एकवर्षभित्र मुलुक पूर्णरुपमा लोडसेडिङ्मुक्तः उर्जामन्त्री
उर्जा मन्त्री जनार्दन शर्माले एक वर्षभित्र देशलाई पूर्णरुपमा लोडसेडिङमुक्त बनाउने दाबी गरेका छन् ।
११ मंसीरमा नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा उनले मुलुकलाई विद्युतमा सम्पूर्ण किसिमले आत्मनिर्भर हुन ४–५ वर्ष लाग्ने तर, लोडसेडिङ्गमुक्त एकवर्ष भित्रै गर्ने बताएका हुन् ।
पश्चिमका सेती, तिला कर्णाली, नलसिंहगाड, उत्तरगंगा, नौमुरे लगायतका जलविद्युतका कामहरुको प्रक्रिया अघि बढिसकेको भन्दै मन्त्री शर्माले राज्यको साधनस्रोत र कर्मचारीलाई सही व्यवस्थापन गरे लोडसेडिङ्ग अन्त्य गर्न कुनै गाह्रो नभएको धारणा राखे ।
राजधानीलाई लोडसेडिङ्गमुक्त गरेर लोकप्रिय बनेका मन्त्री शर्माले लोडसेडिङ्गमुक्त गर्न जनताको सहयोग अपरिहार्य रहेको जिकिर गरे ।
‘संविधान कार्यान्वयन गर्न संशोधन’
माओवादी केन्द्रका नेता समेत रहेका उर्जामन्त्री शर्माले संविधान कार्यान्वयनका निम्ति संशोधन आवश्यक रहेको बताए ।
उनले प्रदेश नंं ५ मा हाल रहेका पहाडी जिल्लालाई टुक्र्याउँदा विखण्डन आउँछ भन्नु मधेश तराईका जनतालाई विश्वास नगर्नु भएको दाबी गरे ।
केशव राना, बाँके