व्यक्तित्वआइतबार, ३ चैत्र , २०७५

‘पावर प्याराग्लाइडिङ’ का आविष्कारक आङतेम्बाको उडान

गोपाल गडतौला

हिमाल आरोहणका भरियाबाट संघर्ष अघि बढाएका साहसिक खेलका सौखिन, पर्यटन व्यवसायी आङतेम्बा शेर्पा ‘पावर प्याराग्लाइडिङ’ का आविष्कारक मध्ये एक हुन्।

 

नयाँ ठाउँ घुम्दै नयाँ कुरा सिक्न रुचि राख्ने आङतेम्बा शेर्पा (५४) सन् १९८५ मा चेकगणतन्त्र पुगेका थिए । त्यहाँ प्याराग्लाइडिङको सफरपछि उनी र तीन विदेशी साथी रसियाका इन्जिनियर अलेक्जेन्डर मोसिमोक्, चेकगणतन्त्रका एन्ड्री जेद्निक र भ्लादिमिरबीच यही प्याराग्लाइडिङलाई इच्छानुसार नियन्त्रण गरी उडाउने सम्भाव्यताबारे सल्लाह भयो । त्यसबेला प्याराग्लाइडिङमा अग्लो डाँडाबाट हावाको गति र बहावका आधारमा उड्न र तलको फाँटमा अवतरण गर्न मात्र सकिन्थ्यो । यी चार भाइले भने कम इन्धन खपत गरी चरा जस्तै उडेर इच्छाएको ठाउँमा जान सकिने उपकरणको कल्पना गरेका थिए । 

केही दिनपछि उनीहरूले प्लास्टिकको पङ्खा, पानी तान्ने मोटर र पेट्रोल भरिएको ग्यालेन जुटाए । अब उनीहरूले कल्पिएको उपकरणको परीक्षण भयो । ती वस्तुलाई एक जनाले पिठ्यूँमा ब्याग जसरी भिरे । पेट्रोलबाट मोटर चलाउँदा त्यसमा जडित पङ्खा घुम्यो, हेर्दाहेर्दै मानिसले जमीन छोड्यो । यो उडान शुरूको दिन ५/६ मिनेटको थियो । पालैपालो चारै जना उडे । “खासमा त्यो आविष्कार थियो”, चेकगणतन्त्रमा त्यसबेला हासिल उपलब्धि सम्झेर अनुहार चम्किलो पार्दै आङतेम्बा भन्छन्, “१९८५ को सेप्टेम्बरको त्यो साँझ हामीले उत्सव मनाएका थियौं ।”

आविष्कारक चार भाइले त्यो उपकरणलाई पावर प्याराग्लाइडिङ (पीपीजी) नाम दिए र साहसिक हवाई खेलको रूपमा अभ्यासमा ल्याउने योजना बुने । हिजोआज धेरै देशमा साहसिक खेलप्रेमीहरू पीपीजीमा उडेको देख्दा उनी दंग पर्छन् । युरोपका विभिन्न मुलुक र रसिया, अष्ट्रेलिया लगायतका देशमा पीपीजीमा उडिसकेका आङतेम्बालाई आफ्नै देशमा पीपीजी उडाउने रहर जाग्यो । सन् २००० मा उनी काठमाडौंको महाँकालबाट पीपीजीमा उडेर आधा घण्टामा कपनस्थित आनी गुम्बा पुगे । त्यसपछि ठमेलमा पनि यो उडान देखाएर धेरैलाई चकित पारे । तर तत्कालीन हवाई विभागमा दर्ता हुनुपर्ने लगायतका कानूनी प्रक्रिया उनलाई झन्झटिलो लाग्यो ।

