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको जनाइएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार करिब चार महिनाअघि राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए।
स्वास्थ्य स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरूले उनलाई Guillain-Barre syndrome (GBS) Virus जीबीएस भाइरसको संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो।
‘भारतको मेदान्त अस्पतालमा करिब दुई महिना उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो’, विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायत विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायत विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पताल पुर्याएर सघन उपचार कक्षमा उपचार हुँदै आएको छ।
उनको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उनको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ ।