खेलकुदसोमबार, ४ चैत्र , २०७५

महिला फूटबलको जग बसाउने जोडी

निरञ्जन राजवंशी

जमुना गुरुङ र अनु लामाको जोडीले चम्काएको नेपाली महिला फूटबललाई सम्हाल्ने नयाँ पुस्ता तम्तयार छ ।

अनु लामा र जमुना गुरूङ ।

विराटनगरको शहीद रंगशालामा भइरहेको दक्षिण एशियाली महिला फूटबल च्याम्पियनसिपमा धेरैका आँखा सावित्रा भण्डारीमाथि छन् । ख्याउटे अनुहार, छोटो कपालको बीचमा खैरो रंग लगाएकी ‘साम्बा’ नामले चिनिने सावित्रा अरु खेलाडी भन्दा भिन्नै देखिन्छिन् ।

विपक्षी खेलाडीबाट बल खोस्ने कला र गोल गर्ने शैलीले उनलाई दक्षिणएशियाकै उत्कृष्ट स्ट्राइकरको पंक्तिमा उभ्याएको छ । अन्तर्राष्ट्रिय फूटबलमा २२ गोल गरिसकेकी सावित्राले विराटनगरमा साफ च्याम्पियनसिप शुरु हुनुअघि भनेकी थिइन्, “म अनु लामाको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्न चाहन्छु । त्यसभन्दा अघि चाहिं जमुना गुरुङको सर्वाधिक स्कोरलाई उछिन्ने हो ।”

जमुना र अनु आधुनिक नेपाली महिला फूटबलका स्टार खेलाडी हुन् । इतिहास लामो भए पनि छोटो कथामा सीमित नेपाली महिला फूटबलमा यी दुईको बेग्लै योगदान छ । सन् २०१० पछि जब दक्षिणएशियामा महिला फूटबल जुर्मुरायो, त्यहींबाट कप्तान र उपकप्तानका रुपमा नेपाली फूटबलमा जमुना र अनुको उदय भयो ।

सुषुप्त अवस्थामा रहेको नेपाली महिला फूटबल टोली सम्हालेका यी स्ट्राइकरद्वयले एकपछि अर्को अन्तर्राष्ट्रिय गोल गरेर महिला फूटबलमा सबैको ध्यान खिचे । महिला फूटबलमा त्यसअघि नै थुप्रै खेलाडी जन्मिए पनि पहिलो पटक यही जोडीले ‘स्टार खेलाडी’ को पहिचान बनायो । अझ भन्दा यो जोडीले नेपाली महिला फूटबलमा ज्यान फुक्ने काम गर्‍यो ।

जमुनाले राष्ट्रिय टोलीबाट २५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । उनलाई उछिनेकी अनुका नाममा कीर्तिमानी ३५ गोल छन् । सावित्राले उनीहरूकै पदचाप पछ्याइरहेकी छन् ।

चम्किएको जोडी
सन् २०१० मा दक्षिण एशियाली खेलकुद (साग) मा महिला फूटबल समावेश गरिनु र दक्षिण एशियाली महिला फूटबल च्याम्पियनसिप आयोजनाको समेत घोषणा गरिनु यस क्षेत्रमा महिला फूटबलको पुनर्जन्म सरह थियो । अन्तर्राष्ट्रिय गतिविधि त शुरु भए, तर तत्कालै राम्रा खेलाडी कहाँ खोज्ने ? फूटबलका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नभइरहेका बेला सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो महिला फूटबल टोलीबाट त्यो खडेरी तोड्ने काम गरिदियो ।

हुन पनि, बाङ्लादेशमा सम्पन्न १०औं सागमा सहभागी राष्ट्रिय महिला फूटबल टोलीका सम्पूर्ण खेलाडी एपीएफ क्लबका थिए । जमुना र अनु त्यसको अग्रपंक्तिमा थिए । एकै क्लबका खेलाडीको राष्ट्रिय टोली बनेपछि समन्वय मात्र सहज बनेन, एकपछि अर्को खेल जित्ने आत्मबल पनि थपियो । पहिलो सहभागितामै नेपालले १६ गोल गरेर फाइनलसम्मको यात्रा तय गर्‍यो ।

जमुनाको विशेषता हो– उनी बलमा पुग्न सही निर्णय लिन सक्छिन् र आवश्यक स्थानमा उपलब्ध हुन्छिन् । उनको फिनिसिङ बेजोड छ । मिहिनेती खेलाडी अनु एक्लै बल छलाएर पोस्टको दिशा दिन सक्छिन् ।

जमुना एपीएफ तथा राष्ट्रिय टोलीको कप्तान हुन् भने अनु उपकप्तान । मोरङकी जमुनाले सन् १९९९ मा फिलिपिन्समा सम्पन्न एशियन ओपन च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी हुन् भने यू–१९ मा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा बोलाइएकी रौतहटकी अनुले सन् २०१० को दक्षिण एशियाली खेलकुदमा डेब्यू गरेकी हुन् । बीचमा अन्तर्राष्ट्रिय सहभागिताको अभाव भएकाले दुवैको वास्तविक करिअर २०१० पछि नै शुरु भएको हो ।

दक्षिण एशियाली महिला फूटबल सक्रिय बनेको पनि २०१० पछि नै हो । भारतलाई छाड्ने हो भने पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलंकाको महिला फूटबल शुरुआती चरणमै रहेकाले उनीहरू विरुद्ध हावी हुन नेपाललाई सहज पनि बन्यो ।

जमुना भन्छिन्, “पाकिस्तान, माल्दिभ्स र भूटानका खेलाडी तुलनात्मक रुपमा कमजोर थिए । हाम्रो टोली भने सेट थियो, खेलाडीबीच समन्वय र सुझबुझ थियो । हामी शारीरिक र प्राविधिक रुपमा पनि बलियो थियौं ।”

जमुनाले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा तीन खेलमा ह्याट्रिक गरेकी छन् । ११औं सागमा ७ गोल, पहिलो साफ च्याम्पियनसिपमा १० र दोस्रो साफ च्याम्पियनसिपमा ८ गोल गरेकी उनले सन् २०१२ को साफ च्याम्पियनसिपमा कुल ८ गोल गरेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जितिन् । अनुले भने ११औं सागमा ५ र १२औं सागमा २ गोल गरिन् ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणमा ११ गोल गरेकी उनले दोस्रो र तेस्रोमा ५/५ गोल गरिन् । कुवेतसँगका दुई मैत्रीपूर्ण खेलमा ६ र कतार विरुद्धको मैत्रीपूर्ण खेलमा एक गोल गरेपछि उनको नाममा कीर्तिमानी ३५ गोल पुगेको छ ।

फूटबलमा प्रायः दुई स्ट्राइकरबीच गोल गर्ने प्रतिस्पर्धा हुने गर्छ । जमुना र अनु उच्च गोलकर्ताको दौडमा प्रतिस्पर्धी थिए । तर, गोल गर्ने सवालमा उनीहरूबीच प्रतिस्पर्धा होइन, तालमेल र सहकार्य देखियो । जमुना भन्छिन्, “हामी सधैं एकअर्काको सहयोगी भयौं ।

मलाई कहाँ बल फाल्नुपर्छ भन्ने अनुलाई थाहा हुन्थ्यो, उसको क्षमता मलाई थाहा थियो । मैले धेरै गोल अनुकै सहयोगमा गरेकी छु र उसलाई गोलका अवसर पनि प्रशस्त दिएकी छु ।” जमुनासँग सहमत अनु थप्छिन्, “आफैंले बढी गोल गर्नुपर्छ भन्ने कहिल्यै लागेन । मिलेर मात्र खेल जित्न सकिन्छ भन्ने मलाई थाहा थियो । एउटा सफल कप्तानको रुपमा उहाँको खेल निस्वार्थ थियो ।”

