मोजाम्बिकमा भीषण आँधी : एक हजारभन्दा बढीको मृत्यु
मोजाम्बिकमा इडाई समुद्री आँधीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्।
आँधी प्रभावित क्षेत्र बेयराको उनले हवाई निरीक्षण गरेका राष्ट्रपति नुसीले आँधीले विध्वंसकारी प्रभाव पारेको र बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।
बिहीवारदेखि ठूलो वर्षासहित प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ ।
झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत घरहरू ध्वस्त भएका छन् । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्याउन नसकेको एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताए।
आइतवारबाट मात्र उद्धारकर्मीहरु त्यहाँ पुग्न थालेपछि बिस्तारै क्षतिको विवरण बाहिर आउन थालेको हाे ।
सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ भने धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ।
सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएको छ जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ।
रूखमा बसिरहेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसका एक सहायताकर्मीले बताए ।
सोही आँधीका कारण जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ ।
मलावीमा आँधी आउनुभन्दा पहिले बाढी र पहिरोले १२२ जनाले ज्यान गुमाएका छन् ।
उत्तरी मोजाब्बिकको आधाजसो भाग र दक्षिणी मलावीमा अझ केही दिन वर्षा हुने र चट्याङ समेत पर्नसक्ने जोखिम रहेको बताइएको छ । बीबीसी