नेपाल चौथोपटक साफ च्याम्पियनसीपको फाइनलमा
नेपाल चौथोपटक साफ महिला च्याम्पिनसीपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार विराटनगरस्थित शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गर्यो ।
नेपालले ४२औं मिनेटमा पुनम जर्घामगरको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने अन्तिम १७ मिनेटमा भएको थियो ।
नेपालका लागि दोस्रो गोल ७३ औं मिनेटमा अनिता बस्नेत गरिन् । तेस्रो गोल ८२औं मिनेटमा सावित्रा भण्डारी र चौथों तथा ८६ औं मिनेटमा रेखा पौडेलले चौथो तथा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरिन्।
जितमा विश्वस्त देखिएको नेपालले पाएका थुप्रै मौका सदुपयोग गर्न सकेन । खेलाडी मैदानमा व्यस्त देखिए पनि ‘फिनिसिङ’मा समस्या देखिएको थियो।
नेपालले आजै दिउँसो ३ बजे भारत र बाङ्लादेशबीच हुने दोस्रो सेमिफाइनलको खेलको विजेतासँग प्रतियोगिताको फाइनल खेल्नेछ ।
नेपालले फाइनलमा भारतलाई प्रतिस्पर्धी पाउने सम्भावना बलियो छ । फाइनलमा चिरपरिचित विपक्षीलाई हराउन भने नेपालले श्रीलंकासँगको खेलमा भन्दा थुप्रै सूधार गर्नुपर्नेछ । जारी प्रतियोगिताको पहिलो चरणको खेलमा भारतले श्रीलंकालाई ५–०ले हराएको थियो ।
सन् २०१० देखि भएको साफ महिला च्याम्पिनसीपमा नेपाल पहिलो, दोस्रो र तेस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ । चौथो साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग ३–१ले पराजित भएको थियो ।
प्रतियोगिताको सबै संस्करणको उपाधि भारतले जितेको छ । तर, गत महीना भारतमा भएको हिरो गोल्डकपमा नेपाली टोलीले पहिलोपटक भारतलाई पराजित गरेको थियो । हरि खडकाको प्रशिक्षणमा रहेको नेपाली टोली पहिलोपटक साफ च्याम्पियनको उपाधि उचाल्ने दाउमा छ ।