सांसदको प्रश्नः पूर्वमन्त्रीभन्दा हाम्रो मर्यादाक्रम किन तल ?
प्रतिनिधिसभाका सदस्य झपट रावलले सांसदको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखिएकोमा आपत्ति प्रकट गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वा्चित सांसदको अपमान गरेको बताए । उनले मर्यादाक्रम तत्काल सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण पनि गरे ।
“मैलै प्रतिनिधिसभाको निर्वाचनमा एक पूर्वमन्त्रीलाई पराजित गरे, जनताले मलाई जिताए, तर जिल्लाको कार्यक्रममा जाँदा जनताले पराजित गरेका पूर्वमन्त्रीलाई मर्यादामा माथि राखिन्छ, मर्यादाक्रम निर्धारण गर्दा किन यो विषय सम्बोधन गरिएन ?”, रावलले प्रश्न गरे ।
कैलाली क्षेत्र नं २ का सांसद रावलले प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री मोहनसिंह राठौरलाई पराजित गरेका हुन् ।
बैठकमा सांसदहरुले उपसभामुख तथा अन्य केही विशिष्ट व्यक्तिको मर्यादाक्रम नमिलेको भन्दै गृहमन्त्रीलाई जवाफ दिन आग्रह गरेका थिए ।
सांसदहरुको जिज्ञासापछि गृहमन्त्री थापाले सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै राखिने आश्वासन दिए ।
उनले मन्त्रिपरिषद्को बैठकमा मर्यादाक्रमका विषयमा छलफल जारी रहेको र केही समयभित्रै राजपत्रमा पुनः प्रकाशित हुने पनि बताए । थापाले भने, “नयाँ मर्यादाक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको छ ।”
सरकारले केही समय पहिले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो ।