वैशाखदेखि माथिल्लो त्रिशूली थ्री एको उत्पादन शुरु हुने
रसुवा र नुवाकोटमा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले वैशाखको मध्यबाट उत्पादन थाल्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको परियोजनाको पहिलो युनिटले १७ वैशाख, २०७६ सम्ममा ३० मेगावाट उत्पादन शुरु गर्नेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४ चैतमा बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्र विद्युत् उत्पादन शुरु गर्ने निर्णय गरेको हो ।
आयोजनाको दोस्रो युनिटले भने १५ असारबाट बाँकी ३० मेगावाट उत्पादन थाल्नेछ ।
पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरूले प्रतिबद्धता जनाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
काठमाडौं उपत्यकाबाट नजिक रहेकाले पनि यहाँको विद्युत् माग र आपूर्तिको व्यवस्थापनका लागि आयोजनाको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ । ६० मेगावाटको आयोजनामा ३०/३० मेगावाटका दुईवटा युनिट रहेका छन् ।
गत साताबाट आयोजनाको बालुवा थिग्र्याउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेट लगायत संरचनाको परीक्षण भइरहेको छ । यो काम ११ चैतभित्र सक्ने समय तालिका तय गरिएको छ । त्यसपछि २ वैशाखसम्म बालुवा थिग्र्याउने पोखरी, मुख्य सुरुङ, लगायत संरचनाको ड्राई तथा वेट टेष्ट गरिने छ ।
२ वैशाखपछि विद्युत् गृहमा रहेका जेनेरेटर लगायत उपकरण्, पानी निकास सुरुङको ड्राई तथा वेट टेष्ट सम्पन्न गरी १७ वैशाखदेखि पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।
आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।
कम्पनीसँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
कूल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम ब्याङ्कको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो ।
१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।
विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायत कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार २०७३ (३० जून २०१६) सम्म थपिएको थियो ।
भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो ।
भूकम्प र पहिरोले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।