सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन, संविधानभित्र रहेर राजनीति गर्ने निर्णय
स्वतन्त्र मधेश गठबन्धन र पृथकतावादी आन्दोलन त्याग्दै डा. सीके राउतले ‘जनमत पार्टी’ गठन गरेका छन् ।
सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठकले ‘जनमत पार्टी’ गठन गर्ने निर्णय गरेको हो ।
यसअघि २४ फागुनमा सीके राउतले खुला राजनीति गर्नै भन्दै सरकारसँग ११ बुँदे सहमति गरेका थिए । बैठकले उक्त सहमतिलाई ऐतिहासिक उपलब्धि भन्दै स्वागत समेत गरेको छ ।
बैठकले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ़ने निर्णय गरेको छ ।
पार्टीको चुनाव चिह्न ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने पनि बैठकको निर्णय छ ।
बैठकले तत्कालका लागि ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । जसको नेतृत्व डा. सीके राउतले गर्नेछन् ।