अन्तर्वार्ता/विचारमंगलबार, ५ चैत्र , २०७५

‘वैदिक शिक्षा नै शान्तिको सूत्र’

हिमालखबर

अमेरिकाको आयोवास्थित महर्षि यूनिभर्सिटी अफ म्यानेजमेन्ट का अध्यक्ष डा. जोन हेगलिन भौतिकशास्त्री, लेखक र भावातीत ध्यानका अभियन्ता समेत हुन्। स्विट्जरल्याण्डस्थित यूरोपियन सेन्टर फर प्राक्टिकल फिजिक्स र अमेरिकाको स्टानफोर्ड लिनियर एक्सिलेटर सेन्टरमा शोधार्थी रहिसकेका हेगलिन योग र ध्यानबाट तीव्र सामाजिक तनाव, हिंसा र आतंकवादलाई कम गर्न सकिन्छ भन्ने विश्वास राख्छन्।

नेपाल महर्षि वैदिक फाउण्डेसनले फागुन (१७–१९) मा आयोजना गरेको ‘वैदिक तथा आधुनिक विज्ञान’ सम्मेलनमा सहभागी हुन काठमाडौं आएका हेगलिनसँग वैदिक ज्ञान र योगको सेरोफेरोमा हिमाल का लागि बिनु पोखरेल ले गरेको वार्ताको अंशः

डा. जोन हेगलिन ।

तपाईंजस्तो भौतिकशास्त्री के कारणले वेद र योगतर्फ आकर्षित हुनुभयो ?
वेदमा ब्रह्माण्ड अटाउने ज्ञान छ । वैदिक ज्ञान सृष्टिको अन्तिम यथार्थ हो । म वर्तमान विज्ञानको परम्पराबाट आएको हुँ, जसले वेदलाई बुझ्ने प्रयास मात्र गरेको छ । आधुनिक समयमा विज्ञानले सर्वोच्च ज्ञानको झल्को यौगिक चेतनाको क्षेत्रमा प्राप्त गरेको छ । वैदिक भाषामा यही यौगिक चेतनालाई आत्मा भनिन्छ ।

हरेक चिज त्यहींबाट उत्पन्न हुन्छ । आधुनिक विज्ञानले पनि यौगिक क्षेत्रलाई नै विश्व ब्रह्माण्डको स्रोत मानेको छ । हाम्रो सम्पूर्ण विविधता– जीव, ग्रह, तारादेखि विविध रंग, अनेक भाषा, संस्कृतिमा अन्तर्निहित सत्तामा हामी सबै एउटै हौं ।

वेद र भौतिक शास्त्र वा आधुनिक विज्ञानको ज्ञान सबैले जीवनको मौलिक आधारको अन्वेषण गर्छन् । हामीले विज्ञान मार्फत सम्पूर्ण जीवनको एकत्वको यथार्थ गहिराइबाट बुझ्न सक्छौं । तर वैदिक ज्ञानले यो यथार्थलाई हरेक मनुष्यको आधारमा, हरेक वस्तुका आधारमा बुझ्ने मात्र होइन उपयोग समेत कसरी गर्ने भन्ने सिकाउँछ ।

मौलिक एकत्वलाई जिउने प्रविधि समेत उपलब्ध गराउँछ । योगका विभिन्न विधि, भावातीत ध्यान, वैदिक ध्यानले आत्माको प्रत्यक्ष र सहज अनुभूति गराउँछ ।

वेद र विकासको कुनै सम्बन्ध छ ?
वेदमा वास्तु विद्या, वैदिक कृषि, उपचार पद्धति, संगीत कला लगायत सबै विषय समेटिएका छन् । आजको संसार परिवर्तन गर्न वैदिक ज्ञान, वैदिक प्रविधिमा आधारित शिक्षा आवश्यक छ । भावातीत ध्यान प्रविधिका माध्यमबाट विद्यार्थीको मस्तिष्क पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ, जसबाट स्पष्ट, सिर्जनशील, स्मरण क्षमतामा उच्च विकास हुन्छ ।

त्यो भनेको वस्तुलाई भित्रबाट हेर्न सक्ने क्षमता हो । यो वैदिक शिक्षामा बाहेक अरुतिर छैन । वेदमा आत्मसत्ताको, ब्रह्मसत्ताको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । जसले आफूलाई चिन्न सिकाउँछ । अनावश्यक सूचना बटुलेर बिरामी बनेकालाई, अपराधमा संलग्नहरुलाई यही विधिबाट शान्त र स्वस्थ बनाउन सकिन्छ ।

त्यसो भए वैदिक ज्ञानबाटै शान्ति सम्भव छ, होइन त ?
वैदिक शिक्षा शान्तिको सूत्र हो । जब एउटा व्यक्तिमा आन्तरिक शान्ति र एकत्वको विकास हुन्छ, उसले अरु व्यक्ति, संस्कृति, जाति, विश्वास सबैलाई एउटै देख्न थाल्छ । यसबाट राष्ट्रिय एकता, राष्ट्रिय सामञ्जस्य र राष्ट्रिय शक्तिको विकास हुन्छ । सम्पूर्ण समाज सह–सम्बन्ध र सह–अस्तित्वमा अगाडि बढ्छ । मुलुक अजेय र अटल बन्छ ।

दुनियाँका सबै मानव, संस्कृति, वस्तु मात्रै होइन ब्रह्माण्डलाई नै वेदले परिभाषित गरेको त अघि नै भनिसकियो । जब हामी यो वास्तविकता र जीवनको मौलिक आधारलाई चिन्छौं तब हामीबीच फरक केही रहँदैन । सबै शान्ति, सबै आनन्द, परमानन्द । वेद आफैंमा सार्वभौमिक ज्ञान हो । वेदले हाम्रो सम्पूर्ण दृष्टिकोण परिवर्तन गरिदिन्छ र यसले विश्वशान्ति स्थापना गर्दछ । वसुधैवकुटुम्बकम् भनेको त्यही हो ।