एउटै क्लबबाट खेलेकाले पनि उनीहरूबीचको तालमेल अझ राम्रो थियो । एपीएफ क्लबका टीम व्यवस्थापक प्रेम श्रेष्ठ क्लबसँगै राष्ट्रिय टोलीमा समेत जमुना र अनु उदाहरणीय जोडी रहेको बताउँछन् । श्रेष्ठ सम्झन्छन्, “जमुना परिपक्व कप्तान थिइन् । उनले आफ्नो कप्तानीमा कसैलाई गुनासो गर्ने मौका नै दिइनन् ।”

दायाँ घुँडाको चोटले लगातार सताएपछि सन् २०१२ को दोस्रो साफ च्याम्पियनसिपपछि जमुनाले राष्ट्रिय टोलीबाट सन्यास लिइन् । सक्रिय खेलाडीका रुपमा दुई वर्ष मात्र खेलेकी जमुनाको करिअर छोटो थियो । जमुनाले सन्यास लिएपछि मात्र अनुले उनको कीर्तिमान तोडेकी थिइन् ।

सन् २०१४ को तेस्रो साफ च्याम्पियनसिप खेलेपछि अनुले पनि उस्तै चोट बोकिन् । दायाँ घुँडाको शल्यक्रिया गरेको १२ दिनपछि चौथो साफ च्याम्पियनसिप शुरु भएको उनलाई राम्रोसँग सम्झना छ । चोटकै कारण अनुले चौथो साफ च्याम्पियनसिपसँगै १२औं साग पनि गुमाइन् । तर, खेलमा फर्कने अठोट भने त्यागिनन् ।

गत महीना भारतलाई उसकै मैदानमा हराएको ‘हिरो गोल्डकप’ मा अनुले राष्ट्रिय टोलीमा पुनरागमन गरिन् । तर, उनको भूमिका त्यहाँ बेञ्चमै सीमित हुनपुग्यो । विराटनगरमा पाँचौं साफ च्याम्पियनसिप खेलेर सन्यास लिने उनको चाहना पूरा हुन सकेन । अन्तिम खेलाडीको सूची निकाल्दा आफ्नो नाम नपरेपछि सम्मानजनक विदाइको अपेक्षा पूरा हुन नसकेको चोट भने उनलाई सधैं भइरहनेछ ।

नयाँ पुस्ताको आगमन
जमुना–अनुले शुरु गरेको आधुनिक नेपाली महिला फूटबलको यात्रा अघि बढाउने प्रतिभा चौथो साफ च्याम्पियनसिपमै जन्मिइसकेको छ, सावित्रा भण्डारीका रुपमा । चौथो साफ च्याम्पियनसिपको भूटान विरुद्धको खेलमा एक्लै ६ गोल गरेर सनसनी मच्चाएकी सावित्रा विराटनगरमा त्यस्तै प्रदर्शन दोहोर्‍याउने धुनमा छिन् । गत महीना सम्पन्न हिरो गोल्डकपमा भारत विरुद्ध पहिलो पटक २–१ को जित हात पार्दा दुवै गोल सावित्राले नै गरेकी थिइन् ।

साफ च्याम्पियनसिपको जारी पाँचौं संस्करणमा सावित्राबाट यस्तै प्रदर्शनको आशा गरिएको छ । तर, साफ प्रतिद्वन्द्वीहरू पहिलेभन्दा परिपक्व बन्दैछन् । अनु भन्छिन्, “सबैको प्रदर्शन सुधार हुँदै गएकाले हाम्रा खेलाडीले अझ बढी मिहिनेत गर्नुपर्छ ।”

महिला फूटबलले अहिले नयाँ लय समातेको छ । अखिल नेपाल फूटबल संघको प्राथमिकतामा परेको देखिएको महिला फूटबलले ओलम्पिक छनोटको पहिलो चरण पार गरिसकेको छ । एउटा खेल खेल्न वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य भए महिला फूटबल हराभरा हुनेछ । र, महिला फूटबलको हरेक सफलतामा जमुना–अनुको जोडीको चर्चा पनि जोडिनेछ ।

प्रतिकृया दिनुहोस