समाचारशनिबार, २ चैत्र , २०७५

बेहाल सुशील कोइराला क्यान्सर अस्पताल

हिमालखबर

बाँकेको खजुरमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा उपचारमा समस्या भएको छ । 

क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण प्रविधि रेडियसन सहितका उपकरण र विशेषज्ञ चिकित्सकहरु नहुँदा सहज उपचारका आश गरेका बिरामी निराश बनेका छन् ।

गत असार ११ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पत्ताल राजधानी बाहिरको दोश्रो क्यान्सर अस्पत्ताल हो । 

३० जना विशेषज्ञ डाक्टरसहित २०० बढी जनशक्तिको आवश्यकता पर्ने अस्पत्तालमा दुई जना मात्र विशषज्ञ चिकित्सक छन् । एक–एक जना फिजिसियन, सर्जन र अन्य करारका अन्य कर्मचारीसहित ४५ जनाले सेवा दिइरहेको अस्पत्तालले जनाएको छ ।

१०० बेडको स्वीकृति पाएपनि जनशक्ति अभावमा ६० बेडबाट सेवा शुरु गरेको अस्पतालमा अहिले दैनिक २० देखि ३० जना बिरामीहरुले सेवा लिइरहेका छन् ।

बिरामीको चाप बढ्दै गएपनि विशेषज्ञ चिकित्सक र क्यान्सर पत्ता लगाउने प्रविधि अभावका कारण बिरामीलाई क्यान्सर पहिचानका लागि अन्यत्र पठाउने गरिएको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले बताए ।

अहिले बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपिडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापी लगायतका सेवा मात्र सञ्चालनमा छन्। अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सरकारले ढिलाइ गर्दा अस्पतालको सेवा प्रवाह हुन नसकेको हो ।

पौडेलका अनुसार क्यान्सरमा सर्जरी, केमोथेरापी र रेडियसन थेरापी गरी तीन प्रकारको थेरापी गर्नुपर्छ । त्यस्तै क्यान्सर रोग पत्ता लगाउन रगत जाँचका माध्यमबाट गरिने एफएनएसी र मासु काटेर जाँच्ने विधि बायोप्सी गरेर रोग पत्ता लगाएपछि क्यान्सरको स्टेज थाहा हुने र त्यसपछि केमोथेरापी र रेडियसन गर्नुपर्ने हुन्छ । तर जनशक्तिका र आवश्यक मेसिनरी सामग्री खरीद नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीलगायत अन्य अत्यावश्यक सामग्रीका लागि पटक–पटक मन्त्रालय र विभागमा अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।

“दरबन्दी स्वीकृत गरिदिन ६ महीनादेखि मन्त्रालयलाई पत्र पठाउनुका साथै आफैँ पुगेर भेटेरै अनुरोध गरिरहेका छौँ”, कार्यकारी निर्देशक पौडेलले भने, “अहिलेसम्म दरबन्दी पाउन नसक्दा बिरामीलाई सेवा दिन गाह्रो भएको छ ।”

रेडियसन मेसिन खरीद गर्न करीब ३० करोड बजेट आवश्यक पर्ने भएपनि सरकारले त्यसको व्यवस्था गरेको छैन । हाल अस्पतालले चालू आर्थिक वर्षको १७ करोड बजेटबाट सिटी स्क्यान, म्यामोग्राम, ल्याप्रोसकोपी, इन्डोसकोपी र सिस्टोस्कोपी लगायतका उपकरण खरीदका लागि टेन्डर प्रकृयामा रहेको उनले बताए ।

दुई सातायता केमोथेरापी सेवा शुरु भएको छ । तर, मुख्य उपचार सेवा नपाउँदा समस्या भएको श्रीमतीको उपचारका लागि सल्यानबाट आएका इन्द्र गिरीले बताए ।

अस्पतालमा जनशक्ति र बजेटको अभाव भएकाले पूर्ण रुपमा सेवा सञ्चालन हुन नसकेको अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

“मन्त्रालय र विभागमा पटक–पटक आग्रह गरेपनि कार्यान्वयन हुन सकेको छैन”, उनले भने, “कर्मचारी समायोजनपछि दरबन्दी स्वीकृत हुने जानकारी पाइएको छ ।”
एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालनका लागि धनधान्यञ्चल ज्ञान महायज्ञबाट सङ्कलित पाँच करोड २६ लाख र संस्थाको रु तीन करोड २६ लाखमा नेपाल क्यान्सर अस्पतालको नाममा पूर्वाधार निर्माणका काम थालेको थियो ।

सरकारको ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको जग्गा, भवन र सम्पूर्ण सम्पत्ति आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि करीब २७ करोड बजेट विनियोजन गरेर अस्पतालको काम अघि बढेको हो । केही समयअघि सरकारले सङ्घीय सरकार मातहतबाट अस्पताललाई हटाएर प्रदेश सरकार मातहतमा राखेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विरोध थालेपछि सरकारले पुनः सङ्घीय सरकारमा राख्ने निर्णय गरेको थियो । सरकारीस्तरबाट सञ्चालित राजधानीबाहिर भरतपुरपछि यो अस्पताल दोस्रो हो ।

राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका बिरामीलाई भरतपुर क्यान्सर हस्पिटललगायत काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य हुने भएकाले आवश्यक दरबन्दी अनुसारका डाक्टरलगायत रेडियसन सेटअप गरी पूर्ण सेवा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । -काशीराम शर्मा/रासस

प्रतिकृया दिनुहोस