समाचारशुक्रबार, १ चैत्र , २०७५

विदेश जाने ३९ प्रतिशतले घटे, रेमिटेन्स २८ प्रतिशतले बढ्यो

हिमालखबर

देशको शोधनान्तर (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) स्थिति सुधारोन्मुख देखिएको छ ।

नेपाल राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदनले माघसम्ममा देशको शोधनान्तर घाटा रु. ४९ अर्ब ३२ करोडमा झरेको देखाएको हो ।

यो पुससम्ममा रु. ६३ अर्ब ६८ करोड घाटामा थियो । मंसिरमा यस्तो घाटा रु. ८५ अर्ब ३२ करोड घाटामा थियो ।

यद्यपि, गत वर्षको तुलनामा शोधनान्तर घाटा बढी छ । गत वर्षको माघसम्ममा शोधनान्तर घाटा रु. १८ अर्ब २८ करोड मात्र थियो ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशले अन्तर्राष्ट्रिय ब्यापारमा रु. ७ खर्ब ८० अर्ब घाटा बेहोरेको छ ।

माघसम्ममा देशले रु. ५३ अर्ब ८ करोडको निर्यात गर्दा ८ खर्ब ३३ अर्बको आयात गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या घटिरहे पनि रेमिटेन्सको आप्रवाह भने उत्साहजन रहेको राष्ट्र ब्याङ्कको तथ्यांक छ ।

माघसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या ३९ दशमलव २ प्रतिशतले घटेको छ ।

जबकि, यो अवधिमा रेमिटेन्सको आप्रवाह भने २८ दशमलव ५ प्रतिशत (डलरमा १६ प्रतिशत) ले बढेर रु. ५ खर्ब १५ अर्ब ५५ करोड पुगेको छ ।

माघसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ४ प्रतिशत छ । गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ५ प्रतिशत थियो ।

प्रतिकृया दिनुहोस