विद्युतमा जनताको लगानी खुल्याे, प्रधानमन्त्रीद्वारा १० हजार कित्ता शेयर आवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयरका लागि आवेदन गरी आज विद्युतमा जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिए ।
उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए ।
यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ ।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतकाे शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।
शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जनताका साना साना पूँजी सङ्कलन गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताए ।
उनले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए ।
“नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ”, उनले भने ।
प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे ।