समाचारशुक्रबार, १ चैत्र , २०७५

‘वनका हाम्रा गीत’

हिमालखबर

सबै तस्वीरः उमा विष्ट

सुदूरपश्चिम क्षेत्रको पहाडी जिल्लामध्ये सबैभन्दा ठूलो जिल्ला हो अछाम । दुई निवार्चन क्षेत्र, चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको यो जिल्लाको पूर्वमा दैलेख¸ पश्चिममा डोटी¸ उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला छ ।

उमा विष्ट

सदरमुकाम मंगलसेन, साँफेबगर¸ कमलबजार¸ बिनायक¸ यहाँका प्रमुख व्यापारिक केन्द्र हुन् । खप्तड¸ बिनायक¸ रामारोशन¸ बैजनाथ¸ प्रमुख प्रर्यटकीय गन्तव्य ।

जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाको संक्षिप्त परिचयमा यस्तै भौगोलिक परिभाषा राख्न आवश्यक ठानेको छ । तर, अछामको परिचय यत्तिमै सकिदैंन । यो जिल्ला छाउपडी कुप्रथाका लागि मुलुकमै बदनाम छ ।

फोटो पत्रकार उमा विष्ट ‘वनका हाम्रा गीत’ अछामका वली गाउँका तिनै युवतीहरुको आवाज हो, जो महीनाका सात दिन महिनावारीका नाममा घरबाहिर बस्न बाध्य पारिन्छन् । कति गोठमा त कति बेग्लै टहरामा ।

आजदेखि २७ चैतसम्म काठमाडौंको ठमेलस्थित छाया सेन्टरको पाचौं तलामा विष्टका तस्वीरहरुमार्फत अछामका युवतीहरुका गीत गुञ्जिनेछ । ब्रिटिश काउन्सिलको सहकार्यमा सम्भव यो प्रदर्शनीलाई फोटो.सर्कलले आयोजना गरेको हो ।

फोटो.सर्कलका अनुसार, ‘वनका हाम्रा गीत’ पितृसत्ताको संस्कृतिबाट समताका नयाँ आकांक्षा पच्छ्याउन सिक्दै गरेका युवतीहरुको कथा हो, जहाँ उनीहरु थोरैथोरै गर्दै प्रश्न सोध्न थाल्दैछन्, छेकथुनका परिधिलाई पर धकेल्दैछन् ।

‘यस्ता अभ्यासलाई गैरकानुनी बनाइए पनि समाजमा डरले गहिरो जरा गाडेको छ । देउता रिसाउँलान् भन्ने डर, अनैतिकताको दोष लाग्ने डर, सामाजिक वहिष्करणको डर, परिवर्तनको डर’, प्रर्दशनीको परिचयका दिने क्रममा भनिएको छ ।

विष्टका पात्रहरु घर र समाजभन्दा वन प्रिय ठान्छन् । वनभित्रको आकाश फराकिलो, निडर मान्छन्, जहाँ उनीहरु उन्मुक्त हाँस्न र गाउन स्वतन्त्र छन् ।

प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिनेछ ।




प्रतिकृया दिनुहोस