संविधान संशोधनको कडा प्रतिवाद गर्ने एमालेको निर्णय
नेकपा एमालेले सरकार मूल जिम्मेवारीबाट पर हटेर संविधान संशोधनको विषयमा अगाडि बढेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा १० मंसिर साँझ बसेको स्थायी समितिको बैठकले संविधान संशोधनका नाममा सरकार अनावश्यक, अनुचित र हानिकारक गतिविधितर्फ लाग्नु दुःखद र विरोध योग्य भएको निष्कर्ष निकालेको छ ।
राजनीतिक दलबीच दूरी र विभाजन ल्याउने तथा समाजमा गम्भीर द्वन्द्व निम्त्याउने सरकारको कदम मुलुकमा राजनीतिक सङ्कट ल्याउने षड्यन्त्र भएको भन्दै पार्टीले वर्तमान स्थितिको गम्भीरता र जनताको चाहनालाई ध्यानमा राखेर त्यस्ता दिशामा नबढ्न पार्टीले सरकारलाई गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्र, राष्ट्रियता र अखण्डता जोगाउन एमाले प्रतिबद्ध रहेको बताउँदै औचित्यहीन संविधान संशोधनको आवश्यकता नभएको बताए ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी एमालेको असहमतिका बाबजुद जबर्जस्ती गरिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले उल्लेख गरे ।
बैठकले संविधानको धारा १२१ को प्रावधान विपरीत सरकारले ल्याउन खोजेको पुरक बजेटको औचित्य नभएको निर्णयसमेत गरेको छ ।रासस