मोर्चाले कृत्रिम समस्या खडा गरेको छः झलनाथ खनाल
एमालेका बरिष्ठ नेता झलनाथ खनालले मधेशी मोर्चाले मधेशमा कृत्रिम समस्या खडा गरेको आरोप लगाएका छन् ।
आज, ११ मंसीरमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले मधेशका आम जनतामा नयाँ संविधानबारे कुनै समस्या नरहे पनि केही नेताहरुले कृत्रिम समस्या खडा गरेको बताए ।
मधेशी मोर्चाले अहिलेसम्म संविधान संसोधनका लागि कुनै ठोस माग अघि सार्न नसकेको बताए ।
“सरकारले ल्याउन लागेको संविधान संसोधन प्रस्ताव हामीलाई मान्य छैन, समस्या छ भन्ने मधेशी मोर्चाले त अहिलेसम्म प्रस्ताव ल्याएकै छैन् ।” नेता खनालले भने, “त्यही २६ बुँदे माग राखेको हो । त्यसको हामी स्वागत गर्छौ, तर ठोस प्रस्ताव आउन सकेको छैन ।”
उनले प्रस्ताव ल्याउँदा त्यसको औचित्य र आवश्यकता समेत पुष्टी गर्नु पर्ने बताए । “एमाले औचित्यपूर्ण संविधान संशोधनको पक्षमा छ । अहिले संविधान संशोधन गर्ने होईन कार्यान्वयन गर्ने बेला हो,” उनले भने ।
सदियौंदेखि पहाड र मधेशको सम्बन्ध अटुट रहेको बताउँदै उनले पहाड र मधेसलाई अलग गर्ने कुरा मान्य नहुने बताए । उनले मुख्य तीन पार्टी एक ठाउँमा नउभिंदासम्म संविधान कार्यान्वयन नहुने पनि बताए ।
नेता खनालले देशको एकता, अखण्डता र सार्वभौमसत्ता विरुद्ध बोल्न कसैलाई छुट नभएकोमा जोड दिएका थिए ।
सम्मेलनमा एमाले प्रदेश नं २ का सह–संयोजक एवं सांसद नागेन्द्र चौधरीले तराई–मधेशका सांसदहरु पार्टी निर्णय विरुद्ध गएको भनेर चलाईएको हल्ला निराधार रहेको बताएका थिए ।
यसअघि आजै बिहान नेता खनालले भारतीय योग गुरु रामदेवले सञ्चालन गरेको योग शिविरको तेस्रो दिनको सत्र उद्घाटन गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज