मेरो सफलतामा शेन वार्नको सुझाव अहम् : सन्दीप
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाका महान बलर शेर्न वार्नको बलिङ सुझावले आफ्नो प्रदर्शनमा धेरै सहयोग गरेको बताएका छन्।
भारतीय दैनिक ‘हिन्दुस्तान टाइम्स’सँग कुरा गर्दै सन्दीपले शेर्न वार्न आफ्नो आदर्श रहेको र उनले आफ्नो खेल हेरेर थुप्रै सुझाव दिएको पनि बताए।
“सुझावहरूमध्ये पनि विशेषचाहिँ ‘ठूलो र उदार हृदय लिएर बलिङ गर्नुपर्छ’ भन्ने हो, जसलाई म पछ्याउने प्रयास गरिरहेको छु”, लेग स्पिनर सन्दीपले भने ।
सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी हुन नयाँ दिल्लीमा छन् । आईपीएलमा उनी दिल्ली क्यापिटल्स्का तर्फबाट खेलिरहेका छन् ।
आईपीएलमा सन्दीपको लगातार दोस्रो सहभागिता हो । अघिल्लो वर्ष पनि उनले दिल्लीबाटै खेलेर सबैंको मन जितेका थिए ।
बुधबार टिमको मैत्रीपूर्ण खेलका लागि फिरोज शाह कोट्ला रंगशालामा आएका सन्दीपले आईपीएलकै माध्यमबाट गतवर्ष आफूले शेन वार्नसँग भेटेको पनि बताए ।
पत्रिकाले ‘१८ वर्षको उमेरमै अष्ट्रेलियाको बिग ब्यास लिग सिजनमा प्रभाव जमाएका नेपालका युवा खेलाडी’ भन्दैं सन्दीपको प्रशंसा पनि गरेको छ। पत्रिकासँग सन्दीपले हरेक कुरालाई सामान्य रूपमा लिने र धेरै मिहिनेत गर्ने स्वभावकै कारण आफूले सफलता पाएको बताएका छन् ।
सन्दीपले अघिल्लो आईपीएलबाट आफूले धेरै कुरा सिकेको र यसले थप आत्मविश्वासी बनाएको पनि बताएका छन् ।
“यो यस्तो मञ्च हो, जहाँ विश्वका महान र प्रख्यात खेलाडीसँग संगत गर्न र आफूलाई चिनाउन सकिन्छ”, सन्दीपले भनेका छन्, “त्यसैले पनि आईपीएल मेरा लागि खास छ।”
टेष्ट प्रतियोगिता नखेल्ने नेपालजस्तो देशबाट आईपीएलमा सहभागी हुन पाउनु आफैंमा ठूलो उपलब्धि भएको बताउँदै स्वदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न नपाउँदा बेलाबेला अप्ठेरो महशुस गर्ने पनि बताए ।
सन्दीपले दिल्ली क्यापिटल्स्का तर्फबाट स्पिन बलिङ प्रशिक्षक नियुक्त वेष्ट इन्डिजका सामुएल बद्रीको मार्गदर्शनले आफूलाई निखार्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।
दिल्लीले पहिलो खेल आइतबार मुम्बईस्थित वांखडे रंगशालामा मुम्बई इन्डियन्सविरुद्ध खेल्दैछ ।