आधुनिक विज्ञान र प्राचीन पूर्वीय ज्ञानको फरक के हो ?
आधुनिक विज्ञानले मानव जीवनलाई सहज बनाउने धेरै महत्वपूर्ण कुरा पत्ता लगाएको छ । तर, आधुनिक विज्ञान जीवनको एकत्वको गहिराइमा प्रवेश गरे पनि सबै सैद्धान्तिक मात्रै हो ।

वैदिक ज्ञानले जीवनको एकत्वलाई उजागर मात्र गरेको छैन, एकत्वको चेतना विकास गर्ने, अमूर्त सत्ता अनुभव गर्ने र यसैमा जिउने प्रविधि पनि उपलब्ध गराएको छ । पश्चिमा दार्शनिक/वैज्ञानिकहरू भन्छन्, “हामी सबै एउटै हौं, सुखी बनौं ।” तर कसैले झुक्किएर खुट्टामा छोइहाल्यो भने सम्पूर्ण दर्शन एकातिर फालेर उनीहरू रिसले चूर हुन्छन् ।

वैदिक ज्ञानले चाहिं जीवनको एकत्व, आत्मसाक्षात्कार अत्यन्त सुमधुरताका साथ स्थापित गराएको हुन्छ । पश्चिमको बौद्धिकता र पूर्वको ज्ञानमा भएको भिन्नता यही हो ।

यहाँहरू यतिबेला नेपालमा भेला हुनुको कारण चाहिं के हो ?
यहींबाट सिर्जित ज्ञान, दर्शन जुन हामीले पनि प्राप्त गर्ने र विज्ञानको कसीमा पर्गेल्ने अवसर पायौं, त्यसैबारे छलफल गर्न भेला भएका हौं । अर्थात् पूर्वका ऋषि, योगीहरुले पश्चिमका हामीलाई सर्वोच्च वैदिक ज्ञानको अनन्तता दिनुभएको छ ।

अहिले हामी नेपालमा आएर आधुनिक विज्ञानका प्रमाण देखाउँदै वैदिक ज्ञानको अथाह शक्तिलाई उपयोग गर्न प्रेरित गरिरहेका छौं । अहिले अमेरिका, कोलम्बिया, ब्राजिल लगायतका धेरै पश्चिमी मुलुकका सार्वजनिक विद्यालयमा समेत वैदिक ज्ञानको अभ्यास गरिंदैछ । जुन यहींका शैक्षिक संस्थाहरूमा अभ्यास गरिएको छैन । संस्कृत भाषाको अध्ययन पनि यहाँ न्यून छ ।

भन्ने नै हो भने नेपालले वैदिक ज्ञानलाई माया त गरेको छ तर, सफलताका लागि यसको वैज्ञानिक उपयोग गर्न जानेको छैन । नेपाल वैदिक भूमि हो । वैदिक शिक्षा र प्रविधि ग्रहण गर्न नेपालीलाई जस्तो सजिलो अरुलाई छैन ।

वैदिक ज्ञानका असली हकदार त यहींका जनता हुन् । हामी यहाँ आएर वैदिक प्रविधिहरू अत्यन्त उपयोगी छन् तिनका माध्यमबाट नेपालीले आध्यात्मिक एवं भौतिक सफलताको शिखर हासिल गरुन् भन्ने चाहन्छौं ।

वैदिक ज्ञान र अन्य ज्ञानमा के फरक छ ?
अहिलेका विद्यालय र कलेजको ज्ञान एउटा हाँगो मात्र हो, सम्पूर्ण रुख होइन । हामीले विद्यालयमा भाषा सिक्छौं; गणित, विज्ञान अध्ययन गर्छौं । तर, वैदिक ज्ञानको जरालाई चिन्न सकिरहेका हुँदैनौं ।

वैदिक ज्ञानले आत्मा अथवा समाधिको अध्ययन/अनुभव गराउँछ, चेतनाको ज्ञान दिन्छ । चेतनाको ज्ञान हासिल गरेपछि अन्य कुराहरू जान्न सजिलो हुन्छ । वैदिक ज्ञान मूल ज्ञान हो ।

वैदिक शिक्षामा सामूहिक चेतनाको कुरा आउँछ, यो कसरी सम्भव हुन्छ ?
जब चेतना विस्तार हुन्छ, त्यो व्यक्ति आफूमा मात्रै सीमित हुँदैन । चेतनाको विस्तारबाट सम्पूर्ण समाज, राष्ट्र र विश्वमा वसुधैवकुटुम्बकम्को भावना विकास हुन्छ । तुच्छता र तनाव पग्लेर आन्तरिक आनन्द र अखण्डतामा रुपान्तरण हुन्छ ।

एउटा आत्मज्ञानी मनुष्यलाई थाहा हुन्छ, अरुका लक्ष्य तृप्त गर्दै समाज कसरी विकसित बनाउने, सँगसँगै आफ्ना महत्वाकांक्षा कसरी साकार पार्ने । आफ्ना चाहना मात्र राख्नु, अरुलाई बेवास्ता गर्नु भनेको लोभ हो । अन्त्यमा यसले आफैंलाई पनि सन्तुष्टि दिंदैन अरुको त कुरै छोडौं । वैदिक ज्ञान र भावातीत ध्यान नै यसको समाधान विधि हो ।

प्रतिकृया दिनुहोस