ब्लगशनिबार, २ चैत्र , २०७५

‘नेपाल भारतको आज्ञाकारी होइन’

हिमालखबर

२८ फागुन बिहान भारत, नयाँदिल्लीबाट आम आद्मी पार्टीकी विधानसभा सांसद अलका लाम्बाले एउटा यस्तो ट्विन गरिन्– “प्रिय भारतवासी, कृपया यो पटक प्रधानमन्त्री छान्नुहोला, चौकिदार त नेपालबाट पनि ल्याउन सकिन्छ । नेपालका चौकिदार चोर हुँदैन ।”

अलका लाम्बा l तस्वीरः लाम्बा ट्विटरबाट

उनको ट्विटको आशय नरेन्द्र मोदीलाई दोस्रोपटकको प्रधानमन्त्रीको अवसर दिन नहुने विषयमा केन्द्रित थियो । तर, प्रयुक्त भाषा भने नेपालीलाई अपमान पुर्‍याउने थियो ।

स्वभाविक थियो, सांसद लाम्बाको यो ट्विटलाई धेरै भारतीयले लाइक र रिट्विट गरे । तर, योभन्दा बढी उनको जातिवादी र असंवेदनशील विचारको आलोचना भयो । अन्ततः त्यही लाम्बामा दिन बेलुकी नेपालीजनसँग माफी माग्दैं आफ्नो ट्विट मेटिन ।

ट्विट त मेटियो । तर, यसबाट सिर्जित तरंग मेटिएको छैन । किनभने, नेपालीप्रतिको भारतीय दृष्टिकोणको ‘ठूल्दाई’ प्रवृत्ति अझ कायम छ ।

यसैं विषयलाई लिएर ‘बीबीसी हिन्दी रेडियो’का सम्पादक राजेश जोशीले आज बिहानैं एउटा ब्लग लेखेका छन्, जसको शीर्षक छ–नेपाल न चौकिदार आपूर्तिकता हो न भारतको आज्ञाकारी ।

जोशीको यो ब्लगलाई ‘बीबीसी नेपाली’को वेबसाइटले नेपालीमा अनुवाद गरेको छ । अनूदित ब्लगलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
                                                                             ‍‍‍‍‍‍‍...

 

‍‍‍'नेपाल न चौकीदार आपूर्तिकर्ता हो न भारतको आज्ञाकारी'

 -राजेश जोशी

 यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्- "चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ।"

राजेश जोशी

भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश 'मगाउन सक्छौँ' भन्ने कुरामा अलि ध्यान दिनूस् त।

आवाज आउँछ - हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ। नेपालबाट चौकीदारबाहेक हामी अरू के नै मगाउन सक्छौँ?

हुन त साँझ भट्टीमा रक्सीका लागि कुर्दै गरेका एउटा जँड्याहाले पनि यस्तो कुरा गर्छ, "रक्सी त म जति पनि मगाउन सक्छु। मलाई के को कमी छ र!"

अलका लाम्बालाई थाहा पनि भएन कि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दै उनले नेपालीहरूबारे जे भनिन् त्यसले विवाद निम्त्याउन सक्छ।

हिन्दीमा भाषिक अशुद्धतासहित उनले ट्वीट गरिन्, "प्रिय भारतवासीहरू, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौँ। नेपालका चौकीदार चोर हुँदैनन्।"

लाम्बालाई लाग्छ कि भारतीयहरूले चौकीदारका लागि माग गर्नेछन्, ढोकैमा उभिएको नेपालले पालेले जस्तै शिर झुकाउनेछ र आगामी दिनमा भारतमा चौकीदारीका लागि नेपालीहरूको लाइन लाग्नेछ।

उनले यो बिर्सिन् कि नेपाल एउटा स्वतन्त्र मुलुक हो। भारतजस्तो नेपाल कसैको दास भएन। ऊ भारत तथा चीनको बीचमा अवस्थित एउटा स्वतन्त्र देश हो र अलका लाम्बाका लागि नेपालले चौकीदारको आपूर्ति गर्दैन।

अलका लाम्बा पढेलेखेकी हुन्। दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घकी अध्यक्ष रहिसकेकी छन्। तर उनले यो कुरा बुझ्नुपर्छ कि नेपालमा चौकीदार मात्रै हुँदैनन्।

त्यहाँ सूचना प्रविधि व्यावसायिक, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, सुन्दरी र सङ्गीतकार लगायत पनि हुन्छन्।

त्यहाँ चौकीदार, सरसफाइ गर्ने मानिस, मजदुर, किसान र अरू मेहनती पनि हुन्छन् जस्तो कि भातरका दिल्ली, उत्तर प्रदेश, कर्नाटक वा केरलमा हुन्छन्।

तस्वीरः अलका लाम्बाको ट्विटरबाट

अलका लाम्बाले यो कुरा पनि बुझ्नुपर्छ कि नेपालीहरू ठिक त्यसरी नै रोजगारीका लागि अन्य मुलुक जान्छन् जसरी भारतका पञ्जाब, गुजरात, राजस्थान अथवा केरल राज्यका मानिसहरू ट्याक्सी चलाउन, सरसफाइ गर्न वा कलकारखानामा काम गर्नका लागि खाडी मुलुक, क्यानाडा, अमेरिका, ब्रिटेन, इटली अथवा फ्रान्ससम्म जान्छन्।

