दस्तावेजशनिवार, मंसिर ११, २०७३

उहिलेका शासक आफ्नो मर्यादाको ख्याल राख्थे

ज्ञानमणि नेपाल

हुकुमी शासक भए पनि राणाहरू नेपाल राज्यको स्वतन्त्रता र आफ्नो इज्जतको खूबै ख्याल राख्थे।

ब्रिटिश–इण्डियाका विदेश विभाग हेर्ने कायममुकायम राजनीतिक सचिव कर्णेल आर ई. हाल्याण्ड वि.सं. १९७६ मा नेपाल आएका थिए। यिनी प्रथम विश्वयुद्ध हुनुभन्दा पहिले पनि आएका थिए।

अहिले वैशाख १ गतेका दिन चन्द्रशमशेरसँग भेटमुलाकात गर्न सिंहदरबार आएका थिए। महाराज र यी एक्लाएक्लै कोठामा गोप्य वार्ता गर्दै थिए। भित्रका कुरा सुन्ने गरी बाहिर बरण्डामा जर्नेलहरू मोहनशमशेर जबरा, बबरशमशेर, केशरशमशेर र बडाकाजी मरिचमान सिंहहरू राखिएका थिए।

अरू बेला रेजिडेन्टसँग कुरा हुँदा कुनै न कुनै मुन्सी बसेर वार्ताका मजबून टिपिरहन्थे। यसपालि उच्च अधिकारीसँग विशेष वार्ता हुने हुनाले यस्तो गोप्य प्रबन्ध मिलाइएको थियो। भलाकुसारीको शुरूमा हाल्याण्ड पहिले आउँदाका प्रसङ्ग चले।

अनि विश्वयुद्धमा चन्द्रशमशेरले आर्थिक–सैनिक सहायता दिएकोमा ब्रिटिश सरकारका तर्फबाट कृतार्थ व्यक्त गरियो। चन्द्रशमशेरले पनि सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे। ब्रिटिश सरकारले दिएको 'हिज हाइनेस' सम्मानमा चाहिं महाराजले सीधै आपत्ति जनाए।

ब्रिटिश गभर्मेन्टले अघि सर जंगबहादुरलाई नै 'हिज हाइनेस' सम्बोधन गरेको, १९१४ सालको सिपाही विद्रोहमा सहायता गरेबापत जी.सी.वी. तक्मा दिंदा पनि त्यो लवज राखेको छ, तर अहिले पनि त्यही पदवी दिंदा देशको इज्जत घटाएको ठहरिने तर्क चन्द्रशमशेरले गरे।

उनले स्वतन्त्र राष्ट्रका प्राइमिनिष्टरले यस्तो पदवी दिने–लिने गर्दैन भन्दै 'नेपाल भारतीय रजवाडा जस्तो हो?' भनी प्रश्न पनि गरे।

सचिव हाल्याण्डले प्रतिवाद गर्ने हिसाबले महाराजाधिराजलाई हामीले 'हिज मेजेस्टी' भनेर सम्बोधन गरेकै छौं, त्यसले नेपालको स्वतन्त्रता जनिएकै छ, किन शंका गर्ने भने।

त्यसमा चन्द्रले 'सरकारी प्रकाशनमा चाहिं नभएको कुरा लेख्नुहुन्छ, प्रचार गर्नुहुन्छ अनि मुखले भनेर के हुन्छ?' भन्दै ठाडै प्रतिवाद गरे।

हाल्याण्डले अब अर्को संस्करणमा यस कुरालाई संशोधन गरेर सही कुरा छापिनेछ भनी शान्त पार्न खोजे, तर महाराजले पुरानो कुरा कोट्याएर ब्रिटिशको अर्घेल्याईं उजागर गर्न लागे।

महाराजले भने, “हेर्नुहोस्, अघि नेपालबाट ब्रिटिशराजमा जाँदा एम्ब्यासेडरको दर्जामा जान्थे, पछि विस्तारै यो सम्मानित पदवी प्रयोगमा ल्याउनै छाडियो, तपाईंहरू जसो मन लाग्छ तेसै गर्नुहुन्छ। अघि पनि यस्तै होच्याउने काम गर्नुहुन्थ्यो।”

त्यसक्रममा उनले अघि महाराज जंगबहादुर वायसराय नार्थबु्रकसँग भेट गर्न कलकत्ता जाँदाको प्रसंग निकाले। जंगबहादुर वार्तालाप गरेर फर्केलगत्तै वायसराय पनि भेटमुलाकात गर्न आउने भएपछि रेजिडेन्ट आएर भोलि ठीक यति बजे वायसरायको सवारी हुन्छ, स्वागतका लागि तपाईं फाटकसम्म जानुपर्छ भने, जसले जंगबहादुरलाई बिझायो।

भोलिपल्ट वायसराय आउनुभन्दा केही मिनेट अघि उनी घोडा चढेर हिंडे। वायसराय ठीक टाइममा आइपुग्दा जंगबहादुर थिएनन्। केही समयपछि घोडा बड्काएर स्वाँस्वाँ–फ्वाँफ्वाँ गर्दै आएका उनी 'स्वागत गर्न फाटकसम्म मात्र किन? परैसम्म पुग्नुपर्‍यो भनेर हिंडेको बाटो फरक परेछ' भन्दै साखिलो बनिदिए। यसरी उनले उल्टै अपमानित गरेर आफ्नो मर्यादा कायम राखे।

राणा शासकहरू देशको स्वतन्त्रता, सार्वभौमिकता र आफ्नो मानमर्यादामा सचेत थिए। अहिलेका हाम्रा शासकहरू प्रगतिशील हौं भन्छन्, तर विदेशी शासकको दर्शनभेट पाउँदा द्यौतै भेटेजस्तो मान्छन्। विदेशी कर्मचारीलाई भेट्न पनि तँछाडमछाड गर्छन्। देशलाई यिनले कहाँ पुर्‍याउने हुन्, बहुतै चिन्ताको विषय छ।


श्री ३ चन्द्रशमशेर र विदेशसचिव हालैण्डका बीचमा भएका प्रथम विश्वयुद्धमा सहायता गरे वापत नेपाललाई दिने सहयोग र हातहतियार झिकाउने बारेमा बातचित–

हिन्दुस्थानमा कायम मुकायम फारेन पोलिटिक्याल सेक्रेटरी कर्णेल आर ई. हाल्यांड सन् १९१९ अप्रैलको १३ तारिख मुताविक सम्बत १९७६ साल वैशाख १ गते रोज १ का दिन प्राइभेट मुलाकातलाई सिंहदरर्वारमा आउंदा कुराकहानी भयाको टिप्पन सो मुलाकातमा कर्णेल हाल्यांड पनि एक्लै आयाका थिया श्री ३ महाराजको पनि रखवारीमा कोही थिएनन् एक्लै राज भयाको थियो.

हुकुमताविक श्री ज. मोहन शम्शेर जंग, ज. बबरशम्शेर जंग, केशरशंशेर जंग र वडा काजी मरिजमानसिंहहरू सो मुलाकात भयाको बैठक बाहिर बरण्डामा भित्र भयाको कुरा सुनीने गरी रासिभयाको कुरा सुन्न लगाई राखि बक्सेको थियो. खैराफियत र कर्णेल हाल्यांड अघिल्लो पटक सन् १९०७ मा यांहा काठमाडौं आयाको कुरा कहानी भैसकेपछि–

क. हाल्याण्ड– यो गयाको लडाईमा तपाईबाट बृटिश सर्कारलाई बहुतै मदत गर्नु भयाको हुनाले त्यसको गुण सो सर्कारले बहुतै मानेको छ.

श्री ३– दोस्तीका खातिर सबै जो गरे. सो गर्न सकेकोमा मलाई पनि संतोष लागेको छ.

क. हाल्याण्ड– तपाईलाई हिज् हाइनेस्को टाइटल बृटिश गभरमेंटबाट रिकागनाइज गरिने बारेमा के इदमित्थ गर्नु भयो.

श्री ३– सो कुरा उठाइयाको बृटिश गभरमेंटबाट मेरो खातीर राखी इज्जत गर्न लागेको सम्झी म बहुतै खुशी छु. तर यो कुरामा मैले आफ्नो मुलुकको इज्जतको पनि विचार राख्नुपर्दछ. नेपालका प्राइमिनिष्टर महाराजलाई हिजहाइनेस भन्ने अघि नबोलेको होइन.

महाराज जंगबहादुरलाई हिज हाइनेस भनी बृटिश गभरमेंटले लेख्ने गरेकै थियो. म्युटिनी पछि वहाँलाई जी.सी.वी. आउंदा सो तक्माको सनद वारंटहरूमा पनि वहालाई हिज हाइनेस् भनी लेखियाको छ. तर फेरि पछि पछि त्यो लवजहरू इस्तेमाल हुंन छोडी हिज् एक्सेलेन्सी भनी लेख्ने चलन गरे. यो क्या हो. नेपालमा मलाई हिज् हाइनेस भनी सबै भन्दछन्.

त्यही कुरा बृटिश गभरमेंटबाट दिने मैले लिने गर्‍यौं भंने भारदारहरूका दिलमा आफ्नो राजाले मुलुकको इज्जत घटायाजस्तो पर्न नगै रहने छैन. स्वतन्त्र राज्यका प्राइमिनिष्टरलाई हिज् हाइनेस् भने टाइटल बृटिश गभरमेन्टले काहा कहिले दिने गरेका र लिनेले लिने गरेका छन् र.

क. हाल्याण्ड– बृटिश गभरमेंटले यो हिज् हाइनेस् को टाइटल तपाईलाई दिए जस्तो गरी दिने होइन. यो टाइटल बराबर तपाईलाई लगाउने चलन चलेकै हुनाले तपाई मंजुर गर्नुहुन्छ भंने बृटिश सर्कारले पनि सो टाइटल इस्तेमाल गर्ने कुरा रिकोगनाइज् गर्नेसम्म मात्र हो.

श्री ३– यो केही ठुलो कुरा होइन. इज्जत गर्नाका खातिर मलाई केही दिने मन बृटिश गभरमेन्टको छ भने जे दिए पनि खुशीसाथ लिनेछु बृटिश गभरमेंन्टको इज्जतलाई होच्याई मैंले कुरा गरेको होइन.

तर ठीक दस्तुर तब क्या हो भंने श्री ५ महाराजधिराजबाट मलाई हिजहाइनेस्को टाइटल बक्सियो भनी मैले रेजिडेंटलाई लेखी पठाया पछि तेस् पट्टि बृटिश गभरमेंटले सो लवजहरू इस्तेमाल गर्ने चलन चलाई दिनुपर्छ भंने मेरो चित्तमा लाग्छ. येस्ले सबैको चित्त पनि बुझ्छ.

क. हाल्याण्ड– तपाईबाट भन्नुभयाको इ कुराहरू म भाइसरायका जनावमा पेश गर्नेछु.

श्री ३– येस्मा मेरो मुख्य मतलब क्या हो भंने नेपाल स्वतन्त्र राज्य हो. सो स्वतन्त्रताको स्टेट्स सदा कायम रहन जावस् भंने हो. अपशोचको कुरा यो छ कि यो कुराको राम्रो गरी ख्याल तपाईहरूले राखी दिएको देखिन्दैन.

हेर्नुहोस् अघिको इम्पिरियल गजेटियर कुन छांटसंग लेखी दियाको थियो पछि सन् १९०७ तिर छापियाको नयां येडिसन्मा के लेखियो. तेस्को फरक नेपाललाई किन गरियो. तेस बीचमा नेपालले के कुरा गरे या छोडेका थिये र नयां येडिसनमा तेस्तो स्टेटस् होच्याइ छापने.

क.हाल्यांड– महाराजधिराजलाई हिज् मेजेष्टी भनी आड्रेश् हुने भएपछि पनि त्यो कुराको किन शंका. सो लवजले नेपालको स्वतन्त्रता जनाई हाल्दछ.

श्री ३– हो जनाउंछ. तर अफिसीयल पब्लिकेशनका तेस्ता छापा मै रहनु के राम्रो कुरा हो. नभयाको कुरा छाप्न हुँदै हुँदैन थियो.

क.हाल्यांड– नयां एडिशन छपाउंदा चाहिने कुरा सच्याई छपाइनेछ.

