हवल्दारले कुटे चालक, तीनजना घाइते
पाँचथरको फिदिम नगरपालिकामा प्रहरी हवल्दार टीका बस्नेतले तीनजनालाई बिनाकारण कुटेका छन् ।
चाउचाउ बोक्ने गाडीले नरोकेको भन्दै चालक र सहचालकलाई कुटेका बस्नेतले कुटिरहेको भिडियो खिच्ने व्यक्तिलाई पनि कुटेका हुन् ।
नाँगिन स्थित प्रहरी बिटका हवल्दार बस्नेतले चाउचाउ सप्लाई गर्दै आएको कञ्चनजंघा इन्टरप्राइजेजको मे१च ४५५७ नम्बरको गाडी रोकेका थिए ।
चालकले सामान बोक्ने गाडी भएकाले मान्छे बोक्ने ठाउँ नभएको भन्दै गाडी नरोकेपछि मोटरसाइकलमा पुगेका बस्नेतले बाटो छेकेर चालक र सहचालकलाई कुटेका थिए ।
चालक फिदिम ४ बस्ने भीमबहादुर विश्वकर्मा, सहचालक जीवन लोहारलाई कुटपिट गरिरहेको भिडियो खिच्दा फिदिम १ का दीपक फुयाँललाई पनि बस्नेतले कुटेका छन् ।
हवल्दार बस्नेतले घुँडा टेक्न लगाएर ‘सायद विप्लव समूहको कार्यकर्ता हुनुपर्छ’ भन्दै तिघ्रामा भाटा हानेको पीडित फुयाँलको भनाइ छ ।
घटनापछि संलग्न हवल्दार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय फिदिम बोलाएर छानबिन भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । ‘घटनाको छानबिन भइरहेको छ,’ कुँवरले भने, ‘हवल्दारको कमजोरी सावित भए कारबाही गर्छु ।’
कञ्चनजंघा इन्टरप्राइजेजका प्रोपाइटर नवराज घिमिरेले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
लक्ष्मी गौतम/पाँचथर