लाम्बाको भनाइ यस्तो थियो कि मानौँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसरी भनेका हुन् - सरसफाइका लागि छिटो भारतीयहरूलाई मगाऊँ, न्यूयोर्क निकै फोहोर भएको छ।

तर नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गल्ती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ।

नेपालीहरूले यो कुरा राम्ररी बुझेका छन् कि नेपाललाई आफ्नो सम्पत्ति ठान्नेहरू भारतमा प्रशस्त छन्।

गत महिना काठमाण्डूबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका एक भारतीय यात्रीले जब बियर मागे तब एक परिचारिकाले मुस्कुराउँदै भनिन्, "सर, यो आन्तरिक उडान हो, यसमा हामी बियर दिँदैनौँ।"

मैले ती कर्मचारीलाई सोध्न चाहेको थिएँ कि नेपालका लागि हुने उडानहरू कहिलेदेखि आन्तरिक उडान भए? कहिलेदेखि तपाईँहरूले नेपाललाई भारतमा समेटिसक्नुभयो?

 नेपाल कसैको बिर्ता होइन

नेपाल एउटा स्वतन्त्र मुलुक हो, जहाँको छुट्टै संविधान, प्रधानमन्त्री, संसद् र सेना छ।

तर एउटा स्वतन्त्र मुलुकबाट अर्को स्वतन्त्र मुलुकमा आइरहेको उडानलाई विमानकी कर्मचारीले यसरी आन्तरिक उडानका रूपमा लिइरहेकी थिइन्,

तस्वीरः हिमालखबर 

जसरी आम आदमी पार्टीकी विधायक अलका लाम्बालाई लाग्छ कि "चौकीदार त हामी नेपालबाट मगाउन सक्छौँ।"

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अध्यागमनका एक अधिकारी शायद त्यस्तै भारतीयको सामना गरिरहेका होलान् जसले ममाथि कटाक्ष गरे, "तपाईँको मुलुक ठूलो छ र तपाईँको जुङ्गा पनि ठूलै छ।"

उनले शायद भन्न खोजेका होलान्, जसरी तिमीहरूको मुलुक ठूलो छ, त्यसैगरी तिमीहरूको अहङ्कार पनि ठूलै छ।

नेपालीहरूलाई साँच्चै लाग्छ कि भारत ठूलो छ। त्यसैकारणले भारतीयहरूको अहङ्कार पनि ठूलै छ।

भारतीयहरूलाई कैयौँपटक यो कुरा महसुस हुँदैन कि उनीहरूले नेपालबारे जे भनिरहेका हुन्छन् ती कुरा नेपालीले मन पराइरहेका हुँदैनन्।

तर भारतीयहरूको प्रश्न हुने गर्छ - हामी त नेपाललाई आफ्नै ठान्छौँ तर पनि के समस्या छ?

काठमाण्डू पुग्ने बित्तिकै मैले पनि उत्तर भारतीय शैलीमा त्यहाँका साथीहरूलाई भनेँ, नेपाल आफ्नो घरजस्तै लाग्छ। कुरा खस्न नपाउँदै एक नेपाली साथीले भने, "तपाईँका प्रधानमन्त्री मोदीले पनि यस्तै भन्छन्।"

अनि मैले सम्झेँ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा नेपाली नागरिकले सडकछेउबाट हात मिलाउँदै उनको स्वागत गरेका थिए। तर तिनै नेपालीहरू अहिले मोदीको नाम आउनासाथ किन अनेकौँ प्रश्न गर्न थाल्छन्?

लाम्बाले भनेका जस्ता वाक्यबाट नेपालीहरूलाई लाग्छ कि भारतीयहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दैनन्, बरु नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छन्।

नेपालीहरूलाई भारतको यस्तो माया कहिल्यै मन पर्दैन, बरु उनीहरूलाई त्यसमा 'सांस्कृतिक विस्तारवाद'को गन्ध आउँछ।

तीन महिनासम्म काठमाण्डूमा बसेर काम गर्दा र कैयौँ शहर अनि गाउँहरू डुल्ने क्रममा मैले कैयौँपटक यस्ता प्रश्नको सामना गर्नुपर्‍यो।

बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गरिरहेका कैयौँले पटक पटक मलाई एउटै प्रश्न गरे - मोदीले हामीलाई रगतको आँसु किन रुवाए?

नेपालका मानिसहरू खासगरी पहाडी क्षेत्रमा बस्नेहरू सन् २०१५ का ती दिनलाई बिर्सेका छैनन् जतिबेला मोदी सरकारले नेपालमा 'अघोषित आर्थिक नाकाबन्दी' गरेका थिए र मानिसहरूले पेट्रोल, डिजल, ग्यासजस्ता वस्तुका लागि तड्पिरहेका थिए।

कैयौँ नेपालीहरू आफ्ना कार र मोटरसाइकललाई घरमै छाडेर साइकल किन्न बाध्य हुनुपरेको थियो।

तर नेपालमाथि नाकाबन्दी गरिएको त्यो पहिलो पटक थिएन, त्यसअघि राजीव गान्धीले पनि गरेका थिए।

नेपालको मकवानपुर जिल्लाको चित्लाङ्गबाट विद्यार्थीहरूलाई लिएर पोखरा पुगेका एक प्राध्यापकले मलाई सोधे - नाकाबन्दी गरेर मोदीले हामीलाई जानाजान चीनतर्फ धकेलिरहेका हुन्?

र, मैले के जवाफ दिन सक्थेँ?

 

 

प्रतिकृया दिनुहोस