समाचारशनिबार, २ चैत्र , २०७५

धान पकेट क्षेत्रमा चैतेधान राेप्न सिँचाइ अभाव

हिमालखबर

सप्तरीमा सिँचाइको व्यवस्था नहुँदा चैते धान रोपाइँ प्रभावित भएको छ ।

चैते धान रोप्ने चटारोमा रहेका किसान सिँचाइको अभाव र आकाशे पानी पनि नपरेपछि महँगो शुल्क तिरेर पम्पसेट, विद्युतीय मोटर र अन्य वैकल्पिक माध्यमबाट पानीको व्यवस्था गरीरहेका छन् ।

तर धान रोप्ने खेत हिल्याउन पानी पर्याप्त नभएको हनुमानगर कङ्कालनी नगरपालिका–२ का किसान लाल माझिले बताए ।

कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् ।

तर २०७३ साउनमा आएको भिष्ण बाढीका कारण कोशी नहर टुटफुट भएकाले पानी छाडन समस्या हुने गरेको कोशी पम्प चन्द्र डिभिजन कार्यालयले जनाएको छ ।

कृषि मन्त्रालयले ठूला ठूला योजना र नारा ल्याएपनि वैकल्पिक बालिका रुपमा मानिएको चैते धान लगाउन समेत पर्याप्त सिँचाईको व्यवस्था गर्न नसकेको किसानको गुनासो छ ।

रोप्नेबेला सिँचाई नभएपछि उत्पादनमा समेत कमि आउन सक्ने देखिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको कार्यालयले बताएको छ ।

तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताए ।

प्रतिकृया दिनुहोस