भारतमा निर्वाचनको मुखमा ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर
भारतमा लोकसभा निर्वाचन नजिक आइरहेकै बेला प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बलिउड चलचित्र ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार बिहान सार्वजनिक चलचित्रको ट्रेलरमा अभिनेता विवेक ओबेराँय मोदीको भूमिकामा देखिन्छन् । ओबेराँय पछिल्लोसमय दुईवर्षअघि ‘बैंक चोर’ चलचित्रमा देखिएका थिए ।
कतिपय विश्लेषकहरुले यो चलचित्रलाई मोदी प्रचार सामग्रीको रुपमा पनि लिएका छन् । ट्रेलरमा मोदीको भूमिकामा ओबेराँय अलि नमिल्दाजस्ता देखिएका छन् ।
अप्रिल ५ मा प्रदर्शनमा आउने भनिएको ‘पीएम नरेन्द्र मोदी’मा मोदीको बाल्यकाल, गुजरातका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा र संघर्ष समेटिएको दावी गरिएको छ ।
उमंग कुमार निर्देशित यो चलचित्रका निर्मातामा विवेकका पिता अभिनेता सुरेश ओबेराँय पनि छन् ।
चुनाव मुखैमा रहेका बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले मोदी र उनको भारतीय जनता पार्टीलाई फाइदा पुर्याउने अनुमान गरिएको छ ।
यसअघि यसैवर्ष कंग्रेसका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित ‘एन् एक्सिडेन्टल प्राइम मिनिस्टर’ चलचित्र प्रदर्शनमा आएको थियो।
विवादित यो चलचित्र सञ्जय बरुको पुस्तकमा आधारित थियो । -एजेन्सी