‘इथियोपिया र इन्डोनेशियाको विमान दुर्घटनामा समानता’
इथियोपियाका यातायातमन्त्री दाग्मावित मोगेसले गएको आइतबार इथियोपियामा र गत अक्टोबरमा इन्डोनेशियामा भएको विमान दुर्घटनाको प्रकृतिमा समानता देखिएको बताएका छन् ।
गएको मार्च १० इथियोपियाको इथियोपियन एअरलाइन्स उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो । जसमा १५७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अडिस अबाबास्थित विश्व खाद्य संगठनमा कार्यरत् नेपाली युवती एकता अधिकारी पनि थिइन् ।
इथियोपिया र इन्डोनेशियाबाट उडेका यी दुवै विमान बोइङ ७३७ म्याक्स मोडलका हुन् । दुवैको उत्पादन अमेरिकी बोइङ कम्पनिले गरेको हो ।
दुवै विमान ‘टेक–अफ’ गरेलगत्तै दुर्घटनामा पर्नुले पनि समान कारणतर्फ संकेत गरेको हो । अहिले अमेरिकालगायत संसारभर बोइङका यो मोडलको विमान उडानमा प्रतिबन्ध लगाइएको छ ।
“इथियोपियन एअरलाइन्सको फ्लाइट ३०२ र लायन एअरको फ्लाइट ६१० दुर्घटनामा धेरै समानता पाइएको छ, यसबारे थप अनुसन्धान भइरहेको छ”, मोगेसले भने । 'बीबीसी'का अनुसार यसको प्रारम्भिक प्रतिवेदन एक महीनाभित्र सार्वजनिक गरिने मोगेसले बताएका छन् ।
फ्रान्सका अधिकारीहरुले विमानको डेटा रेकर्डर र ब्ल्याक बक्स अध्ययन प्रतिवेदन इथियोपियालाई बुझाइसकेको बताइन्छ ।
यस्तै गत अक्टोबर २९ मा इन्डोनेशियाको जकार्ताबाट उडेको लायन एअरलाइन्स ६१० विमान दुर्घटनामा १८९ जनाको निधन भएको थियो ।