झन्झटिलो प्रक्रियाकै कारण उनको यो आविष्कारको नेपाली प्रयोग अघि बढ्न सकेन । तर, नेपालमा पीपीजीको अभ्यास उडान गर्नुअघि उनले सन् १९९५ मा पोखरामा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू गरिसकेका थिए । प्याराग्लाइडिङ, अल्ट्रालाइट जस्ता साहसिक हवाई खेलका लागि नेपालमा धेरै विदेशी पर्यटक आउने गरे पनि नेपाली अधिकारीहरूलाई यी खेलबारे बुझउन नसकेको उनको अनुभव छ । जोखिमपूर्ण भन्दै पोखराबाट प्याराग्लाइडिङ हटाउन नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले दबाब दिए पनि होटल व्यवसायी र पर्यटनप्रेमी स्थानीयको जोडबलले नरोकिएको उनी बताउँछन् । स्विट्जरल्याण्ड, फ्रान्स र अष्ट्रेलियाबाट उड्डयन तालिम लिएका उनले पोखरामा प्याराग्लाइडिङका साथै अल्ट्रालाइट र प्यारामोटरको व्यावसायिक उडान सञ्चालन गरिरहेका छन् ।

नेपालमा पीपीजीलाई व्यावसायिक रूप दिन आवश्यक नीति नबन्दा समस्या भएको आङतेम्बाको निष्कर्ष छ । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कैयौं पटक पुगे पनि कुरा बुझउन नसकेर थाकें” उनी भन्छन्, “नेपाल भ्रमण वर्ष आउँदैछ, पीपीजीलाई वैधानिक बनाउन सके हवाई विधामा रुचि राख्ने देशी–विदेशी सबैलाई आकर्षित गर्नेथियो ।” बाक्लो बस्ती भएका ठाउँ र विकट भूबनोट भएका डाँडाकाँडामा आपतकालीन उद्धार र सूचना आदानप्रदानमा पीपीजी निकै उपयोगी हुनसक्ने उनी बताउँछन् । 

यो खेल जोखिमपूर्ण भएकैले साहसिक वर्गमा परेको हो । उनी आफैं प्याराग्लाइडिङ उडानका क्रममा धेरै पटक लडेर घाइते भएका थिए । तर, जीवनमा कठिन चरण पार गरेर आएका उनले यो कामको मेलो बिसाएनन् ।

भरियादेखि मोडल र व्यवसायीसम्म

आङतेम्बाको जन्मथलो सोलुखुम्बुको चौंरीखर्क–३ हो । छोराछोरीलाई पढाउने चलन नरहेको बेला उनले गाउँ छेउमै विद्यालय भएकाले कक्षा ३ सम्म पढ्न पाए । त्यसपछि बाबु नुरुजाङ्बु शेर्पाकै पदचिह्न पछ्याए, अर्थात् हिमाल आरोहणमा आउने विदेशी आरोही र पर्यटकको भारी बोक्ने काम । गुजाराको मेलो नै त्यही थियो । १४ वर्षको उमेरमा पहिलो पटक लुक्लादेखि भारी बोकेर १४ दिनमा सगरमाथाको पहिलो आधारशिविर पुगेका थिए, उनी ।

आङतेम्बा भरियाको रूपमा सन् १९८० मा सोलुखुम्बुबाट दोलखा, सिन्धुपाल्चोक हुँदै पहिलो पटक हिंडेर काठमाडौं आएका थिए । सोही क्रममा मनाङका व्यापारीहरूले उनीसहित ९ जना भरियालाई जेटबाट हङकङ हुँदै थाइल्याण्ड लगे । फर्कंदा सबै भरियालाई चार/चार वटा पाइन्ट, तीन/तीन वटा ज्याकेट, औंलाभरि औंठी, नाडीमा घडी र घाँटीमा महँगो क्यामेरा भिराइयो । काठमाडौंमा उत्रिनासाथ व्यापारीहरूले सबै सामान फुकाले र रु.५०० को नोट हातमा थमाइदिए । त्यो व्यापारीहरूले अवैध रूपमा मालसामान भित्र्याउने काइदा थियो । “तर त्यो यात्राबाट मलाई भने धेरै फाइदा भयो” उनी भन्छन्, “संसारले विकासमा कति फड्को मारेको रहेछ भन्ने देख्न पाएँ ।”

