‘नेप्से इन्डेक्स होइन, कम्पनीको नाफा हेरेर लगानी’
रविन्द्र भट्टराई, शेयर विश्लेषक
अत्याधिक उतार चढावका बेला शेयर बजार तीन तरिकाले स्थिगित गरिन्छ । बजार खुलेको एक घण्टा भित्र तीन प्रतिशतले घट्ने वा बढ्ने हुँदा आधा घण्टाका लागि बजार स्थिगित हुन्छ । त्यसपछि खुलेको बजार चार प्रतिशतले घट्बढ भयो भने १५ मिनेटलाई कारोबार रोकिन्छ । त्यसपछि पनि नेप्से इन्डेक्स पाँच प्रतिशतले तल वा माथि गयो भने त्यस दिनको शेयर किनबेच बन्द हुन्छ ।
२४ साउनमा पाँच प्रतिशतले घटेपछि कारोबार बन्द भयो । शेयर बजारमा यस्तो घट्बढ पहिलो पटक भएको होइन । तर हामी कहाँ प्रतिशतलाई भन्दा अंकलाई महत्व दिने ट्रेन्ड देखियो । जस्तो नेप्से हजार अंक हुँदा ५० अंक घटेपछि बजार बन्द हुन्थ्यो । १७०० माथि भएकाले ८८ अंक भएपछि कारोबार रोकियो । यसलाई ८८ अंक घटेको भन्दा पनि पाँच प्रतिशत घटेको हो भन्ने हिसाबले बुझ्नु पर्दछ ।
कालो धनको कुरा पनि बजारमा सुनिन्छ । तर यो धितोपत्र बोर्डले अध्ययन, अनुसन्धान गर्ने विषय हो । विना आधार, विना प्रमाण हल्ला गर्दैै हिंड्ने विषय होइन । सरकार कसको नेतृत्वमा बन्यो, अर्थ मन्त्री को बने ? भन्ने जस्ता विषयले शेयर बजारमा सरोकार राख्दैन ।
लगानीकर्ता आत्तिदा बजार घटेको देखियो । राम्रो नाफा आर्जन गरेको कम्पनीको शेयर छ भने नबेच्नुस् । नराम्रो कम्पनीको त जहिल्यै पनि बेच्नुस् नै भन्छु । हिजो महँगो तिर्छु भन्दा पनि शेयर नपाउने अवस्था थियो, अहिले राम्रो कम्पनीको शेयर पनि सस्तोमा किन्ने अवसर आएको छ । घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्ने भन्ने बजारको आधारभूत नियम हो । लगानीकर्ता नेप्से इन्डेक्स हेरेर दौडिने होइन, कम्पनी हेरेर लगानीको निर्णय लिने हो ।
(वार्तामा आधारित)