सामुदायिक विद्यालयमा निःशुल्क पढाउन ६८ प्रज्ञार्थी छनोट
सामुदायिक विद्यालयमा निःशुल्क रुपमा पढाउनका लागि टिच फर नेपालले ६८ प्रज्ञार्थी छनोट गरेको छ ।
शैक्षिक समानता र गुणस्तरीय शिक्षाका लागि यो वर्ष एक हजार ६०० भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरिएको हो ।
उनीहरुले आउँदो शैक्षिकसत्रबाट सात जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासस्वरुप निःशुल्क अध्यापन गराउनेछन् ।
टिच फर नेपाल सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो ।
संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवा छनोट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ ।
४५ दिने तालीममा उनीहरुलाई कक्षाकोठा भित्रका सिकाइ जस्तै कक्षा व्यवस्थापन, सिकाइ विधिलगायतका विषयमा जानकारी दिइने संस्थाका तालीम निर्देशक स्वस्तिका श्रेष्ठले बताइन् ।
आगामी शैक्षिक सत्रदेखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले सात जिल्लाका ६७ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने छन् ।
गत शैक्षिक सत्रसम्म छ जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लमजुङमा कार्यरत यो वर्ष तनहुँमा पनि सो अभियान आरम्भ गर्ने भएको छ ।
योसँगै टिच फर नेपालले सात जिल्लाका ६७ विद्यालयका १५ हजार भन्दा बढी विद्यार्थीलाई पढाउने जनाएको छ ।