त्यो विदेश यात्राले आङतेम्बाको मनमा नयाँ सोचको झिल्काे सल्कायो, चिसो खुम्बु क्षेत्रमा पसिना काढ्दै भारी बोक्ने उनले जीवन बदल्न घुम्नु र सिक्नुपर्छ भन्ने तत्वबोध गरे । विदेशीहरूसँग संगत बढाए । सन् १९८३ मा गणेश हिमाल चढ्न आएका स्वीस नागरिकहरूसँग कैयौं दिन भारी बोकेर हिंड्दा फूर्तिलोपन देखेर प्रभावित भएका आरोहीमध्येका हान्स रुइदी जुर्फुलुले उनलाई स्विट्जरल्याण्ड लगे । जीवनमा पहिलो पटक प्याराग्लाइडिङ स्वीस आकाशमै देखेका र सयर गरेका उनको साहसिक उडान र प्रगतिको यात्रा त्यही बेलादेखि उकालो लाग्यो । उनलाई खुम्बुबाट स्विट्जरल्याण्ड लैजाने जुर्फुलु पेरुका लागि स्वीस कूटनीतिक प्रतिनिधि र हवाई खेलका सौखिन थिए ।

पदयात्रा र हवाई खेलमा मात्र होइन, आङतेम्बाको रुचि पौडीमा पनि उत्तिकै छ । सन् १९८९ मा इटालीमा भएको पौडी प्रतियोगिताका उनी च्याम्पियन हुन् । सन् १९९५ मा स्विट्जरल्याण्ड र फ्रान्समा भएका प्याराग्लाइडिङ प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेपछि विश्व चर्चित कम्पनीहरूले तिनका उत्पादनको मोडल र ब्राण्ड एम्बेस्डर बनिदिन आग्रह गर्न थाले । उनले फ्रान्समा निर्मित लामा हेलिकप्टर, हिमाल चढ्दा लगाइने पहिरन आदिको विज्ञापनमा मोडलिङ गरे । कुनै समयका हिमाली क्षेत्रका भरिया उनी हाल स्वीस घडीको ब्राण्ड एम्बेस्डर छन् ।

सन् १९९० मा उनले दाजु आङकामी शेर्पा र केही अमेरिकी साथीसँग मिलेर खोलेको इन्टरनेशनल एडभेञ्चर ट्राभल र धौलागिरि ट्रेक हाउसले युरोप, अमेरिका र एशियामा समेत गरी १० वटा शाखा विस्तार गरिसकेको छ । यसले नेपाल, भारत, तिब्बत र भूटानमा पश्चिमा पर्यटकहरू लैजाने काम गर्छ ।

पदयात्रामा रुचि राख्ने पश्चिमा समाजले नेपाली शेर्पाहरूलाई इज्जतसाथ सम्झ्निे गरेको अनुभव आङतेम्बाले सँगालेका छन् । उनले भूगर्भविद् तथा अनुसन्धानकर्ता डा.टोनी हागन जस्ता नेपाललाई माया गर्ने पश्चिमाहरूको पनि सान्निध्य पाए । हिमाली यात्रामा सहयोगी बनेकोमा हागनबाट उनले सम्मानपत्र पनि पाएका छन् । स्वीस लेखक बर्नहाड रुडोल्फ बन्जाफले लेखेका स्टेप बाई स्टेप र ट्रेकिङ एडभेञ्चर इन नेपाल जस्ता पुस्तक लेखनमा उनी सहयोगी बनेका छन् ।

कम इन्धनमा आपतकालीन उद्धारका लागि पीपीजीको उपयोग बढाउन सरकारलाई उनको आग्रह छ । उड्डयन र पर्यटनमै जीवन बिताउने निधो गरेको बताउने उनी भन्छन्, “नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक दक्षता भएका व्यक्ति कम भएकाले हवाई क्षेत्रमा भएका प्रगति नेपालमा भित्र्याउन कठिनाइ भइरहेको छ । गर्न धेरै बाँकी छ ।”

प्रतिकृया दिनुहोस