श्री ३– हेर्नुहोस अघि नेपालबाट बृटिश सर्कारमा एम्ब्यासेडर जाने गरेको थियो. पछि त्यो एम्ब्यासेडर भंने लवज इस्तेमाल नहुने गरे. तपाईहरू जसो मन पर्‍यो उसै गर्न खोज्नु हुन्छ. अहिलेमात्र होइन अघि देखिको येही चाल वीचबीचमा भयाको देखिन्छ.

महाराज जंगबहादुरबाट भाइसराय नार्थ बुकसंग भेट गर्न जानुहुंदा भाइसराय वाहाकांहा फिर्ता मुलाकातमा आउनुहुंदा कम्पाउण्डको फाटकसम्म गै इस्तवाल गर्नुपर्छ भंने छन् र वाहाबाट येस्तो चाहना छ भंने फाटकसम्म मात्र किन परैसम्म गै इस्तकवाल गरीदिन्छु भनी भाइसराय आइपुग्ने वेलामा परै सम्म इस्तकवाल गर्ने भान देखाई घोडा चढी जुन बाटो भाइसराय आउनुहुंने हो सो बाटो छोडी अर्कै बाटो सवारी भयेछ.

भाइसराय आइ पुग्नु हुंदा महाराज घरमा होइबक्सियेन. केही बेर पछि घोडा दौडाई सवारी भै रेजिडेंट साहेवले तपाईको इस्तकवाल यो घरको फटकसम्म गै गर्नु पर्छ भनेको हुनाले फाटकसम्ममात्र किन टाढै पनि गै इस्तकवाल गर्न तयार छु भनी घोडा चढी गयाको तपाई अर्कै बाटो आउनुभयेछ.

म अर्कै बाटो गयेंछु र फेर पर्‍यो भनी भाइसरायलाई घरको पोर्टिकोमा केही वेर पर्खाई भेट गरी बक्सेको थियो (यो कुरा सुन्दा कर्णेल हाल्यांड हांसे) मिष्टर गर्डलस्टन (उस वखतको रेजिडंट) को चालले गर्दा वाहाले दोश्रोपटक बेलायत जान भनी सवारी भयाको बम्बैमा पुगेपछि घोडाबाट लोटी बक्सेको बहाना गरी सो सफर नगरी सवारी फिर्नु परेथ्यो.

फेरि लर्ड कर्जनले दिल्ली दरबारमा इंडीयाका नेटिभ स्टेटका रुलिङगचिफहरू साथै मलाई पनि राख्नालाई धेरै कोशिश गरे. तेस्मा सबै भन्दा माथिल्लो सीट तपाईलाई दिउंला भने.

तर मैले म प्राइमिनिष्टरले निजामहरू जसमा ठूलाठूला राजाहरू भंदा पनि माथि बसी दिनाले उनीहरूको चित्त दुख्ला भंने यस्तै कुरा गरी मलाई विराना राज्यका मानिसहरू बस्ने ठाउंमा सीट भया हुन्छ भनी सो ठाउंमा बसेथें. सन् १९०४ मा म कलकत्तामा जांदा साविक बमोजीम इस्टेशनमा चौखडी बगी आउनु पर्नेमा जोडी घोडाको बगी आयो.

उसवेला चौखडी घोडा नहुनाले जोडी आयाको भनी मलाई भुलाउन लागे तापनि पछि भाइसरायबाट फिर्ती मुलाकातमा आउनुहुंदा चौखडीमा आउनु भायकोले त्यो कुरा बहानामात्रै हो भंने बुझिहाले. पठाउने भया तेही भाइसराय आउनु भायको चौखडी पठाया होइजान्थ्यो.

बेलायतमा म गयाको बेलामा पनि मेरो वहदा दर्जा लेख्दा अफिसियल प्रोग्राममा पनि कहिले काहीं लचाङवचाङ गरी लेख्ने गरेथे. यो सब भन्नाको मेरो मतलब क्या हो भंने नेपाल राज्यको स्वतन्त्रताको ख्याल र इज्जतको विचार रहनुपर्छ भंने हो.

प्रतिकृया दिनुहोस