मेरो उत्तराधिकारी भारतमै भेटिन सक्छः दलाई लामा
तिब्बती बौद्धमार्गीका अध्यात्मिक नेता दलाई लामाले आफ्नो उत्तराधिकारी भारतमै भेटिनसक्ने सम्भावना व्यक्त गरेका छन् ।
तर, उनले आफ्नो मृत्युपछि चीनले पनि अर्को दलाई लामा भेटिएको दावी गर्ने पनि बताए । “तर, चीनको त्यो दावीलाई कसैले सत्य मान्ने छैनन, सम्मान गर्ने छैनन्”, उनले भने ।
तिब्बतमा निर्वासित भएको ६ दशक पुगेको भोलिपल्ट सोमबार समाचार संस्था 'रोयटर्स'सँग कुरा गर्दै लामाले यस्तो सम्भावना देखेका हुन् । तिब्बती बौद्ध परम्परामा अहिलेका दलाई लामाको मृत्युपश्चात उनले पुर्नजन्म लिने र त्यही बालकलाई अर्को दलाई लामा घोषणा गरिने चलन छ ।
सन् १९३३ मा १३औं दलाई लामा थुप्तेन ग्यात्सोको निधन भएपछि दुई वर्षका ल्हामो थोन्डुपलाई अहिलेको दलाई लामाको उत्तराधिकारी घोषित गरिएको थियो ।
८३ वर्षमा हिडिरहेका १४औं दलाई लामा ६० वर्ष यता भारत हिमाचल प्रदेशस्थित धर्मशालामा बसिरहेका छन् । धर्मशालामा झण्डै एक लाख तिब्बती बौद्धमार्गी बस्छन् ।
सन् १९५९ को मार्च १०–१७ सम्म चलेको चिनियाँ सैनिकसँगको असफल विद्रोहपछि तत्कालिन तिब्बतका राजनीतिक प्रमुखसमेत रहेका लामा आफ्ना परिवार र अनुयायीसहित भागेर भारत आइपुगेका थिए ।
त्यसयता लामाले तिब्बती बौद्धमार्गीका खोसिएको भूमि, अधिकार र धार्मिक कर्मबारे विश्वलाई बुझाउने प्रयत्न गरिरहेका छन् ।
नोबेल शान्ति पुरस्कार पाएका लामालाई चीनले भने ‘खतरनाक विभाजनकारी’ भन्दै आएको छ ।
कुराकानीका क्रममा लामाले चीनलाई अहिले आफ्नो भन्दा पनि नयाँ दलाई लामाको चिन्ता भएको बताए । “म पछि चीनले आफ्नै दलाई लामा उभ्याउनेछ । तर, अरुले त्यो दलाई लामा अस्वीकार गरेपछि चीनलाई थप समस्या पर्नेछ”, उनले भने ।
पहिले स्वतन्त्र तिब्बत र पछि स्वायत्त तिब्बतको माग गर्दै आएका लामाले सन् २००१ देखि भने निर्वासित तिब्बति सरकारको नेतृत्व छाडेका थिए।
कुनै दिन आफूले चीन जाने अवसर पाए विश्वविद्यालयका विद्यार्थीहरुलाई मन्तव्य दिने उनले बताए।
तर, आफ्नो जीवनकालमा यो सम्भावना नदेखेका लामाले भने, “चीन प्राचीन सभ्यता भएको महान देश हो, तर त्यहाँका शासक अधिनायकवादी छन्। त्यसैले मलाई त्यहा होइन, स्वतन्त्र भारतमै बस्न मन छ ।”
“हाम्रो शक्ति सत्यमा टिकेको छ, चीनको बन्दुकमा”, लामाले भने, “बन्दुक केही समय निर्णायक हुनसक्छ, तर दीर्घकालमा त सत्य नै शक्तिशाली हुन्छ ।” –एजेन्सी